आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यो वर्ष कोरोना महामारी अन्त्य नहुने डब्लूएचओको चेतावनी

प्रकाशित
384
SHARES

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले संसारले यो वर्ष कोरोनाको महामारीबाट छुटकारा नपाउने बताएको छ । डब्लूएचओका इमरजेन्सी डाइरेक्टर माइकल रेयाले सोमबार चेतावनी दिँदै भने, ‘यो वर्ष विश्वलाई कोरोनाविरुद्धको लडाईंमा सफलता मिल्नेछ भनेर सोच्नु गलत हुनेछ तर अस्पताल भर्ती हुने बिरामी र मृत्युको सङ्ख्यामा कमी गरेर यस त्रासदीबाट बाहिर भने निस्कन सकिनेछ ।

उनले पछिल्लो हप्ता विश्वभर कोरोनभाइरस संक्रमितको संख्या बढेको बताउँदै यसबाट हामीले सर्तक हुनुपर्ने जिकिर गरे । डब्लूएचओका प्रमुख ट्रेडोस घेब्रेसियसले पछिल्लो हप्ता यूरोप अमेरिका र दक्षिण पूर्वी एसियाका देशहरुमा कोरोनाभाइरस संक्रमणको मामिला बढेको बताए । यस्तो पछिल्लो सात हप्तामा पहिलो पटक देखिएको उनको भनाइ थियो ।

उनले यो निकै निराशाजनक भएको बताए । धेरै देशहरुमा सामाजिक दुरीमाथिको कडाइ कम गर्दै लगिएको कारण यस्तो भएको हुनसक्ने उनको भनाइ छ । ‘मानिसहरु लापरवाह हुँदैछन्, जसले कोरोनाभाइरसको भेरिएन्ट तीव्र गतिमा फैलिँदैछ,’ उनले भने ।

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ११.४९ करोड बढी पुगेको छ । यसमध्ये ९ करोड ६ लाखभन्दा बढी निको भएका छन् । हालसम्म २५ लाख ४९ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

उता, अफ्रिकी राष्ट्रहरुमा कोरोनाविरुद्ध खोप अभियान सुरु भएको छ । डब्लूएचओका अनुसार पश्चिमी अफ्रिकी देश घनालगायत देशमा खोप अभियान सुरु गरिएको छ । गत हप्ता ती देशहरुमा सिरम इन्सिटिट्यूटको खोप पुगेको थियो ।

सोमबार सार्वजनिक तथ्याङ्कअनुसार बेलायतमा कोरोना संक्रमणका कारण दैनिक मृत्यु हुनेको संख्या चार महिनायताकै कम भएको छ । पछिल्लो २४ घन्टामा थप १०४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

दैनिक मृतक संख्याको आधारमा सोमबारको यो तथ्याङ्क चार महिना पछिकै कम भएको अधिकारीहरुले बताएका छन् । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २२ हजार ९५३ पुगेको ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले जानकारी दिएको छ ।

यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ५ हजार ४४५ जना नयाँ संक्रमित थपिएका छन् । दैनिक संक्रमित संख्या पनि विगत केहि महिनायताकै न्यून हो । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा संक्रमितको संख्या ४१ लाख ८२ हजार नाघेको छ ।

हाल यहाँका अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको संख्या पनि घटेर १५ हजारभन्दा तल झरेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार ९७१ छ ।

दुई करोड २ लाख ७५ हजार बढीले लगाए खोप

बेलायतमा हालसम्म पहिलो र दोस्रो गरि दुई करोड १० लाख ९१ हजार २६७ भन्दा डोज भ्याक्सिन वितरण भैसकेको छ । सोमबार सार्वजनिक तथ्याङ्कअनुसार २ करोड २ लाख ७५ हजार ४५१ जनाले पहिलो डोज लिएका छन् । यसैगरी ८ लाख १५ हजार ८१६ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

बेलायत सरकारले विभिन्न प्राथमिकता निर्धारण गरेर खोप वितरण गरिरहेको छ । आउँदो जुलाईसम्म देशभरका सबै वयस्क जनसंख्यालाई खोप दिइसक्ने सरकारको लक्ष्य छ ।

यस्तै भारतमा १ करोड ११ लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ११ हजार ५६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ११ लाख २३ हजार ६१९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५७ हजार २७५ पुगेको हो ।यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ७ लाख ९६ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ६९ हजार ७८६ छ ।

प्रतिक्रिया