आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सर्वदलीय बैठकमा सभामुख विरुद्ध प्रधानमन्त्री ओलीको आक्रोश

प्रकाशित
203
SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाको आलोचना गरेका छन् आज बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सभामुख सापकोटाले संसदलाई बन्धक बनाएको आरोप लगाएका हुन्।

बैठकमा भाग लिएर बाहिरिएपछि राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सञ्चारकर्मीसँग ओलीले सभामुखले सरकारलाई कामै गर्न नदिएको गुनासो गरेको बताए।

‘सभामुख अराजक बन्नुभयो, उहाँले संसदलाई बन्धक बनाएर सरकारलाई कामै गर्न दिनुभएन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै डा. लोहनीले भने, ‘यसको निकास कसरी खोज्ने भनेर दलहरूसँग राय माग्नुभयो। सर्वदलीय बैठकमा उहाँले सभामुखप्रति आक्रोश पोख्नुभयो।’

उनका अनुसार बैठकमा ओलीले कोरोनाको दोस्रो लहरविरुद्ध कसरी लड्ने भन्ने सुझाव पनि मागेका थिए।आफूले राजनीतिक निकास खोजेर कोरोना नियन्त्रणलगायत महत्त्वपूर्ण काममा लाग्न सुझाव दिएको डा. लोहनीले बताए।

प्रचण्ड र नेपालद्वारा बैठक बहिष्कार, डा. भट्टराई र यादवलाई बोलाइएन
बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र प्रमुख सचेतक बालकृष्ण खाण सहभागी भएका थिए भने जनता समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर, नेताहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला गएका थिए।

तर जसपकै शीर्ष नेताहरू डा. बाबुराम भट्टराई र उपेन्द्र यादव भने बैठकमा सहभागी भएनन्।

डा. भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले ‘सर्वदलीय’ भनिएको बैठकमा जसपालाई कुनै आधिकारिक निम्तो नआएको दाबी गरे। ‘व्यक्तिगत रूपमा कसैलाई आएको र गएको भए त्यो उसको निजी मामिला र विचार हो।’

बैठकमा राप्रपाबाट डा. प्रकाशचन्द्र लोहनी सहभागी भएका थिए भने राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र नेमकिपाबाट प्रेम सुवाल र सुनील प्रजापति सहभागी भएका थिए।

प्रतिक्रिया