आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडाैंमा समेत हिउँ परेका बेला मौसमसम्बन्धि यस्तो आयो ताजा अपडेट, हेर्नुहोस बिस्तृतमा

प्रकाशित
0.9K
SHARES

काठमाडौँ । पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले मुलुकका विभिन्न भागमा भएको वर्षा र हिमपातपछि मुलुकभरको तापक्रममा गिरावट आएको छ । तापक्रम घट्दा चिसो बढेको अनुभूति भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम १ डिग्री सेल्सियस छ ।

यो शनिबारको भन्दा कम हो । शनिबार बिहानको न्युनतम तापक्रम ७ डिग्री मापन गरिएको थियो । विभिन्न स्थानमा शुक्रबार र शनिबार वर्षा र हिमपात भएपछि मुलुकका अधिकांश स्थानको तापक्रम घटेको छ । तर आजबाट क्रमिकरूपमा मौसम खुल्दै जाने भएकाले अब तापक्रम बढ्दै जाने मौसमविद्को पूर्वानुमान छ ।

शनिबार काठमाडाैंकाे चन्द्रागिरीमा समेत हिमपात भएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान वुलेटिनमा आज पनि पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ तर, तीन दिनसम्म वर्षाको सम्भावना छैन । महाशाखाका अनुसार हाल प्रदेश-१ का पहाडी भेगमा सामान्य वदलीको अवस्था छ । अन्यत्रको मौसम भने सफा रहने पूर्वानुमान गरिएको छ ।

वर्षा र हिमपातको सम्भावना नरहे पनि चिसो अझै रहिरहने तथा तराईका भू-भागमा हुस्सु र कुहिरोको अझै सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन भने महाशाखाले आह्वान गरेको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, माघ २५ गते (आइतबार)

दिउँसो : प्रदेश १ को पहाडी भू-भागमा आंशिक वदली रही वाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। राति : प्रदेश १ को पहाडी भू-भाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ ।

माघ २६ गते (सोमबार)

दिउँसो : सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । राति : सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आँशिक बदली रही वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ २७ गते (मंगलबार)

दिउँसो : सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । राति: सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

गोरखामा भारी हिमपात, जनजीवन प्रभावित

उत्तरी गोरखामा गए रातिदेखि वर्षातसँगै भारी हिमपात भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लाप्राकदेखि माथि अधिकांश क्षेत्रमा गए रातिदेखि वर्षात् र हिमपात शुरु भएको हो । धार्चे गाउँपालिका–४ स्थित लाप्राकको गुप्सीपाखास्थित एकीकृत नमूनावस्ती हिउँले ढाकिएको छ ।

सिर्दीबास, चुम्चेत, छेकम्पार, बिही, ल्हो, प्रोक र सामा गाउँलगायत क्षेत्र हिउँले ढाकिएको स्थानीयवासीले बताएका छन् । हिमपातका कारण यहाँको जनजीवन प्रभावित बनेका छन् । वृद्धवृदा र बालबालिकालाई बढी समस्या भएको साम्दोका स्थानीयवासी दोर्जे लामाले जानकारी दिए ।

उत्तरी गोरखाको अधिकांश क्षेत्रमा पहिले पनि हिमपात भइरहेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) का प्रमुख नरेन्द्र लामाले जानकारी दिए । “लाप्राकदेखि माथि अधिकांश क्षेत्रमा भारी हिमपात भइरहेको छ”, उनले भने, “हिजो अबेरसम्ममा फिलिमपारी रहेको पाङसिङ माथिको डाडाँसम्म हिउँ परेको भन्ने जानकारी आएको छ ।”

हिमपातका कारण उच्च पहाडी भेगका गाउँबस्ती मात्र नभई अग्ला हिमाल, डाँडाकाँडा, वनजङ्गल सेताम्य र मनमोहक देखिएका छन् । मौसममा अझै सुधार नभएकाले फेरी पनि हिमपात हुने सम्भावना देखिएको छ ।

हिमाली जिल्लामा प्रत्येक वर्ष जलवायु परिवर्तनका असर बढ्न थालेको बताइएको छ । आठ दश वर्षअघिसम्म हिउँदको दुई महिनामै सात–आठ पटक हिउँ पर्ने भए पनि अहिले एक पटक पनि मुस्किलले हिँउ पर्ने गरेको स्थानीयवासीको भनाइ छ ।

कृषक उत्साहित

लामो समयपछि परेको हिमपातका कारण उत्तरी गोरखाका कृषक उत्साहित भएका छन् । हिउँले ढपक्क हुनुपर्ने हिउँदकै समयमा वर्षात् र हिमपात नभएर खेतबारीमा लगाएको अन्नबाली सुक्न थालेपछि वर्षभरी कसरी गुजारा गर्ने भनेर कृषक चिन्तित भएका थिए ।

अग्ला गाउँबस्तीमा हिमपात र अली होचा गाउँबस्तीमा वर्षात् भएपछि जिल्लाभरिका कृषक खुशी हुनुका साथै अन्नबालीका लागि सुविकाल शुरु भएको कृषकको भनाइ छ । कृषका अनुसार जिल्लाभरि नै गए रातिदेखि शुरु भएको वर्षात्सँगै भएको हिमपातका कारण आलु, गहुँ, जाँै, उवालगायत अन्नबाली सप्रिनुका साथै उत्पादनमा समेत वृद्धि हुने आशा गरिएको छ ।

रोग हट्ने विश्वास

यसपटक वर्षात्सँगै परेको हिमपातका कारण रोगव्याधि हट्ने विश्वास गरिएको छ । लामोसमय खडेरी पर्दा धुलोका कारण रुघाखोकीका बिरामी बढेकाले यो पटकको वर्षात्ले जमीन भिजेर धुलो हटेको स्थानीवासीको भनाइ छ ।

तीव्र गतिमा हावा चल्ने गाउँबस्तीमा प्रत्येक दिन धुलो उडेर चारैतिर फैलने गरेरकाले मान्छे बिरामी पर्ने गरे पनि अब बाटाघाटामा धुलो नउड्ने र रोगव्याधि पनि हट्ने उनीहरुको विश्वास छ ।

प्रतिक्रिया