आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अब सिधै काठमाडौं प्रवेश गर्न नपाइने, आजैदेखि लागु हुनेगरी बन्यो यस्तो नयाँ नियम

प्रकाशित
1.1K
SHARES

काठमाडौं । अब सिधै काठमाडाैं उपत्यका प्रवेश गर्न नपाइने भएकाे छ । उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने भएको छ ।

आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्‍यवस्थापन समितिको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

उनका अनुसार अब काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्‍यवस्थापन मिलाउने र सम्पर्क व्‍यक्ति तोक्नु पर्नेछ।

यसका साथै उक्त एन्टीजेन किट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन र यदि एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्‍यक्तिमा लक्षण देखिइ शंकास्पद लागेमा पीसीआर टेस्टको स्वाब संकलन गरी पठाउन समेत समितिले निर्देशन दिएको छ।

यस्तै समितिले सबै नगरपालिकाहरुमा सञ्‍चालित आइशोलेशन केन्द्र र क्वारेन्टाइन सेन्टरहरुलाई अध्यावधिक गर्न र नगरपालिकाहरुलाई आ-आफ्नो नगरपालिका भित्र एक-एक वटा आइशोलेसन /क्वारेन्टाइनको व्‍यवस्थापन गर्न अनुरोध गरेको छ ।

सार्वजनिक स्थानमा गरिने कार्यक्रमहरु स्थगित गर्न र गर्नैपरे कार्यक्रमका लागि नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्‍चालन गर्न समितिले आग्रह गरेको छ।

यसैबीच सोमबार काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण फेरि बढेको छ । सोमबार विहानदेखि घाम लागेको छैन भने काठमाडौंसहित देशका अधिकांश ठाउँमा तुवालो लागेजस्तो भई वातावरण धमिलो देखिएको छ ।

सोमबारको वायु प्रदूषणमा पनि आँखा पिरो हुने समस्या देखिएको छ । अहिले सुदूरपश्चिमको कैलाली र मध्य क्षेत्रको चितवनको वायु प्रदूषण बढी छ । धनगढीमा वायु प्रदूषणको मात्रा ४२९ एक्युआई (एयर क्वालिटी इन्डेक्स) सम्म पुगेको छ । त्यस्तै चितवनको सौराहामा ३०८, भरतपुरमा २८३, सिमरामा २६० एक्यूआई रहेको छ ।

त्यस्तै काठमाडौंको रत्नपार्कमा वायु प्रदूषणको मात्रा २२३ एक्युआई, भैंसेपाटीमा २१६, कीर्तिपुरमा १९७, भक्तपुरमा १९६ एक्युआई रहेको छ । वायु प्रदूषणको मात्रा ५० एक्यूआई भन्दा बढी भएमा खतरा मानिन्छ ।

वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले डढेलोका कारण धनगढी र सौराहाको वायूमा अधिक प्रदूषणको मात्रामा भेटिएको बताए । उनका अनुसार काठमाडौँ उपत्यकाको आकाशमा वायुको गुणस्तर सूचकांक कम हुँदै गएको छ ।

जोशीले भने, ‘काठमाडौँ उपत्यकाको आकाशमा वायुको गुणस्तर सूचकांक क्रमश: कम हुँदै गएको छ। तर कीर्तिपुरमा भने केही बढी देखाएको छ । त्यो जंगलमा लागेको डढेलोको कारण हो । अघिल्लो हप्ता पनि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण बढेको थियो । तर हल्का वर्षा भएपछि मौसम सफा देखिएको थियो ।

मौसम बदली भए पनि अहिले पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । मौसमविद् समीर श्रेष्ठले भने ‘ काठमाडौँ उपत्यकासहित देशभर पानी पर्ने सम्भावना निक्कै कम छ । तर पश्‍चिम पहाडी भेग कर्णाली, गण्डकी र लुम्बिनीमा हल्का वर्षा हुन सक्छ ।’

घर बाहिर ननिस्कन विज्ञकाे सुझाव

काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्न र निस्कनपरे एन–९५ मास्क प्रयोग गर्न समेत अनुरोध गरे । उनले वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले बाहिर ननिस्कन अनुरोध गरे ।

वायु प्रदूषणका कारणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । नेपालमा वर्षेनी वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको मृत्यु हुने गरेको छ । विश्वमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ ।

उनले केही वर्षयता घरभित्रको वायु प्रदूषण कम र घरबाहिरको वायु प्रदूषण बढी हुने गरेको बताए । उनले अत्यावश्यक नभइ सवारीसाधान नचलाउन र सवारीसाधन वा पेशा व्यवसायका कारण हुनसक्ने वायुप्रदूषणका कारणलाई कम गर्न आग्रह गरे ।

बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्दछ । वायुप्रदूषण्का कारणले घरबाहिरको खुला स्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा घर बाहिर जाने गरेको भए पनि नजानसमेत उनले अनुरोध गरे ।

गर्मी बढेसँगै डढेलोका कारण आज बिहानैदेखि उपत्यकासहित देशभरिको वायु प्रदूषण बढेको छ । यसअघि उपत्यकामा यही चैतको १३ गतेदेखि पनि यस्तै किसिमको प्रदूषण भएको थियो । प्रदूषणका कारणले सरकारले यही चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गरेको थियो ।

प्रतिक्रिया