आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

एमालेमा आफ्नो जिम्मेवारी खोसिएपछि भीम रावलले गरे माओवादी केन्द्रको पार्टी कार्यालयमा प्रवेश

प्रकाशित
1.1K
SHARES

काठमाडाैं । नेकपा एमालेका नेता भिम रावल नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० को स्थायी कमिटी बैठकमा सहभागी भएका छन् । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा एमाले नेता रावल प्रवेशको केही समयपछि बाहिएका हुन् ।

शनिबार बिहान केन्द्रले राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठक बोलाएको छ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने नेताहरुले बताएका थिए । तर, सरकारलाई दिइएको समर्थन फिर्ता लिनेबारे माओवादी अझै निर्णयमा पुगिसेकेको छैन ।

नेता रावलसँग यसै विषयमा छलफल भएको जनाइएको छ । एमालेमा आन्तरिक विवाद चुलिएका बेला रावलको पेरिसडाडा प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ओलीको कदमले एमाले फुट्न सक्ने आशंका समेत व्यक्त गर्न थालिएको छ । उसो त वामदेव गौतमले ओलीसँग एकता समाप्त भएको घोषणा नै गरिसकेका छन् ।

यता नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ । पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो ।

गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेका छन् ।

बादललाई भने बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ । ओलीतिर लागेका यी मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको छ । बैठकले भोलि एघार बजे केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ । चैत २ गतेका लागि राखिएको राष्ट्रियभेला भने अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरिएको छ ।

हिजो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा महासचिव बाहेक सबै पदाधिकारीलाई हटाएका छन् । आफू निकट नेताहरुको बैठक राखेर ओलीले बाधा अड्काउ फुकाउमार्फत पार्टीको नवौं महाधिवेशनबाट पारित विधान संशोधन गरेका छन् । उमेर हद, कमिटीको संरचनामा संशोधन गर्दै २०७८ मंसिर २देखि ६ गतेसम्म दशौं महाधिवेशन गर्ने निर्णय गरेको छन् ।

बालुवाटारमा बसेको बैठकलाई केन्द्रीय कमिटीको ‘विशेष बैठक’ भनिएको छ, जसमा झलनाथ खनाल र माधवकुमार नेपाल निकट नेताहरुलाई भने बोलाइएको थिएन । बैठकले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेल बाहेकका पदाधिकारीलाई हटाएको छ ।

असार २०७१ मा भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा चुनिएका थिए । उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, महासचिवमा ईश्वर पोरखेल, उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भुसाल तथा सचिवमा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योशेश भट्टराई र गोकर्ण विष्ट चुनिएका थिए । भण्डारी राष्ट्रपति छिन् भने बाँकी पदाधिकारीमा माधवकुमार नेपाल पक्षको बहुमत थियो ।

तर ३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनेपछि ओली र पुष्पकमल दाहाल अध्यक्ष तथा विष्णु पौडेल महासचिव बने । पछिल्लो समय बामदेवलाई उपाध्यक्ष मनोनित गरिएको थियो ।

५ पुसमा प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै नेकपा ओली र प्रचण्ड(माधव समूहमा विभाजित भयो । यसको आधिकारिकता विवाद नटुंगिँदै २३ फागुनमा सर्वोच्चले नेकपा खारेज गर्दै एमाले र माओवादी ब्युँताउने फैसला सुनायो । त्यसको पाँच दिनपछि एमाले अध्यक्ष ओलीले आफू निकट नेताहरुको बैठक राखेर महासचिव ईश्वर पोखरेल बाहेक अरु पदाधिकारी नरहने निर्णय गराएका छन् ।

नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोसियो

अध्यक्ष ओलीले नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका छन् । उनले साबिकको नेकपा विभाजित हुँदा आफ्नो समूहले गरेको अधिकांश नियुक्तिलाई निरन्तरता दिएका छन् ।

प्रदेश १ को इन्चार्जमा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङ, प्रदेश २ बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, कणरली प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर यमलाल कँडेल र सुदूरपश्चिमम प्रदेशको इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।

प्रदेश २ को इन्चार्जमा सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेशको इन्चार्जमा शंकर पोखरेललाई कायमै राखिएको छ । उनीहरु ओली पक्षका नेताहरु हुन् ।

यस्तै स्कुल विभाग प्रमुख आफैंसँग राखेका ओलीले विदेश विभाग प्रमुखमा माधवकुमार नेपाललाई हटाएर आफ्ना परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईलाई ल्याएका छन् । संगठन विभाग प्रमुखमा विष्णु पौडेल, संसदीय विभाग प्रमुखमा सुवासचन्द्र नेम्वाङ, निर्वाचन विभाग प्रमुखमा विष्णु रिमाल र सम्पर्क कमिटी तथा आार्थिक विभाग प्रमुखमा छविलाल विश्वकर्मालाई आएका छन् ।

एमाले अध्यक्ष ओलीले पूर्व माओवादी केन्द्रका २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेका छन् । साबिकको नेकपा दुई खेमामा विभाजित हुँदा बादल समूह ओलीतिर लागेको थियो । सर्वोच्चको फैसलापछि पनि उनीहरु ओलीतिरै छन् ।

केन्द्रीय कमिटीको विशेष बैठक भनिएको यो बैठकको निर्णयलाई ७ चैतमा बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने ओली पक्षीय नेताहरुले बताएका छन् ।

प्रतिक्रिया