आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अक्सिजन उद्योगले सुरक्षा माग गरेपछि गृहले प्रहरीलाई दियो यति ठुलो जिम्मा

प्रकाशित
142
SHARES

काठमाडौं । एकातिर कोरोनाका कारण पैदा भएको समस्या समाधान गर्न सरकारलाई हम्मे हम्मे परेको छ। अर्को तिर व्यवसायीहरुले सरकारसँग सुरक्षाको माग गर्न थालेका छन् ।

यसैबीच देशभरका अक्सिजन उद्योगमा पनि सरकारले प्रहरी खटाउनुपर्ने अबस्था आएको बताइएको छ । व्यापारीहरुले सुरक्षाको माग गरेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अक्सिजन उद्योगको सुरक्षाका लागि गृह मन्त्रालयसँग आग्रह गरेपछि मन्त्रालयले प्रहरी खटाउने निर्णय गरेको छ ।

मन्त्रालयले अक्सिजन उद्योग भएको जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उद्योगले मागे बमोजिमको सुरक्षाकर्मी उपलब्ध गराउन परिपत्र पठाएको छ ।

कोरोना संक्रमितको संख्या बढेसँगै देशभर अक्सिजनको माग पनि बढेको र यस कारण अक्सिजन उद्योगमा असुरक्षा बढेको भन्दै उद्योगहरुले सरकारसँग सुरक्षा माग गरेको उद्योग मन्त्रालयले जनाएको छ । मन्त्रालयको माग अनुसार उद्योगमा प्रहरी खटाउने निर्णय भएको र सोहीअनुसार जिल्ला प्रशासनलाई परिपत्र गरिएको गृहले जानकारी दिएको छ।

गृह मन्त्रालयको निर्णयपछि अक्सिजन उद्योगहरुमा प्रहरी पुग्ने क्रममा रहेको उद्योग विभागले जनाएको छ । अक्सिजनको माग बढेका कारण उद्योगको असुरक्षा बढेको तथा वितरण प्रणालीमा उद्योगलाई नटेर्ने प्रवृत्ति बढेपछि त्यसलाई समन्वय गर्न पनि प्रहरी परिचालन गर्नुपरेको महानिर्देशक जीवलाल भुसालले बताए ।

उद्योगको सुरक्षामा खटिने प्रहरीले वितरणलाई प्रभावकारी बनाउने, उद्योगका कार्मचारीको मनोबल बढाउने तथा समग्र उद्योगको सुरक्षा हेर्ने भुसालले बताए । हाल देशभर काठमाडौं उपत्यकामा ८ सहित २० वटा अक्सिजन उद्योग सञ्चालनमा छन् ।

यस्तै कोरोनाको संक्रमण ह्वात्तै बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ‘लिक्विड अक्सिजन’ सहित अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन आग्रह गर्दै सरकारले भारतलाई पत्राचार गरेको छ ।

स्वास्थ्य मन्त्रालयले आवश्यक सामग्रीको लिष्ट परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई उपलब्ध गराएको मन्त्रालय उच्च स्रोतले बतायो । पत्र पठाए लगत्तै दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालय र स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग कुराकानी अगाडि बढाएको छ ।

यतिवेला भारतमा नै अक्सिजन र अन्य स्वास्थ्य सामग्रीको अभाव भए पनि नेपाललाई सकेसम्म छिटो उपलब्ध गराउने आश्वासन भारतीय अधिकारीले दिएका छन् । नेपालले सबैभन्दा उच्च प्राथमिकतामा ‘लिक्विड अक्सिजन’ रहेको छ । संक्रमितको संख्या ह्वात्तै बढेमा ‘लिक्विड अक्सिजन’ को अभाव हुने सक्ने सरकारी अधिकारीहरु बताउँछन ।

भारतले देशभित्र अक्सिजनको अभाव भएलगत्तै निर्यातमा बन्देज लगाएको छ । नेपालले लिक्विड अक्सिजन भारतको झारखण्डबाट ल्याउने गरेको छ । नेपालले भारत सरकारसँगै झारखण्डको अक्सिजन उपलब्ध गराउने कम्पनीसँग पनि कुराकानी अगाडि बढाएको छ ।

सो कम्पनीका अधिकारीहरूले नेपालले आफैं ट्याङ्करको व्यवस्था गरेमा र भारतीय विदेश मन्त्रालयले स्वीकृति दिएमा उपलब्ध गराउन कुनै कठिनाई नहुने जानकारी गराएका छन् ।

त्यसैगरी सरकारले अक्सिजन सिलिण्डर उपलब्ध गराउन पनि भारत सरकारलाई आग्रह गरेको छ । अधिकारीहरूका अनुसार देशभरका अस्पतालहरूमा अक्सिजनको अभाव नभए पनि बिरामी बढेको खण्डमा पर्याप्त अक्सिजन सिलिण्डरहरू भने छैनन् ।

त्यसैगरी रेम्देसिभिर लगायतका अन्य अत्यावश्यक औषधि उपलब्ध गराउन पनि भारतलाई आग्रह गरिएको छ । अस्पतालको आईसीयू युनिटको लागि आवश्यक सर्जिकल सामग्रीहरू समेत माग गरिएको छ ।

यस बाहेक नेपालले भुक्तानी गरिसकेको १० लाख खोप पनि सकेसम्म छिटो उपलब्ध गराउन नेपालले भारतसँग ताकेता गरिरहेको छ । भारतले सो खोप पठाउन ढिला गर्दा ६० वर्षभन्दा माथिकालाई दोस्रो चरणको खोप अभियान प्रभावित हुने खतरा छ ।

तर भारतमा नै यतिवेला अक्सिजनको अभावमा धेरैको मृत्यु भइरहेको हुनाले नेपालले आग्रह गरे पनि भारतले तत्कालै अक्सिजन र अन्य सामग्री पठाउने सम्भावना कम देखिन्छ । भारत आफैंले तत्कालका लागि जर्मनीबाट अक्सिजन ल्याउने तयारी गरिरहेको छ । तर केही ढिलो भएपनि उपलब्ध गराउने आश्वासन दिएको सरकारी अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया