आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फ्लोर क्रस गर्नु अघि कर्णाली प्रदेशमा रातारात के के भयो ? हेर्नुहोस् सनसनीपूर्ण खुलासा

प्रकाशित
366
SHARES

काठमाडौं । २०७८ वैशाख ३ गते शुक्रवार कर्णाली प्रदेश सभा अघिल्लतिर फूलमालासहित युवा संघको ठूलो टोली उपस्थित भइसकेको थियो । संसदमा बहुमतमा रहेको एमालेले तीन वर्षपछि मुख्यमन्त्री पाउँदै थियो । पार्टी एकताको नाममा एमाले नेता यामलाल कँडेलले मुख्यमन्त्री छोड्नुपरेको थियो । त्यतिबेलाको त्यागको प्रतिफल ३ बर्षपछि आउँदै थियो । एमालेबाट संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री यामलाल कँडेल नै हुँदै थिए । त्यसमा नेता प्रकाश ज्वालासहित माधव नेपाल समूहका नेताहरुको पनि समर्थन थियो ।

त्यही समर्थनपछि कँडेलको आत्मबल बढेको थियो र खुसीयालीका लागि तम्तयार थियो टोली । २ बजे संसद बैठक सुरु हुनुुभन्दा एक घण्टाअघि संसदीय दलको बैठकमा अम्मरबहादुर थापाले पार्टीको निर्देशन सबैले मान्नुपर्ने बताए । विसञ्चो देखाउँदै प्रकाश ज्वाला बैठकमा बोलेनन् । त्यति हुँदा नेता कँडेल विश्वस्त थिए कि अब चाहिं माधव नेपाल टोलीले सहयोग गर्छ । बैठकमै त्यत्ति कडा र पार्टी लाइनबाट बोलेपछि शंका गर्ने कुरा पनि भएन ।

कँडेल पक्षले शंका चाहिं अघिल्लो दिनै गरिसकेको थियो । २०७८ वैशाख २ गते बिहिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निवासमा एमालेमा सांसद नन्दसिंह बुढा दिनभर जसो बसेका थिए । प्रकाश ज्वाला, अम्मर थापा र कुर्मराज शाही पनि बेला मौकामा संवादमा थिए । तर ती सबै संवाद गोप्य थिए । बरु, उल्टै वैशाख ३ गते शुक्रवार बिहानभरी माओवादीका कृष्णा शाह, पुष्पा घर्ती र ठम्मर विष्टले फ्लोर क्रस गरेर यमलाललाई सहयोग गर्ने हल्ला फैलियो ।

वैशाख २ गते विहिबार साँझ यामलालसँग उनीहरुको गोप्य छलफल भएको चर्चा चलेको थियो । तर, त्यो हल्ला एमालेबाटै फैलिएको थियो । किनभने २०७८ वैशाख २ गते विहिबार नै माअ‍ोवादीले आफ्ना सांसद जोगाउन क्याम्प शैलीमा बसोबासको व्यवस्था गरेको थियो ।

समूहमा बसेका सांसदहरु विपक्षीसँग छलफलमा जान सक्ने संभावना थिएन । तर, ती क्याम्पमा माधव नेपाल समूहका सांसदहरु भने सम्पर्कमा थिए । र, योजना बनाईयो कि कांग्रेसको समर्थनपछि नपुग हुने ४ जना सांसदले फ्लोर क्रस गर्ने । कांग्रेसले समर्थन नगरेको अवस्थामा ८ जनाले नै फ्लोर क्रस गर्ने ।

माधव नेपाल समूहमा ९ जना भए पनि एकजना दल रावल फ्लोर क्रस गर्ने पक्षमा थिएनन् । किनभने उनी ओली समूहबाट मन्त्री जोगाउन माधव नेपाल समूहमा आएका थिए र अब मन्त्री हुने संभावना कम भएका कारण ओली पक्षमा खुल्नलाई बाटो बन्द गर्न चाहँदैनथिए । त्यसो हुँदा ८ जना माधव नेपाल पक्षका नेताहरुले फ्लोर क्रस गर्दा माओवादीको पक्षमा २० जना पुग्थ्यो र त्यो संख्या सरकार बनाउन पर्याप्त हुन्थ्यो ।

त्यसैले, माओवादी र माधव नेपाल समूहका सांसद बिच सहमति भयो कि फ्लोर क्रस गर्दा प्रत्यक्ष निर्वाचित भएका सांसदले मात्रै गर्ने । समानुपातिक सांसदलाई प्राथमिकतमा नराख्ने । किनभने उनीहरुको पद जाने वित्तिकै आउने सांसद भने ओली पक्षकै हुने डर थियो । त्यही कारण उनीहरुले ४ जनाको नाम तय गरियो । र, उनीहरुलाई अबको उपनिर्वाचनमा स्वतन्त्रबाट भए पनि निर्वाचित गराएर ल्याउने ।

६ महिना मन्त्री हुने र स्वतन्त्रबाट भए पनि निर्वाचित भएर संसदमा आउने भएपछि उनीहरु सहमत भए फ्लोर क्रस गर्न । केन्द्रबाट माधव नेपालले पनि सहमति जनाए । प्रत्यक्ष निर्वाचित ती सांसदहरुको क्षेत्र माओवादीको पनि राम्रो पहुँच भएको क्षेत्र भएकोले उनीहरुलाई जिताउन सहज हुन्छ ।

मन्त्री पदका लागि माओवादीका सांसद धर्मराज रेग्मी एमाले प्रवेश गरेका थिए । नेता कँडेलसँग सम्झौता गरेर ६ महिने मन्त्रीका लागि एमाले प्रवेश गरेर माओवादीको सांसद पद गुमाएका रेग्मीमात्र होइन, माधव नेपाल समूह छोडेर मन्त्रीका लागि पद्मा खड्का र पदम रोकाय पनि नेता कँडेलको पक्षमा लागेका थिए । काठमाडौंमा आई अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई भेटेर खड्का र रोकायले मन्त्री पद ग्यारेन्टी गरेका थिए । कँडेलको मुख्यमन्त्रीसँगै रेग्मी, खड्का र रोकायको मन्त्री बन्ने सपना पनि ढलेको छ । – साँघुबाट

प्रतिक्रिया