आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

संसद पुर्नस्थापना भएको २४ घण्टापछि ओलीले दिए यस्तो अनौठो प्रतिक्रिया, प्रचण्ड-नेपाल फायर

प्रकाशित
1.2K
SHARES

काठमाडौँ । सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेको २४ घण्टापछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुर्नस्थापनाको फैसला गर्नुलाई सामान्य घटनाको रुपमा लिएको प्रतिक्रिया दिएका छन् ।

सर्वोच्चले मंगलबार प्रतिनिधिसभा पुनः स्थापना गर्ने फैसला गरेपछि खुसियाली मनाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई ‘भाइ’ सम्बोधन गर्दै उनले कटाक्ष पनि गरे ।

बुधबार कृषि मन्त्रालयले सुरुवात गरेको नेपालको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लड्डु खाएर खुशीयाली मनाएका दाहाल र नेपालले के पाउँछन् त्यो आफूले हेर्ने टिप्पणी गरे ।

‘मेरा केही भाइहरुले लड्डु खुवाइ–खुवाइ गरे अरे,’ उनले भने, ‘जित्यौँ हामीले भनेर लड्डु खाएछन्, के जिते मलाई थाहा छैन, लड्डु खाएर के पाउँछन् त्यो चाहिँ मैले हेर्नुछ ।’

प्रधानमन्त्री ओलीले दाहाल–नेपालले भोलि पर्सीदेखि आफ्नो राजीनामा माग्न थाल्छन् कि जस्तो आफूलाई लागेको बताए । उनले भने, ‘राजीनामा देऊ, राजीनामा देऊ’ भनेर ।’

उनले यतापट्टि चिन्ता गर्नु नपर्ने बताए । ‘को मान्छे कतिखेर के दुर्घटनामा परेर मर्न सक्छ भन्दै उनले भने ‘जबसम्म बाँचिन्छ तबसम्म राम्रो काम गर्ने हो । मरेपछि मान्छे न बेइमान हुन सक्छ न इमान्दार,’ ओलीले भने ।

देश विकासको आकांक्षा र संकल्पमा अहिलेसम्म आफूमा कति पनि फरक नभएको ओलीले दाबी गरे । दाहाल–नेपालतर्फ इंगित गर्दै उनले स्वार्थबाट लपेटिएका मान्छेहरुमा यस्ता कुराहरुले धेरै असर गर्ने बताए ।

करीब ३८ मिनेटको सम्बोधनका क्रममा केही मिनेट मात्रै राजनीतिक भाषण गरेका ओलीले सत्ता छाड्नु पर्दा पनि आफू दुखी नहुने संकेत गरे ।शास्त्रका केही हरफ उदृत गर्दै उनले भने, ‘उदाउने खुशीयालीमा पनि सूर्य रातै भएर उदाउँछ, अस्ताउनु परेको दुःखमा पनि मुस्कुराउँदै रातै भएर अस्ताउँछ ।’

बच्चा जन्मिदा रुँदै जन्मने उल्लेख गर्दै उनले भने, ‘शायद सांसारिक दुनियाँमा आएपछि दुःख पाइन्छ कि क्यो हो भनेर रोएको होला । तर मर्दा कोही पनि रुँदैन ।’

यता नेकपा प्रचण्ड–माधव समूहका सांसदहरुलाई राजधानी उपत्यका नछोड्ने निर्देशन दिइएको छ । सिंहदरबारमा बोलाइएको संसदीय दलको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले अत्यावश्यक बाहेकका काममा उपत्यका नछोड्न निर्देशन दिएका हुन् ।

उपत्यका बाहिर जानैपर्ने भए त्यसको जानकारी दिन पनि निर्देशन दिइएको छ । उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि बोलाइएको छ । अनौपचारिक भनिएको बैठकमा ८० जनाको हाराहारीमा प्रतिनिधिसभा सदस्यहरु सहभागी भएका थिए । आजको बैठकमा आइनपुगेका अरु सांसदहरुलाई तत्काल उपत्यका बोलाइएको हो ।

यस्तै प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वयले ओलीतिर रहेका सांसदलाई आफूतिर आउन आह्वान गरेका छन्। उनीहरूले ओली समूहका सांसदलाई मूल धारमा आउन समेत आह्वान गरेका छन्। अध्यक्षद्वयले आफूहरू सरकार बनाउनको लागि भन्दा पनि व्यवस्थाको लागि लडेको बताएको बैठकमा उपस्थित सांसद झपट रावलले बताए।

‘हाम्रो मुख्य उद्धेश्य भनेको कुन सरकार बनाउने, के बनाउने, कसलाई बनाउने भन्दा पनि हामी व्यवस्थाको लागि लडेका थियौं। हाम्रो मुख्य उद्धेश्य भनेको व्यवस्था जोगाउनु हो र व्यवस्था जोगाउनु हो’, अध्ययद्वयको भनाइ उद्धृत गर्दै उनले भने।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रधानमन्त्रीले एकरातमै अहिलेसम्मका उपलब्धिलाई सकाए पनि सर्वोच्चले फैसला गरेको बताए। ‘अहिलेसम्म रहेको उपलब्धिलाई प्रधानमन्त्रीले एकरातमै सकाउनु भयो। तर त्यसलाई सम्मानित सर्वोच्च अदालतले फैसला गरेको छ। हामी फेरि संघर्षको अर्को चरणमा जानुपर्छ’, उनले भने।

यस्तै, अर्का अध्यक्ष माधवकुमार नेपालले ओली प्रवृतिले गर्दा पार्टी अगाडि नबढेको भन्दै पार्टीलाई एकबद्ध बनाएर लानुपर्नेमा जोड दिए। ‘पार्टीलाई एकबद्ध बनाएर लानुपर्छ। ओली प्रवृत्तिले गर्दा पार्टी अगाडि बढ्न सकेको छैन। अब हामीले एकताबद्ध भएर अघि बढ्नु पर्छ’, उनले भने।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला मंगलबार गरेको छ भने र १३ दिनभित्र बैठक राख्न भनेको छ। प्रचण्ड-नेपाल पक्षका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।

मंगलबार संसद् पुनर्स्थाना भएपछि चितवनमा रहेका प्रचण्ड र माधव नेपाल कार्यक्रम नै छोडेर काठमाडौं आएका थिए । काठमाडौ आए लगत्तै दुई अध्यक्षले भेटवार्ता र गतिविधि तीव्र पारेका छन् ।

बुढानीलकण्ठ नै पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रचण्ड र माधव नेपालले भेटेका थिए । यसपछि स्थायी कमिटी बैठक सकेर दलको बैठक बोलाइएको थियो ।

प्रतिक्रिया