आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

डब्ल्यूएचओको यस्तो डरलाग्दो चेतावनीले युरोपभर त्रास

प्रकाशित
699
SHARES

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले युरोपेली देशलाई कोभिड–१९ का कारण लगाइएको प्रतिबन्ध खुकुलो पार्दा भारतजस्तै यहाँ पनि कोरोना पोजेटिभ केसको आँधी आउन सक्ने चेतावनी दिएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार युरोपका लागि विश्व स्वास्थ्य संगठनका प्रमुख ह्यान्स क्लूगले बिहिबार भने, ‘जब प्रतिबन्ध खुकुलो पारियो तब मानिसहरु भारी मात्रामा एकै ठाउँ जम्मा हुनथाले, जब भाइरसको अत्यधिक संक्रामक भेरियन्ट देखिन थाल्यो र भ्याक्सिनेसनको दर निकै कम भए, यस्तो स्थितिमा कुनै पनि देशमा कोरोनाको आँधी आउन सक्छ ।’ उनले भने, ‘भारतजस्तो स्थिति कुनै पनि बेला निम्तिन सक्छ भन्ने कुरा बुझ्न अत्यावश्यक छ ।’

हालैका दिनमा कोरोना संक्रमितको संख्यामा लगातार वृृद्धि भइरहेको छ । जानकारका अनुसार विभिन्न कारणले ठूलो संख्यामा मानिसहरुको एकै स्थानमा भीडभाड हुनु यसको मुख्य कारण हो । जानकारका अनुसार भारतमा कोरोना महामारीको दोस्रो घातक लहरका लागि कोरोना भाइरसको भारतीय भेरियन्ट B.1.617 जिम्मेवार छ ।

हेन्स क्लूगले भने, ‘युरोपेली देशले यो कुरालाई ध्यानमा राख्नुपर्छ कि महामारीको दिशा परिवर्तन गर्नमा निजी र सामूहिक स्वास्थ्य र सामाजिक दुरीको उपाय प्रमुख कारक हुन सक्छन् । दुई महिनामा पहिलो पटक अघिल्लो हप्ता युरोपमा कोरोना संक्रमणको मामिला ‘निकै कम’ भएको छ । तर थुप्रै इलाकामा संक्रमण दर अहिले पनि अत्यधिक छ ।’

उनका अनुसार मानिसहरुलाई भ्याक्सिन दिने काममा पनि युरोपको प्रदर्शन निकै राम्रो छ । यहाँ करिब सात प्रतिशत मानिसहरुलाई कोरोनाको भ्याक्सिन दिइसकिएको छ जबकी १६ प्रतिशत मानिसहरुलाई भ्याक्सिनको पहिलो डोज दिइसकिएको छ ।

हालै युरोपका केही देशले कोभिड–१९ का कारण लगाइएको प्रतिबन्धमा चरणबद्ध तरिकाले खुकुलो पार्न सुरु गर्ने बताएका थिए । फ्रान्सले १९ मेदेखि लकडाउनमा राहत दिन सुरु गर्ने र जून ९ देखि उनीहरुले हेल्थ पाससहित आउने विदेशी पर्यटकलाई अनुमति दिने बताएको थियो । यहाँ १९ मे देखि रेष्टुरेन्ट, बार, थिएटर खोल्ने अनुमति पनि हुनेछ ।

जर्मनीका अनुसार जो मानिसहरुले भ्याक्सिनको दुबै डोज पाएका छन्, उनीहरुले कोरोना परीक्षणको सर्टिफिकेट बिना नै पसलमा जाने अनुमति हुनेछ । यसबारे जर्मनीले चाँडै नै दिशानिर्देश जारी गर्नसक्छ ।

संसारभरी एकैदिन ९ लाख नयाँ संक्रमित भेटिए, यीमध्ये भारतमा मात्रै फेला परे ३ लाख ८६ हजार

भारतमा कोरोना अनियन्त्रित स्थितिमा पुगिसकेको छ । यसको अन्दाज यसरी पनि लगाउन सकिन्छ कि संसारभरी भेटिएका नयाँ बिरामीमध्ये करिब ४०–५० प्रतिशत भारतमा मात्रै भेटिएका छन् । पछिल्लो २४ घण्टामा संसारभरी ८.९२ लाखमा कोरोनाको संक्रमण देखिएको छ । यीमध्ये भारतमा मात्रै ३ लाख ८६ लाख बिरामी भेटिएका छन् ।

महामारीका कारण दैनिक भइरहेको मृत्युमा पनि भारत शीर्ष स्थानमा छ । पछिल्लो २४ घण्टामा संसारभरी १५,१४२ ले ज्यान गुमाएका छन् जसमध्ये भारतमा सबैभन्दा बढी ३,५०१ को मृत्यु भयो ।मृत्युको यो आँकडा सरकारी हो । घाट र समाधि स्थलको कहानीले अरु नै कथा बयान गरिरहेको छ । भारतमा संक्रमितको दर पनि बढिरहेको छ । अघिल्लो हप्ता हरेक सय जनाको परीक्षण गर्दा १८ बिरामीको रिपोर्ट पोजेटिभ आइरहेको थियो भने अब २१ जनामा पोजेटिभ केस भेटिएको छ ।

बिरामीको संख्या यसरी नै बढिरहे स्थिति थप गम्भीर हुनसक्नेः

भारतमा जब १० लाख सक्रिय संक्रमित थिए त्यतिबेलादेखि अस्पतालमा बेड, अक्सिजन, औषधी र भेन्टिलेटरको कमी हुन थालेको थियो । अब यो आँकडा ३१ लाखभन्दा बढी भइसकेको छ । यसमा हरेक दिन एक लाखभन्दा बढीको वृद्धि भइरहेको छ । यदि सक्रिय संक्रमित अर्थात्, उपचार गराइरहेका बिरामीको संख्या वृद्धि भइरह्यो भने भविष्यमा यसले विकराल समस्या निम्त्याउन सक्छ । अहिले भारतमा भएको स्रोत साधनले १० प्रतिशत बिरामीलाई मात्र धान्न सक्ने भारतीय सञ्चार माध्यमले बताएका छन् ।

यसैबीच रुघा लगाउने भाइरसले मानिसको शरीरका कोषहरूबाट कोरोनाभाइरसलाई गलहत्याइदिन सक्ने तथ्य अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्। मानवकोषमा आफूले सङ्क्रमण गर्ने प्रयासमा केही भाइरसहरूबीच प्रतिस्पर्धा हुने गर्छ।

यूनिभर्सिटी अफ ग्लास्गोका वैज्ञानिकहरूका अनुसार रुघा लगाउने राइनोभाइरसले कोरोनाभाइरसलाई पराजित गरेको पाइएको वीवीसीले उल्लेख गरेको छ। त्यसको लाभ छोटो समयका लागि मात्र हुन सक्छ। तर राइनोभाइरस धेरै फैलिएको हुनाले त्यसले कोभिडलाई दमन गर्न सहयोग गर्न सक्छ।

कोरोनाभाइरस कसरी पराजित हुन्छ?
तपाईँ आफ्ना नाक, घाँटी र फोक्सोका कोषहरूलाई लहरै बसेका घर भन्ठानूस्। एउटा भाइरस एकचोटि भित्र छिरेपछि त्यसले अरू भाइरसलाई भित्र प्रवेश गर्न दिन या त ढोका खोलिदिन्छ या ढोका बन्द गरेर त्यहाँ आफू मात्र बस्न खोज्छ।

रुघाको कारक इन्फ्लूएन्जा भाइरस एकदमै स्वार्थी हुन्छ र त्यसले प्रायः एक्लै सङ्क्रमण गर्छ। एडिनोभाइरसजस्ता अरू भाइरसहरू अरूसँग मिलेर सङ्क्रमण गर्छन्। कोभिड गराउने सार्स-कोभ-२ (Sars-CoV-2) नाम दिइएको कोरोनाभाइरसले अन्य भाइरससँग कसरी अन्तर्क्रिया गर्छ भन्नेबारे धेरै अनुमान गरिएको छ।

तर एक वर्ष भौतिक दूरीका नियमहरू लागु गरिएकाले सबै किसिमका भाइरस फैलिने क्रममा सुस्तता आएको छ। त्यसका कारण भाइरसको अन्तर्क्रियाबारे अध्ययन गर्न वैज्ञानिकहरूलाई अझ गाह्रो भएको छ।

ग्लास्गोस्थित सेन्टर फोर भाइरस रिसर्चको अनुसन्धान टोलीले मानिसको श्वासनलीको प्रतिकृति प्रयोग गरेर एउटा अध्ययन गर्‍यो। त्यसका लागि उस्तै खालका मानवकोषहरू प्रयोग गरिएको थियो। ती कोषलाई सार्स-कोभ-२ भाइरस र राइनोभाइरसबाट सङ्क्रमित पारियो।

एकैचोटि राइनोभाइरस र सार्स-कोभ-२ को संसर्ग गराइँदा कोषमा केवल रुघा लगाउने राइनोभाइरसले सङ्क्रमण गर्न सक्यो। चौबीस घण्टाअगाडि नै राइनोभाइरस प्रवेश गरेको कोषमा कोरोनाभाइरसले प्रभाव पार्ने अवसर नै पाएन।

अनि यदि कोरोनाभाइरस २४ घण्टाअगाडि नै संसर्गमा आएको छ भने पनि राइनोभाइरसले त्यसलाई कोषबाट निकालिदिन्छ। “सार्स-कोभ-२ फैलिन सक्दैन, राइनोभाइरसले यसलाई रोकिदिन्छ,” डा. पाब्लो मर्सियाले बीबीसी न्यूजलाई बताए।

“यो एकदमै उत्साहप्रद छ किनभने राइनोभाइरसको आधिक्य छ भने त्यसले सार्स-कोभ-२ को सङ्क्रमण रोक्न सक्छ,” उनले भने। पहिला पनि यस्ता प्रभावहरू देखिएका थिए। सन् २००९ मा राइनोभाइरस फैलिन थालेपछि युरोपका केही भागमा स्वाइन फ्लू महामारीको गति सुस्त भएको थियो।

थप प्रयोग र परीक्षण गर्दा राइनोभाइरसबाट सङ्क्रमित कोषमा रोग प्रतिरोध गर्ने क्षमता बढेको र त्यसले कोरोनाभाइरसको सङ्ख्या वृद्धि गर्ने क्षमता अवरुद्ध भएको देखिएको छ। वैज्ञानिकहरूले त्यस्तो प्रतिरोधात्मक प्रतिकार्यलाई रोकेर हेर्दा कोभिड गराउने भाइरसको तह राइनोभाइरस नभएको अवस्थामा जस्तै बढेको पाए।

तर रुघा निको भइसकेपछि तथा राइनोभाइरसको प्रतिरोधात्मक प्रतिकार्य निस्तेज भइसकेपछि कोभिड हुने सम्भावना कायम रहन्छ। “खोप, सरसफाइका उपाय अनि भाइरसहरूबीच हुने अन्तर्क्रियाले सार्स-कोभ-२ ठूलो मात्रामा घटाउन सक्छ। तर खोपबाट नै अधिकतम प्रभाव पर्छ,” डा. मर्सियाले भने।

प्रतिक्रिया