आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माधव नेपालसहित २० नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

प्रकाशित
143
SHARES

काठमाडौँ । नेकपा एमालेले पार्टीको विधान विपरित लागेको भन्दै माधव नेपाल समूहका २० जना नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले दुई दिने अन्तिम चेतावनी युक्त स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

माधव नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, प्रकाश ज्वालालगायत पार्टी विपरित कार्य गर्न लगाउने थप २० जनालाई दुई दिनको अन्तिम चेतावनीयुक्त स्पष्टिकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।

कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेकोलगायतका आरोप उनीहरूविरुद्ध लगाइँएको छ । चित्तबुझ्दो स्पष्टीकरण नदिए नेताहरूलाई वैशाख १० गते बस्ने बैठकले कारवाही गर्ने निर्णय समेत गरेको छ ।

यसैबीच यता नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूको विरोध व्यक्ति विशेषका लागि नभएर समग्र प्रवृत्तिको विरोध भएको बताएका छन् ।

नेपाल पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाले सोमबार काठमाडौँमा गरेको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाइ कार्यक्रममा नेता नेपालले केही व्यक्तिमा गलत प्रवृत्ति हावी भएको भन्दै त्यसलाई सुधार गर्नका लागि आफूहरूको विरोध भएको बताएका हुन् ।

उनले आफ्नो समर्थन नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई घाँडो ठानेको तर्क गरे । घरभित्र समर्थन नपाएपछि घरै भत्काउने काम अहिले भएको उनको टिप्पणी छ ।

उनले भने, ‘घरभित्र समर्थन नपाएपछि घरै भत्काउने काम अहिले भएको छ । गलत कुराको हार र सत्यको जीत हुन्छ । ‘ केपी ओलीलाई प्रधानमन्त्री बनाउन जसले भर्‍याङ बनाइदियो उसैलाई सडकमा पुर्‍याएको उनले बताए ।

प्रतिक्रिया