आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

दिल्लीमा उपचाररत डा. बाबुराम भट्टराईको स्वास्थ्य अवस्थाबारे अस्पतालबाट आयो यस्तो जानकारी

प्रकाशित
386
SHARES

काठमाडौं । स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली गएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई तत्कालै ट्युमरको शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएका छन् ।

न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यानसर भएको आशङ्कामा डाक्टर भट्टराई चिकित्सकको सल्लाहअनुसार परीक्षणका लागि नयाँ दिल्ली गएका थिए । तर, बायोप्सी परीक्षणका क्रममा क्यान्सर नभको चिकित्सकले निष्कर्ष निकालेको भट्टराईका प्रेस सल्लाहाकार विश्वदीप पाण्डेले जानकारी दिए ।

चिकित्सकले क्यान्सर नभएको निष्कर्ष निकाले पनि ट्युमरलाई भने दुई/तीन महिनाभित्रै शल्यक्रिया गरी फाल्नु पर्ने सुझाएका छन् । तत्कालै शल्यक्रिया नभए क्यानसरको खतरा हुने चिकित्सकको भनाइ छ ।

भट्टराईको फेब्रुअरी २२ देखि दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा परीक्षण तथा डा. प्रोफेसर विक्रम भाटियासँग परामर्श लिइरहेका छन् । परीक्षण सकिएकोले भट्टराई मंगलबार नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्कने प्रेस सल्लाहाकार पाण्डेले जानकारी दिए।

यसैबीच डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्रको रक्षा गरेको बताएका छन् । उपचारका लागि भारतको दिल्लीमा रहेका भट्टराई अदालतको फैसला सुन्दा रोगी हराए जस्तो भएको बताएका छन् ।

‘कस्तो सुखद् संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मन चाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो’ पूर्वप्रधानमन्त्री भट्टराईले ट्विटरमा लेखेको छन्, ‘हिन्दु मिथको भष्मासुरलाई विष्णुले मोहिनी रुप धारण गरेर वध गरे झै सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबुर सुन्दा रोगै हराए झै भयो ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा ५ पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । विघटनको निर्णय विरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दायर भएका थिए ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा पुनर्स्थापना सम्बन्धी सर्वोच्च अदालतको फैसला संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा भएको बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले मंगलबार संसद भंग गर्ने निर्णयलाई बदर गर्ने निर्णय गरे लगत्तै अध्यक्ष यादवले भने, ‘सर्वोच्चको फैसला संविधानवाद र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छ ।’ अदालतको फैसलाले मुलुक ठूलो राजनीतिक दुर्घटनामा जानबाट जोगिएको उनको निष्कर्ष छ ।

त्यस्तै पूर्वसभामुख दमननाथ ढुंगानाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संविधान लिगमा आएको बताएका छन् । संवैधानिक इजलासले मंगलबार संसद विघटन गर्ने निर्णय खारेज लगत्तै उनले भने, ‘यो फैसलाले संविधान लिगमा आएको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्यहिन कारण देखाएर गरेको असंवैधानिक संसद विघटन अदालतले खारेज गर्नु स्वागत योग्य भएको उनको भनाइ छ ।

प्रतिक्रिया