आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एकजना पक्राउ

प्रकाशित
140
SHARES

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सर्लाहीको मलंगवा नगरपालिका–३ घर भइ काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला बस्दै आएका ४१ वर्षीय मोहम्मद मेराज मिकरानीलाई १ सय ५० ग्राम बराबरको सुनका तीन थान बालासहित प्रहरीले पक्राउ गरेको हो ।

उनले कतार एयरवेजको उडानमार्फत नेपाल आएका यात्रुले ल्याएको सुन संकलन गरेर लैजान लागेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । कतार एयरवेजबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाएर मिकरानीले सुन लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

त्यस्तै बाँकेनेपालगंज उपमहानगरपालिका–१६ भन्सार चेक प्वाईन्टमा चेकजाँच गर्नेक्रममा १० लाख अवैध भारतीय रूपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भारत दिल्ली जफ्फारावाद बस्ने ५४ वर्षीय मुनवर खानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

भन्सार सुरक्षा गार्ड नेपालगंज र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जमुनाह बाँकेबाट खटिएको संयुक्त सुरक्षा टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आइरहेका खानलाई २ हजार दरका नोट ३ थान र ५ सय दरका नोट १ हजार ९ सय ८८ थान गरी जम्मा १० लाख भारतीय रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका खान उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यस्तै प्रहरीले सिन्धुलीमा कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मरिण गाउँपालिका– ६ प्रतिटोल बस्ने सांगे लामा भन्ने २६ वर्षीय सांगे दोङलाई १ थान कटुवा पेस्तोलसहित आइतबार साँझ पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको टोलीले दोङलाई पक्राउ गरेको हो । प्रहरीलाई देख्नासाथ दोङ भाग्न खोजेको र सोही क्रममा नियन्त्रणमा लिई सोधपुछ गर्दा जंगलमा लुकाइराखेको अवस्थामा पेस्तोल फेला पारिएको प्रहरीको दाबी छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया