आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडौँ उपत्यकामा कति दिन लम्ब्याईयो निषेधाज्ञा

प्रकाशित
137
SHARES

काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्म लम्बिने भएको छ । मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीका साथै सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलले थप एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञालाई कडाइ र कोरोना महामारी नियन्त्रण गर्न मोडालिटी परिर्वन गर्दै निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

यसअघि जारी भएको पहिलो चरणको निषेधाज्ञा बैशाख २२ गते राति १२ बजे सकिँदै छ । यस्तै यो समयमा उपत्यका छाड्नेलाई सहजीकरण गर्ने पराजुलीले बताए ।

मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य वस्तुको पसल सञ्चालन, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालनमा थप कडाइ गरेको हो ।

अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्ट स्टोर विहान ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ । यसअघि खाद्य सामग्रीको पसल विहान ६ देखि १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने व्यवस्था थियो ।

त्यस्तै सरकारी कार्यालय, सार्वजनिक संस्थान, विमालगायतका कार्यालयमा एक चौथाइ कर्मचारी मात्र राखेर सञ्चालन गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले काठमाडौं उपत्यकामा आफ्ना शाखा कार्यालयमध्ये २५ प्रतिशत मात्र खुला राख्न पाउनेछन् । केन्द्रीय कार्यालयमा २० प्रतिशत जनशक्ति मात्र राखेर काम गर्नुपर्नेछ ।

अत्यावश्यक कार्य, बिरामी, कुरुवा, मृत्यु संस्कार तथा मलामीले विषय खुल्ने कागजात र सम्बन्धित स्थानीय तहको सिफारिस बनाएमा आवतजावतका लागि प्रशासन कार्यालयले सहजीकरण गरिदिनेछ ।
विकास निर्माणका काम गर्न सम्बन्धित आयोजनाले कामदारलाई आवासीय रुपमा नै राख्नुपर्नेछ र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ ।

पत्रकार तथा सञ्चारकर्मीले सूचना विभागको पास देखाएर आवतजावत गर्न सक्नेछन् । सूचना विभागको पास नभएमा कर्मचारीको विवरण सञ्चार गृहले जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्नेछ ।

प्रतिक्रिया