आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कुलमान घिसिङले नभई आफैंले लोडसेडिङ हटाएको ओलीको दाबी

प्रकाशित
392
SHARES

काठमाडौं । काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई लोडसेडिङ मुक्त गराउने काम कुलमान घिसिङले नभई आफूले गरेको हास्यास्पद दाबी गरेका छन् । लोडसेडिङ हटाएको जस अरुले लिन खोजे पनि भारतसँग विद्युत खरिद सम्झौता गरेर आफूले लोडसेडिङ हटाएको उनको भनाइ छ ।

ओलीले सोमबार काठमाडौंमा आयोजित उद्योगी तथा व्यावसायीको राष्ट्रिय भेलामा बोल्दै उनले भने, ‘जस विभिन्नले लिन खोजे, मलाई जसको कुरा होइन तर भारतबाट विद्युत ल्याउने सहमति मैले गरेको हुँ ।’ भारतबाट विद्युत किन्ने, देशभित्रै उत्पादन बढाउने चाँजोपाँजो मिलाउने र प्रसारण लाइन सुधार गर्ने लगायतका काम आफूले गरेको ओलीले बताए ।

नेकपा ओली पक्षका अध्यक्ष समेत रहेका उनले आफू पहिलो पटक प्रधानमन्त्री भएको एक हप्ताभित्र झापाबाट अर्को तिहार अँध्यारोमा मनाउनु पर्दैन भनेपछि लोडसेडिङ हटेको उनको जिकिर छ । नेपालका ९० प्रतिशत जनताले विद्युतको प्रयोग गरिरहेको उनको दाबी छ ।

यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र उर्जा मन्त्री टोपबहादुर रायमाझीले पनि देश लोडसेडिङ मुक्त हुनुमा कुलमान घिसिङको कुनै योगदान नभएको बताएका थिए । एकपछि अर्को बिबादास्पद र हास्यास्पद अभिव्यक्ति दिएर पछिल्लोपटक चर्चामा आएका ओलीको लोडसेडिङ हटाउनुमा आफ्नो भूमिका मुख्य रहेको अर्को अभिव्यक्तिले फेरी आलोचनाका पात्र बन्ने देखिएको छ ।

त्यस्तै ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रलाई एक बनाउन र पार्टीहरुभित्र एकता कायम गर्न ताजा जनादेशका लागि चालिएको राजनीतिक कदम भएको बताएका छन् । वर्तमान सरकार गठन भएको तीन वर्ष पूरा भएका अवसरमा सरकारका उपलब्धिबारे जानकारी दिन आज आयोजित प्रेस बिफ्रिङमा उनले ताजा जनादेशको प्रस्ताव अराजकताको अन्त्य र राजनीतिक स्थिरताका लागि भएको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले भने, “संविधानको रक्षा, राष्ट्रिय स्वाधीनता र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा परिपूर्तिको अविचलित यात्राको निरन्तरताका लागि हो । यो कदम हाम्रो लोकतान्त्रिक प्रणालीलाई ‘समीकरण र गठबन्धन’को फोहोरी खेलबाट मुक्त गर्न चालिएको ‘बाध्यात्मक तर आवश्यक’ र अहिलेको लागि ‘अपरिहार्य’ कदम हो ।”

सरकार सञ्चालनका लागि जनतालाई फेरि एकपटक आफूले रुचाएको दलको छनोट गर्ने मौका मिलेको बताउँदै उनले भने, “जनतालाई साक्षी राखी गरिएका कबूलहरु पूरा गर्न सत्तारुढ दलको अध्यक्ष एवं प्रधानमन्त्रीको हैसियतमा म प्रतिबद्ध छु । आगामी निर्वाचनबाट फेरि एकपटक अस्थिरताको खेती गर्न चाहनेहरुको दाउपेच चकनाचूर हुनेछ । मुलुकले स्थिर सरकार र राजनीतिक स्थायित्व प्राप्त गर्नेछ ।”

प्रधानमन्त्री ओलीले निर्वाचन लोकतान्त्रिक प्रणालीको जीवन भएको र लोकतन्त्रमा निर्वाचनले राष्ट्र वा पार्टीहरुलाई विभाजन नगरी एक बनाउने बताउँदै निर्वाचनको घोषणापछि विजय हासिल गर्न, निर्वाचनमार्फत आफ्ना उद्देश्य पूरा गर्न, अझ सुदृढ एकताका साथ अघि बढ्नुपर्नेमा विभिन्न निहुँ र बहाना बनाएर पार्टीलाई नै विभाजित गर्ने प्रयास गर्नु अपराध भएको टिप्पणी गरे ।

आगामी वैशाख १७ गते ४० र वैशाख २७ गते ३७ जिल्लामा निर्वाचनको घोषणा भएअनुुरुप निर्वाचन आयोगले आफ्नो तयारी तीव्रताका साथ गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “हामी अहिले निर्वाचनको क्रममा छौँ । केहीले अझै पनि चुनाव त हुन्छ भन्दै प्रश्न उठाएको सुन्छु । म जोड दिएर भन्न चाहन्छु, चुनाव हुन्छ । स्वच्छ, स्वतन्त्र र निष्पक्ष चुनाव हुन्छ ।”

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा भएरै छाड्ने विश्वास व्यक्त गर्दैै प्रधानमन्त्री ओलीले निर्वाचनमा सक्रियताका साथ सहभागी भई निष्फिक्री आफूले मन पराएको दलका जनप्रतिनिधिलाई चुन्न आमजनतालाई अनुरोधसमेत गरे ।

प्रतिक्रिया