आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पूर्वरानी कोमलको स्वास्थ्य अवस्थाबारे नर्भिक अस्पतालले दियो यस्तो जानकारी, पूर्वराजा तनावमा

प्रकाशित
1.3K
SHARES

काठमाडाैं । कोरोनाभाइरसको संक्रमण भएकी पूर्वरानी कोमल शाहको स्वास्थ्यमा सुधार आउन सकेको छैन।राजधानीको नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी शाहलाई बिहीबार प्लाज्मा दिइएको थियो। कोरोना संक्रमणका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसियूमा राखेर उपचार थालिएको थियो।

आइसियूमा राखेर उपचार गरिरहे पनि अवस्था सुधार नभएपछि उनलाई प्लाज्मा दिइएको थियो। उपचारमा संलग्न नर्भिक इन्टरनेशनल अस्पतालका डाक्टरले प्लाज्मा दिँदा पनि उनले स्वास्थ्यलाभ लिन नसकिरहेको बताए।

‘प्लाज्माबाट उहाँको रगतमा आवश्यक अक्सिजनको मात्र बढ्नुपर्नेमा त्यो हुन सकेको छैन,’ स्रोतले भन्यो। कोमललाई पहिलेजस्तै प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिइएको छ।

शाहको स्वास्थ्य स्थिति गम्भीर रहेको नर्भिक अस्पताल स्रोतले जानकारी दियो। ‘उहाँको स्वास्थ्य अवस्थामा कुनै पनि सुधार आउन सकेको छैन, पहिलेकै अवस्था हो,’ स्रोतले भन्यो। उपचारमा संलग्न डा. जेपी जैसवालले भने पहिलेभन्दा स्वास्थ्यमा सुधार आएको बताए।

कोरोना संक्रमण भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह, पत्नी कोमल र छोरी प्रेरणा वैशाख ७ गते नर्भिकमा भर्ना भएका थिए। ज्ञानेन्द्र र प्रेरणा पाँचौं तलाको भिभिआइपी उपचार कक्षमा छन्। उनीहरूको स्वास्थ्य सामान्य छ। पूर्वरानी कोमललाई भने तल्लो तलाको आइसियूमा राखिएको छ।

यस्तै कोरोना संक्रमण बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सुरक्षामा विशेष सतर्कता अपनाइएको छ । प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार बैठक कक्षमा सिसाले बनेको ‘क्याबिन’को प्रबन्ध गरिएको हो ।

बैठक कक्षमा प्रधानमन्त्री ओलीले गर्ने भेटका क्रममा प्रधानमन्त्री सिसाको क्याबिनभित्र बस्ने व्यवस्था मिलाइएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए । ‘मिर्गौला प्रत्यारोणपछि भेटघाटका क्रममा डाक्टरहरुकै सल्लाहमा संक्रमण हुन नदिन यस्तो पूर्वाधार बनाइएको थियो,’ थापाले भने, ‘यसअघि महामारी दर बढ्दा पनि प्रधानमन्त्रीज्यूको बैठक कक्षमा यो प्रयोग भएको थियो ।’

महामारी कम भएको बेला झिकिएको सिसाको क्याबिन पछिल्ला दिनमा फेरि राखिएको हो । संक्रमणको जोखिम कम होस् भनेर स्वास्थ्य सतर्कताका लागि यसो गरिएको उनले बताए ।

‘पहिले त मन्त्रिपरिषद् बैठक नै यही कक्षमा बस्थ्यो, सामाजिक दूरी पालना गर्नुपर्ने भएपनि ठूलो हलमा हुन थालेको छ,’ थापाले भने, ‘अहिले पनि १२–१३ जनासम्मको बैठक बस्न यो कक्षको प्रयोग हुन्छ ।’

नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढेको छ । हाल भेन्टिलेटर र आईसीयूमा गरी कूल ६०८ जना स‌क्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर १३१ जना संक्रमित भेन्टिलेटरमा र ४७७ को आईसीयूमा उपचारत छन्। मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा ५४ जना संक्रमित आईसीयूमा र भेन्टिलेटर १४, प्रदेश २ मा हाल आईसीयूमा २४ जना र भेन्टिलेटरमा २ जना उपचाररत छन् ।

यसैगरी बाग्मती प्रदेशमा २५४ जना आईसीयूमा र ७७ जना भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी गण्डकी प्रदेशमा ५ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७७ जना आईसीयूमा र २१जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा ३३ जना आईसीयूमा र भेन्टिलेटरमा ७ तथा सुदूरपश्चिम प्रदेशमा ३० जना आईसीयूमा र ९ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

यता काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अक्सिजन प्लान्ट शुभारम्भ गरेका छन् । महानगरले उपलब्ध गराएको करीव २ करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टबाट आजैदेखि अक्सिजन उत्पादन शुरु भएको छ ।

४७ लिटरका १३५ सिलिण्डर दैनिक अक्सिजन उत्पादन गर्ने प्लान्टको क्षमता छ । यसमध्ये गंगालालमा दैनिक करीब ९० सिलिण्डर अक्सिजन खपत हुन्छ । बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिन्छ । यो (अक्सिजन भर्ने) प्रणाली जडान हुन बाँकी छ ।

प्लान्टमा ३७ किलोवाटको एअर कम्प्रेसर, ३ डिग्री सेल्सियससम्म चिसो पार्ने एअर ड्रायर, १ हजार लिटर क्षमताको एअर ट्याङ्क, २ वटा अक्सिजन जेनेरेटरलगायत उपकरण राखिएका छन् ।

प्लान्ट शुभारम्भपछि प्रमुख शाक्यले, गंगालालमा महानगरले अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गर्दा अहिलेको जस्तो अक्सिजनको अत्याधिक माग नभएको स्मरण गर्दै त्यसबेला गरेको निर्णयबाट अहिलेको महामारी व्यवस्थापनमा लाभ भएको उल्लेख गरे ।

‘गंगालाल हृदय केन्द्र र कान्ति बाल अस्पताल गरी २ वटा अस्पतालमा हामी अक्सिजन प्लान्ट गर्दैछौँ । दुई ठाउँबाट दैनिक करीब २ सय सिलिण्डर अक्सिजन उत्पादन हुन्छ । अबको केही दिनमा कान्तिको प्लान्ट पनि सुरु हुन्छ । यसपछि यी दुई अस्पतालमा दैनिक आवश्यक पर्ने करीव २ सय सिलिण्डर अक्सिजन अन्यत्र पठाउन सकिन्छ’ प्रमुख शाक्यले भने ।

गंगालालमा आन्तरिक पाइप प्रणालीबाट अक्सिजन विरामी भएको ठाउँमा पुर्‍याइएकोले सिलिण्डर नचाहिने भएकोले खर्च जोगिएको उनले बताए । महानगरसँगको सम्झौताबमोजिम हृदय केन्द्रले प्लान्ट र यस सम्बन्धि उपकरण खरिद खुल्ला प्रतिस्पर्धाबाट खरिद गरेको हो । बोलपत्रबाट छनौट भएको प्रस्तावकले कबोल गरेको रकम बराबरको पैसा महानगरले केन्द्रको बैङ्क खातामा पठाएको थियो ।

प्लान्टको निरन्तर सञ्चालनका लागि पूर्वाधार तयार पार्ने, जनशक्ति खटाउने, बिद्युत प्रणाली जडान गर्ने, जनशक्ति खटाउने तथा मर्मत सम्भार केन्द्रले गर्नेछ । केन्द्रमा प्लान्ट अनामिभले जडान गरेको हो । अनामिभका इञ्जिनियर बिजन अर्यालकाअनुसार, प्लान्टको ५ बर्षे वारेन्टी हो । त्यसपछिको ३ बर्षसम्म यसमा केही भए हामी निःशुल्क मर्मत गर्नेछौँ ।

मुटुको समस्या भएर गंगालाल हृदय केन्द्रमा उपचार गर्न आउने बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन महानगरले प्लान्ट स्थापना गरेको हो । यसका लागि महानगर र केन्द्रकाविच २०७६ माघ १५ गते सहिद सप्ताहका कार्यक्रम पारेर सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

नेपालमा एकैदिन ७ हजारभन्दा बढीमा कोरोना संक्रमण, २७ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ संक्रमित फेला परेका थिए । एकै दिनमा यो रेकर्ड तोडिएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

यही अवधिमा थप १ हजार ६१२ जना निको पनि भएका छन् । नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना संक्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ ।

हालसम्म ३३ सय २५ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार २४ घण्टामा २७ जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया