आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भोलिदेखि सबै शिक्षण संस्था बन्द, आकष्मिकरुपमा ओली सरकारले किन गर्यो यस्तो निर्णय ?

प्रकाशित
738
SHARES

काठमाडौं । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीलाई थप जोखिम रहेको भन्दै मङ्गलवारदेखि शुक्रवारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिए ।

बैठकमा मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नुपरेको जानकारी दिए । बैठकमा शिक्षा सचिव रामप्रसाद थपलिया, विज्ञान सचिव डाक्टर सञ्जय शर्मा, मन्त्रालयका प्रवक्ता एवम् सहसचिव दीपक शर्मा, सहसचिव डाक्टर हरि लम्साल, शिक्षा, तथा मानव स्राेत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्याललगायतको उपस्थिति रहेको थियो ।

बैठकअघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए । लगत्तै मन्त्रालयमा भएको बैठकमा मन्त्री श्रेष्ठले लाखौँ विद्यार्थीमा हुन सक्ने स्वास्थ्य प्रतिकूलताका कारण सबै शिक्षण संस्था बन्द गर्नुपरेको बताए ।

शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषत निकै बढेको छ । जल तथा मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धुलो र धुँवा लिएर आएको छ । यसका साथै डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको छ ।

कहिलेदेखि आउछ सुधार ?

विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासि देखिएको तुवाँलो अझै कायम रहने भएको छ । तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

उनका अनुसार पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण प्रदूषणको कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई तुवाँलो देखिएको हो । तुवाँलो हट्नका लागि वायुको वेग बढ्नुका साथै वर्षा हुनुपर्छ । “भोलि अपरान्हपछि पश्चिमी वायु सक्रिय हुने देखिएको छ,” उनले भनिन् ।

यसले हावाको वेग बढ्नुका साथै फाफुटको वर्षाको सम्भावना देखिएकाले मौसम केही सफा हुने बताइएको छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ । दिउँसो प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका एक,दुर्ई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ८ डिग्री र अधिकतम तापक्रम २४ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री र सबै भन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

अत्याधिक प्रदूषणमा क्यान्सरजन्य रसायनसमेत मिसिएको हुने भएकाले यस्तो बेलामा छातीको रोगमात्र नभएर क्यान्सरको जोखिमसमेत हुने छाती रोग विशेषज्ञरुले बताएका छन् । प्रदूषणका कणहरु श्वासप्रश्वास नलीको भित्तामा जम्मा भएमा दीर्घकालीन दमलगायत रोग लाग्नुका साथै क्यान्सरको खतरासम्म हुने छातीरोग विशेषज्ञको भनाइ छ ।

उपत्यकाको प्रदूषणमा गाडीको भूमिका ३० प्रतिशत, पूर्वाधार निर्माणको ५३ प्रतिशत र इँटाभट्टाको नौ प्रतिशत रहने गरेको छ । यस्तै बाँकी आठ प्रतिशत उद्योग–कलकारखाना, फोहोर जलाउँदा, घरभित्रको धुवाँ रहने गरेको वातावरण विभागले जनाएको छ । यसअघि गएको पुसमा पनि प्रदूषण निकै बढेको थियो । त्यसबेला पनि प्रदूषणका कारण मानिसहरुमा विभिन्न स्वास्थ्य समस्या देखिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणको असरबाट जोगिन अपिल गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर काठमाडाैं उपत्यकासहित देशका विभिन्न ठाउँको वायु प्रदूषणको स्तर खतरनाक अवस्थामा पुगेको भन्दै घरबाहिर खुला ठाउँमा नबस्न, नखेल्न र मर्निङवाकमा जाने वा घरबाहिर गएर शारीरिक व्यायाम गर्ने जस्ता काम नगर्न अपिल गरेको हो ।

मन्त्रालयले बालबालिका, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न पनि आग्रह गरेको छ । मन्त्रालयले फोहर नजलाउन पनि अनुरोध गरेको छ । यस्तै घरबाहिर ननिस्कन, निस्कनै पर्ने अवस्था भएमा मास्कको अनिवार्य प्रयोग गर्न र धुलो, धुँवा उड्ने पेसा, व्यवसाय केही दिनलाई रोक्न र अति आवश्यक नभइ गाडी नचलाउन भनेको छ ।

प्रतिक्रिया