आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सकियो तीन दलको बैठक

प्रकाशित
336
SHARES

काठमाडौं । नयाँ सत्ता समीकरणबारे बुढानिलकण्ठमा बसेको कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठक सकिएको छ । सभापति देउवा निवास बुढानीलकण्ठमा बैठकमा नयाँ सरकार बनाउनका लागि कांग्रेसले प्रस्ताव गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले भने,‘ नयाँ सरकार गठनमा छलफल गरौं भनेर कांग्रेस सभापति शेरबहादुर देउवाले प्रस्ताव राख्नुभयो । जुन सरकार भए पनि चुनाव गराउने भएपनि केपी ओलीले सबै कब्जा गर्न खोजे । अब कांग्रेसको नेतृत्वमा सरकार बनाउँ भनेर सभापति देउवाले प्रस्ताव गर्नुभयो ।’

सभापति देउवाको प्रस्तावमा जनता समाजवादी पार्टीका नेताहरुले भने अब पार्टीको बैठक बसेर आवश्यक निर्णय गर्ने बताएको प्रवक्ता श्रेष्ठले बताए । उनले भने,‘जसपाका तर्फबाट बोल्ने नेताहरुले औपचारिक रुपमा कांग्रेसले केपी ओली सरकारको विकल्पमा नयाँ सरकार बनाउने प्रस्ताव राखेपछि अब हामीले निर्णय गर्छौ भनेर भन्नुभएको छ । छिट्टै हाम्रो बैठक बसेर निर्णय गर्छौँ भनेर भन्नुभयो ।’

तीन दलको बैठकमा जसपाका नेताहरुले आफ्नो सरोकारको विषयमा समेत जानकारी गराएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले भने,‘जसपाका साथीहरुले उहाँहरुको चासो र सरोकार पनि अघि सार्नुभयो । आन्दोलनका क्रममा लगाइएका मुद्दा, रिहाई लगायतका विषयमा छलफल भयो ।’

अब फेरि अर्को छलफलपछि नयाँ सरकार गठनको बाटो खुल्ने प्रवक्ता श्रेष्ठले विश्वास लिएको बताए । यसैगरी बैठकमा सहभागी जसपाका अध्यक्ष महन्थ ठाकुरले समेत सरकार गठनका लागि कांग्रेसले औपचारिक रुपमा पहिलो पटक प्रस्ताव गरेको र त्यसबारेमा आवश्यक निर्णय गर्ने बैठकमै भनेको बताए ।

आफ्ना कारणले नयाँ सरका गठनमा ढिलाई नभएको स्पष्ट पार्दै उनले भने,‘सरकार बनाउनले त आज प्रस्ताव गर्नुभएको छ । अनि हाम्रो कारणले सरकार गठनमा ढिला हुन्छ ?’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समेत सरकार गठनको विषयमा कांग्रेस केन्द्रीय समितिले गरेको निर्णयबारे जानकारी गराएको र सरकार निर्माणका विषयमा सहमति गर्न प्रस्ताव गरेको जनाए ।

प्रवक्ता शर्माले माओवादी केन्द्रले अहिले सरकारलाई विस्थापन गरेर नयाँ सरकार गठन गर्ने विषयमा आफ्नो स्पष्ट धारणा राखेको बताए ।जसपाका तर्फबाट औपचारिक रुपमा प्रस्ताव बल्ल आएको छ । यसबारेमा विधिवत रुपमा निर्णय गर्नका लागि केही समय दिन आग्रह गरेको प्रवक्ता शर्माले बताए ।

उनले भने,‘नयाँ सत्ता समीकरणका विषयमा कुरा गर्दैगर्दा औपचारिक बसेको पहिलो बैठक नयाँ सन्दर्भमा प्रवेश गर्दा बडा हार्दिकतापूर्वक मनोवैज्ञानिक एकताको वातावरण बनेको छ । अब जसपाले बैठक बसेर निर्णय गर्नका लागि समय अपेक्षा गरेका कारणले अर्को बैठक बस्नेगरी सहमतिपूर्वक टुंगिएको छ । जसपाका साथीहरुले उपयुक्त निर्णय लिएपछि नयाँ समीकरण निर्माण गर्ने गरी अघि बढ्छौं ।’

तीन दलीय बैठकमा कांग्रेसका तर्फबाट सभापति देउवासँगै उपसभापति विमलेन्द्र नीधि लगायतक नेताहरु सहभागी थिए । यसैगरी माओवादी केन्द्रका तर्फबाट अध्यक्ष दाहालसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत अन्य नेताहरु सहभागी थिए भने जसपाका तर्फबाट डाक्टर बाबराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेताहरु उपस्थित भएका थिए ।

प्रतिक्रिया