आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सीडीओलाई कोरोना पुष्टि

प्रकाशित
268
SHARES

कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्नका लागि मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक बस्दैछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने बैठकमा पहिलो चरणमा जारी गरिएको निषेधाज्ञाको समीक्षाका साथै कोरोना नियन्त्रणका सम्बन्धमा थप निर्णय लिइने बताइएको छ ।

उपत्यकामा कोरोनाको संक्रमणदर तीव्र बनेपछि गत वैशाख १६ गतेदेखि बुधबार मध्यरातसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ भने अब फेरि एक साता समय थप गर्ने तयारी भएको छ । निषेधाज्ञाका लागि यसअघि नै मन्त्रिपरिषद् बैठकले मार्गप्रशस्त गरिसकेको छ ।

यसो त निषेधाज्ञाका बीच पनि मानिसहरुको आवातजावत र यातायातका साधनको भीडभाड सडकमा देखिएको भन्दै यसलाई थप कडाइ गर्ने तयारी भएको छ यस्तै हाल बेलुका र बिहान दुई समय खाद्य पसर र डिपार्टमेन्टल स्टोरहरु संचालनको अनुमति दिइएकामा अब बिहानको समयमा मात्रै संचालन गर्न दिनेगरी निर्णय हुने बताइएको छ ।

सरकारले आन्तरिक र अन्तराष्ट्रिय उडान संचालनमा रोक लगाइसकेको सन्दर्भमा उपत्यका भित्रिने नाकाहरुमा पनि कडाइ गर्नेगरी छलफल भएको छ । यी सबै विषयमा आजको बैठकले निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

यसैबीच ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आफूमा कोरोना संक्रमण पुष्टि भएकाले आजको बैठकमा आफ्नो भौतिक उपस्थिति नरहने निरौलाले  जानकारी दिए । ‘प्रविधिको प्रयोगमार्फत बैठकमा मेरो उपस्थिति हुनेछ, भौतिक रुपमा सहायक प्रमुख जिल्ला अधिकारीको सहभागिता रहनेछ’, उनले भने । उनी अहिले आइसोलेशनमा रहेका छन् ।

यस्तै कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र, छाउनीले कोरोना संक्रमित र शव व्यवस्थापनका लागि अत्यावश्यक हटलाइन नम्बरहरु उपलब्ध गराएको छ । विश्वभर फैलिदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ संक्रमण र मृत्त्युदर बढ्दै गएपछि केन्द्रले एम्बुलेन्स र शव बाहनका लागि हटलाइन सेवा सुरु गरेको हो ।

केन्द्रका अनुसार एम्बुलेन्सको लागि १०२ र शव व्यवस्थापनको लागि ११४० नम्बरमा सम्पर्क गर्न सकिने छ । शव व्यवस्थापनमा खटिएका टीमको बारेमा जानकारी लिनुपरेमा १०५ मा सम्पर्क गर्न सकिने छ । अस्पतालमा मृत्यु भएकाको हकमा सम्बन्धित अस्पतालले सीसीएमसीलाई शव व्यवस्थापनको लागि अनुरोध गरेको पत्र र होम आइसोलेसनमा मृत्यु हुनेको हकमा स्थानीय पालिकाको सीसीएमसीलाई शव व्यवस्थापनका लागि अनुरोध गरेको पत्र हुनु पर्ने केन्द्रले जनाएको छ ।

काठमाडौं महानगरपालिकाको एम्बुलेन्स सेवा

काठमाडौं महानगरपालिकाले पनि एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाका अनुसार राष्ट्रिय सभागृह, चाबहिल, स्वयम्भू, महाराजगञ्ज, मिनभवन लगायतका स्थानबाट एम्बुलेन्स सेवा सुरु गरिएको छ । महानगरपालिकाले ती एम्बुलेन्स सन्चालन हुने रुट, एम्बुलेन्सको नम्बर, एम्बुलेन्स चालकको मोबाइल नम्बर र नाम समेत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया