आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

ट्याक्टरमा कोभिड संक्रमितको मृत्यु भएपछि मेयर र उपमेयरमाथि जनताले गरे यस्तो कारवाही

प्रकाशित
254
SHARES

नवलपुर । नवलपरासीपूर्व देवचुली नगरपालिका १३ का कोरोना संक्रमित पुरुषलाई समयमा अस्पताल पुर्याउन नपाएपछि मृत्यु भएको घटनाले स्थानीय आक्रोशित भएका छन् ।

कोरोना संक्रमित भई चार दिनदेखि होम आइसोलेशनमा बस्दै देवचुली १३ का ६७ वर्षीय एक पुरुषको स्वास्थ्यमा जटिल समस्या देखिएपछि अस्पताल लैजान स्थानीय जनप्रतिनिधिलाई गुहारिएको भए पनि एम्बुलेन्स उपलब्ध हुन सकेको थिएन ।

सोही वडाका वडाध्यक्ष क्याप्टेन डिलबहादुर खत्रीले नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठसमेतलाई जानकारी गराए पनि एम्बुलेन्स उपलब्ध गराउन नसकेपछि स्थानीयले संक्रमितलाई ट्याक्टरमा राखेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

कोरोना संक्रमित व्यक्तिलाई नगरपालिकाले उपचार गर्न एम्बुलेन्स उपलब्ध नगराउँदा मृत्यु भएको भन्दै स्थानीय आक्रोशित भएका छन् । आक्रोशित स्थानीयले नगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यकक्षमा ताला लगाइदिएका छन् ।

सोमबारको घटनापछि मंगलबार बिहान नगरकार्यपालिकाको बैठक बसेको थियो । बैठक सकिएपछि बाहिरिएका नगरप्रमुख, उपप्रमुखहरुलाई सरकारी गाडी चढ्न समेत नदिएर स्थानीयले कारवाही गरेका छन् ।

बिरामीलाई अस्पताल लैजान गाडी नदिने जनप्रतिनिधिहरुलाई सरकारी गाडी चढ्न नैतिकता नभएकाले गाडी चढ्न नदिएको स्थानीय श्याम शर्मा भुसालले बताए । कोरोना संक्रमण भई स्वास्थ्य समस्या भई एम्बुलेन्स बोलाउँदा नपाएपछि आफूले नै ट्याक्टरमा भए पनि लैजान सिफारिस गरेको वडाअध्यक्ष खत्रीले खबरहबलाई बताए ।

बिरामीको उद्धार गर्नेबेला आफूसमेत सोही ठाउँमा रहेको र स्वास्थ्यकर्मी समेत आफूसँगै साथमा भएर पनि सहयोग गर्न नसकेको भन्दै स्थानीय बासिन्दासामु वडाध्यक्ष खत्रीले क्षमा याचना गरे । स्वास्थ्यकर्मीसँग पीपीई नभएको हुँदा बिरामीको मद्धत गर्न नसकेको उनले बताए । विरामी बोक्न एम्बुलेन्सले नमानेपछि आफूले ट्याक्टर ल्याइदिएका स्थानीय ट्याक्टर धनी दीपक भुर्तेलले बताए ।

नगरपालिका प्रमुख पूर्णबहादुर श्रेष्ठले नगरपालिकोको एम्बुलेन्स भ्याक्सिन लिन पोखरा गएकोले नगरपालिकाको एम्बुलेन्स उपलब्ध गराउन नसकिएको बताए । उनले अब एउटा एम्बुलेन्स नगरपालिका परिसरमै तयारी अवस्थामा राखिने प्रतिवद्धता जनाएका छन् ।

जनप्रतिनिधिहरुलाई सचेत गराउन भन्दै स्थानीय नारायण पाण्डे मंगलबार बिहान देवचुली नगरपालिकाको कमजोर ब्यवस्थापन लेखिएको प्लेकार्ड बोकेर नगरकार्यपालिकाको बैठकमै पुगेका थिए ।

उनले जनप्र्रतिनिधिलाई सचेत गराउन सांकेतिक विरोध गरेको बताए । स्थानीय युवाहरुले सचेत नागरिक समूहको नामबाट नगरवासीलाई आह्वान गरी मंगलबार दिउँसो नगरपालिका परिसरभित्रै सांकेतिक प्रदर्शन गरेका छन् ।

यता काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-११ पैंयुटारकी २३ वर्षीया युवतीको वैशाख ११ गते बिहे भएको थियो। भक्तपुर चाँगुनारायण नगरपालिका- ८ सुडालका युवकसँग उनको मागी बिहे भएको थियो।

दुबै पहिले परिचित थिएनन्। आफन्त-आफन्तबीच चिनजानको आधारमा उनीहरूको वैवाहिक सम्बन्ध जोडिन पुगेको थियो। उनीहरूको चैतमै इङ्गेजमेन्ट भएको थियो। बिहेको लगन त्यतिबेलै जुराइएको थियो।

वैशाख ११ गते बिहे सम्पन्न भयो। त्यतिबेला कोरोनाको महामारी बढिरहेको त थियो, तर अहिलेको जस्तो निषेधाज्ञा थिएन। आफन्तका अनुसार बिहे भएको भोलिपल्ट दुबै जना दुल्हन फर्काउन कपन आएका थिए। त्यही दिन युवतीलाई खोकी लाग्न थाल्यो। बेस्सरी खोकी लागेपछि उनलाई भक्तपुर अस्पताल लगियो।

‘हामीले यहाँबाट भक्तपुर लग्यौं, त्यहाँ एन्टिजेनबाट कोरोना परीक्षण गरियो,’ बुढानिलकण्ठ-११ वडासदस्य तथा युवतीका नातेदार विमल लामाले भने, ‘त्यसपछि गाह्रो हुन थाल्यो।’ उनका अनुसार बिहेमा सीमित आफन्तहरूलाई मात्र बोलाइएको थियो। धेरै ठूलो भीडभाड हुने गरी मान्छे थिएनन्।

बिहे हुनुभन्दा अगाडि युवतीमा कोरोनाको खासै लक्षण थिएन। भक्तपुर अस्पतालमा कोरोना पोजेटिभ देखिएपछि उनलाई क्रमश: समस्या थपिन थाल्यो। श्वासप्रश्वासमा अत्याधिक समस्या देखिएपछि उनलाई १३ गते आइसियूमा राखियो। आइसियूमा राखेपछि पनि उनी निको भइनन्। सोमबार दिउँसो मृत्यु भयो।

उपचारमा संलग्न डाक्टरका अनुसार ती युवतीलाई अस्पताल आउँदै सास फेर्न गाह्रो भइरहेको थियो। उनलाई ज्वरो, रुघाखोकी पनि थियो। परीक्षण रिपोर्ट पोजेटिभ त छँदैथियो, त्यसमाथि उनलाई निमोनिया भइसकेको थियो।

‘परीक्षण गर्दा फोक्सोको दुबै भाग निमोनियाले लगभग ड्यामेज भइसकेको थियो,’ भक्तपुर अस्पतालका कोभिड प्रमुख डा. सुनिल ढुंगेलले भने। भर्ना भएकै दिन आइसियू खाली थिएन। उनलाई प्रतिमिनेट पन्ध्र लिटर अक्सिजन दिएर राखियो।

बिरामी निकाल्ने अवस्थाको बेड खाली गराएपछि उनलाई भोलिपल्ट आइसियूमा भर्ना गरियो। तर, उनको स्वास्थ्य जटिल हुँदै गयो। त्यसपछि भेन्टिलेटर मेसिनको सहायताले मास्कद्वारा श्वासप्रश्वास गराइयो। त्यो प्रयास पनि काम लागेन।

‘अन्तिममा पूरै भेन्टिलेटर मुखबाट पाइप छिराएरै श्वासप्रश्वास गराइयो, ती कुनै प्रयास आशालाग्दा भएनन् र उहाँको मृत्यु भयो,’ ढुंगेलले भने। उनका अनुसार यो बीचमा युवतीलाई कोरोना प्रत्याक्रमणका सबै औषधी चलाइयो। निमोनिया ठिक पार्ने औषधी दिइयो।

प्लाज्मा थेरापी विधिबाट पनि उपचार गरियो। ‘कोभिडको बिरामीलाई त्यसै पनि श्वाप्रश्वासको समस्या हुन्छ, त्यसमाथि उहाँको फोक्सो निमोनियाले खाइसकेको थियो,’ ढुंगेलले भने, ‘उहाँलाई भेन्टिलेटरमा राखेर शतप्रतिशत अक्सिजन चलाइयो, तर बचाउन सकिएन।’

युवतीसँग विवाह गरेका युवक इन्टेरियर डिजाइनर हुन्। बिहे भएको एक दिनमात्र उनीहरू सँगै रहे। दुलही लिएर ससुराली हिँडेका बेहुला उनलाई लिएर घर फर्किन पाएनन्। बेहुलाका परिवारले दुलही भित्र्याउने रीतिथिति पूरा त गर्‍यो तर उनी त्यो घरमा दोस्रो दिन पनि बिताउन पाइनन्।

उनी परिवारकी एक्ली छोरी थिइन्। पैयुँटारमा उनीहरूको बसोबास पहिलेदेखिको हो। वडासदस्य लामाका अनुसार उनका २० वर्षीय एक भाइ छन्। उनी ब्याचलर तेस्रो वर्षमा अध्ययन गरिरहेकी थिइन्। ‘बिहे भएको एक साताभित्रै उनले संसार छोडिन्, परिवारमा ठूलो बज्रपात परेको छ,’ लामाले भने।

उनको अन्तिम संस्कार पशुपति आर्यघाटमा गरिएको छ। डाक्टर ढुंगेलका अनुसार ती युवतीलाई बिहेपहिले नै रूघाखोकी लागेको बुझिएको छ। तर, उनले त्यसलाई सामान्य ठानेकाले समस्या बढेको हुनुपर्छ।

‘बिहे नजिक आएकाले उहाँले आफ्नो स्वास्थ्यमा सामान्य समस्या हुँदा नभनेको हुनुपर्छ, फेरि हामीले उहाँकै मुखबाट पहिले रुघाखोकी थियो भन्ने सुनेनौं पनि,’ ढुंगेलले भने। (खिलानाथ ढकालले सेतोपाटीमा लेखेको समाचार साभार गरिएको)

यसैबीच काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा हुने भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीको मंगलबार बसेको बैठकले आगामी वैशाख २९ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

यो सँगै काठमाडौंमा अब निषेधाज्ञालाई थप कडाई गरिने भएको छ । नयाँ नियमअनुसार अब अत्यावश्यक काम बाहेकमा घरबाहिर निस्कन पाइने छैन । दुई जना व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दूरी हुनु आवश्यक छ भने अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने छ ।

निषेधाज्ञा वैशाख २२ गतेदेखि थप भइ वैशाख २९ गतेसम्म कायम हुनेछ । जसमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यकबाहेकका सवारी साधन काठमाडौं प्रवेशमा रोक लगाइनेछ ।

अत्यावश्यक बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, संस्थान, बीमालगायतका कार्यालयहरुमा एक चौथाइ कर्मचारीमात्र उपस्थित हुने गरी सञ्चालन गर्न गराउन व्यवस्था मिलाउनु पर्नेछ । सरकारी कार्यालयको हकमा मन्त्रालयको सचिव वा विभागीय प्रमुखले जारी गरेको सवारी पास र परिचयपत्रको आधारमा आवतजात गर्न पाइनेछ ।

बैंक तथा वित्तीय सस्थाको हकमा काठमाडौं उपत्यकामा २५ प्रतिशत शाखा कार्यालय मात्रै सञ्चालन गर्न पाइनेछ र केन्द्रीय कार्यालयहरुले २० प्रतिशत मात्रै जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्नेछ । र, सोको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयमा दिनुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाका सवारी साधन सञ्चालनको हकमा सीमित सवारी पास जारी गरी सोको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयमा दिनुपर्नेछ ।

विकास निर्माणका सम्बन्धमा सम्बन्धित आयोजाहरुले नै आवासीय कामदार राखी अनिवार्यरुपले स्वास्थ्य मापदण्ड पालना गरी कार्य सञ्चालन गर्ने गराउने तथा निर्माण सामग्री ढुवानी राति १० बजेदेखि विहान ४ बजेसम्म मात्रै आवतजावत गराउनुपर्ने छ ।

अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिक, पासपोर्ट, भिसा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गरिनेछ । त्यसैगरी खाद्यान्न पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोरहरु विहान ९ बजेसम्म खुला गरिनेछ भने स्थानीय ढुवानीको हकमा विहान १० बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ ।

त्यसैगरी पत्रकारहरुको हकमा सूचना विभागको प्रेस पासका आधारमा मात्रै आवतजावत गर्न पायनेछ । सूचना विभागको प्रेस पास नभएका सञ्चारकर्मी तथा कर्मचारीहरको हकमा सम्बन्धित सञ्चार गृहहरुले न्यूनतम कर्मचारी मात्रै खटाउने र सोको विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउनुपर्ने छ ।

निलो प्लेटका सवारी साधनको हकमा परिचय बाहक पदाधिकारी तथा कर्मचारीलाई सवारी पास आवश्यक पर्ने छैन । उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्यरुपले १० दिन क्वारेन्टिन राख्ने प्रतिबद्धता सहितको सिफारिसका आधारमा गन्तव्यस्थलमा जान पाइने छ ।

प्रतिक्रिया