आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अस्पतालमा अक्सिजनको कमी, १२ जना संक्रमितको मृत्यु, यसो भन्छन चिकित्सक

प्रकाशित
217
SHARES

काठमाडौँ। भारतको कर्नाटकको चामाराजानगर जिल्लाको एक अस्पतालमा अक्सिजनको कमीका कारण कम्तीमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।चामाराजानगर इन्स्टिच्युट अफ मेडिकल साइन्सका डाक्टरले आफूहरुले विभिन्न कोसिस गर्दा पनि बिरामीको अक्सिजन लेभल सामान्य गर्न नसकिएका कारण उनीहरुको मृत्यु भएको बताएका छन् ।

मेडिकल कलेजका डीन डाक्टर जीएम संजीवले बीबीसी हिन्दीको कुराकानीमा भने, ‘राती १२ बजेदेखि २ बजेबीच अक्सिजन प्रेशर कम भयो । १२२ बिरामीमध्ये, १२ बिरामी कोभिडबाहेक पनि कुन न कुनै गम्भीर रोगबाट पीडित थिए । हामीले प्रेशरलाई बढाउन विभिन्न कोसिस गर्‍यौं तर आज बिहानसम्म हामीले १२ बिरामीलाई बचाउन सकेनौं ।’

यी सबै बिरामी भेन्टिलेटरमा थिए । डाक्टर संजीवका अनुसार अक्सिजनको प्रेसर खस्कँदा अक्सिजनको सप्लाई रोकिएको थियो । उनले भने, ‘हरेक ३५ मिनेटमा हामीलाई १० अक्सिजन सिलिन्डरको आवश्यकता पर्छ तर हामीले समयमा नै अक्सिजन पाउन सकेनौं र राती १२ बजेदेखि २ बजेका बीच अक्सिजन लेभल तल झर्यो ।’

‘वास्तवमा अक्सिजन सिलिन्डर ढुवानीका कारणले पुग्न ढिलो भएको थियो किनभने हामीले अक्सिजन मैसुर प्लान्टबाट पाउँछौं । कूल हामीले २ सय सिलिन्डर पाएका छौं, ५० सिलिन्डर अझै स्टकमा छ र केही नयाँ सिलिन्डर आउँदैछन् । यसबाहेक ११ अन्य बिरामीको पनि अस्पतालमा मृत्यु भएको छ । यद्यपि, यी बिरामी अक्सिजन सपोर्टमा थिएनन् र उनीहरुको मृत्युको कारण अरु केही नै थियो ।

त्यस्तै पछिल्लो २४ घण्टामा साढे तीन लाखभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । यो आँकडा करिब ५० देशमा एक दिनमा भेटिएको केसभन्दा पनि बढी हो । भारतमा दोस्रो लहरमा तीब्र रुपमा भइरहेको संक्रमणको चेन तोड्नका लागि कोभिड टास्क फोर्सका सदस्यले देशव्यापी रुपमा लकडाउनको माग गरेका छन् ।

यी सदस्यमा एम्स र इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर) समावेश छन् । यसमा केन्द्र सरकारले सोमबार निर्णय लिनसक्ने भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

दुबै संस्थाका सदस्यले एक हप्तादेखि देशव्यापी लकडाउनको माग गरिरहेको बताइएको छ । आइसीएमआरले कोरोनाको दोस्रो लहरको चरम अवस्था अझ आउन बाँकी भएको तर्क दिएको छ । संस्थाका अनुसार यो स्थितिमा संक्रमणको चेन तोड्नका लागि दुई हप्ताको पूर्ण लकडाउन आवश्यकता छ ।

केन्द्रले आंशिक लकडाउन लगाउन सक्नेः

केन्द्रले आइसीएमआर र एम्सको धारणामा कुनै निर्णय लिएको छैन । स्रोतका अनुसार ३ मे पनि केन्द्र सरकारले यसबारे निर्णय लिनसक्छ । पूर्ण लकडाउन नै नभएपनि आंशिक लकडाउनको घोषणा केन्द्र सरकारले गर्ने अनुमान गरिएको छ ।

विज्ञले भने, ‘मेमा समाप्त हुनसक्छ दोस्रो लहर तर नियम मान्नुपर्नेछ अशोका युनिभर्सिटीमा त्रिवेदी स्कूल अफ बायोसाइन्सेजका निर्देशक र भाइरोलोजिस्ट डा. शाहिख जमिलले भारतीय सञ्चार माध्यमको कुराकानीमा मेको दोस्रो हप्तामा कोरोनाको दोस्रो लहर आउन सक्ने बताएका थिए ।

उनले भनेका थिए, ‘हामी अहिले नै भन्न सक्दैनौं सक कति संक्रमित भेटिएलान् । यो आँकडा ५–६ लाख संक्रमित दैनिकको पनि हुनसक्छ । वास्तवमा यो आँकडा मानिसहरुले कोभिडको विषयमा अपनाएको सावधानी र उनीहरुको व्यवहारमा निर्भर हुनेछ ।’

डा. जमिलले थपे, ‘यदि मानिसहरुले कोभिडको दिशा–निर्देशनको पालना गर्छन् तब सायद मेको अन्त्यमा नै हामी दोस्रो लहरबाट बाहिर निस्कन सक्छौं तर यदि मानिसहरुले यसरी नै नियम तोडिरहन्छन् भने यो लहर लामो समयसम्म तानिन सक्छ ।’

यी राज्यमा छ पूर्ण लकडाउनः

हाल दिल्ली, राजस्थान, हरियाणा, ओडिशामा पूर्ण लकडाउन छ । महाराष्ट्र र पंजाबमा मिनि लकडाउन लागू गरिएको छ । यूपीमा विकेन्ड लकडाउन छ । मध्य प्रदेशमा पनि ७ मेसम्म जनता कर्फ्यू लागू गरिएको छ ।

प्रतिक्रिया