आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राष्ट्रपतिले दिएको तक्मामा किन छैन चुच्चे नक्सा ? यस्तो छ खास रहस्य

प्रकाशित
587
SHARES

काठमाडाैं । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले ६३३ जनालाई मानपदवी, अलंकार र पदक वितरण गरिन्। मन्त्रिपरिषदको निर्णयका आधारमा राष्ट्रका लागि उल्लेख्य योगदान गर्ने व्यक्तिलाई उच्च मूल्यांकनका साथ हरेक साल विभूषण दिइने गरिएको छ।

गृह मन्त्रालयको सिफारिसमा विभूषण दिने व्यक्तिको नाम मन्त्रिपरिषदबाट अनुमोदन हुने गरेको छ।

शुक्रबार वितरण गरिएको विभूषणमा नेपालको नक्सामा चुच्चो हराएको भन्दै सामाजिक सञ्जालमा आलोचना भयो। धेरैले लिपुलेक, कालापानी समेटिएको नेपालको नक्सासहितको पदक नआएको गुनासो गरेका छन्।

तर, यो गत वर्ष २०७६ सालको संविधान दिवसको अवसरमा घोषित विभूषण थियो। जतिबेला नेपालको नक्सामा लिपुलेक, कालापानी समेटिएको चुच्चो जोडिइसकेको थिएन।

गृहको बेवसाइटमै यो गत वर्ष २०७६ सालको संविधान दिवसको अवसरमा घोषणा गरिएको विभूषण भनिएको छ। मन्त्रालयका अनुसार गत वर्ष नै यी विभूषण वितरण गर्न खोजिएको थियो। तर, कोरोना महामारीका कारण विभूषण प्रदान गर्न असम्भव भयो।

‘चुच्चो नजोडिइकनै छापिएको विभूषण थियो, अहिले चुच्चो देखिएन भनेर भनिए पनि त्योभन्दा अगाडि नै आइसकेको विभूषण हो,’ गृह प्रवक्ता चक्रबहादुर बुढाले भने। १३ जुन २०२० मा संसदबाट संविधान संशोधन भई लिपुलेकसहितको नक्सा जारी भएको थियो।

प्रतिक्रिया