आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

‘पूर्वराजा ज्ञानेन्द्र र प्रधानमन्त्री ओली मिलेर नयाँ पार्टी खोल्दैछन्’

प्रकाशित
1K
SHARES

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाह प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको पार्टी बन्ने दाबी गरेका छन् । उनले प्रधानमन्त्रीका सबै कदम त्यतैतिर उन्मुख रहेकोले शाह र ओली अध्यक्ष रहेको पार्टी बने आश्चर्य नहुने पनि बताए।

पूर्वी नवलपरासीको कावासोतीमा शनिबार दिउँसो कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै भट्टराईले भने, ‘प्रधानमन्त्रीको हरेक कदम गणतन्त्र र संघीयता विरोधी छ दुवै जना अध्यक्ष रहेको पार्टी बन्यो भने आश्चर्य हुने छैन ।’ उनले शाह र ओली एउटै पार्टीको अध्यक्ष रहेको पार्टी बन्ने दिन धेरै टाढा नरहेको पनि दाबी गरे।

‘यी दुवै (ज्ञानेन्द्र र ओली) अध्यक्ष रहेको पार्टी बन्छ बन्छ त्यो दिन टाढा छैन’, उनले भने। ओलीको साथमा सर्वोच्च अदालतमा बहस गर्ने वकिलदेखि उनको कदमलाई साथ दिने सबै मण्डले रहेको भट्टराईको आरोप थियो ।

‘मण्डले र गणतन्त्रविरोधी झुण्डमा बसेर उनले संविधानमा व्यवस्थै नभएको धारा भनेर निर्वाचित प्रतिनिधिसभा भंग गरे’, उनले भने, ‘जनअधिकार खोस्ने नालायक र तानाशाहका रुपमा उनी इतिहासमा रहनेछन् ।’ प्रधानमन्त्री ओली नेपालका यसअघिका ४० जना प्रधानमन्त्रीभन्दा नालायक र जनअधिकार खोस्ने तानाशाहका रुपमा उदाएको उनले बताए ।

यता पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संसद विघटनको विरोधमा संयुक्त आन्दोलन गर्न आव्हान गरेका छन् ।

प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै शनिबार धनकुटामा आयोजित विरोधसभामा भट्टराईले सबै दल र नागरिक समाजलाई मतभेद विर्सेर आन्दोलनमा आउन आहृवान गरे ।

‘कांग्रेस, नेकपा माधव-प्रचण्ड पक्ष, जसपा, जनमोर्चा, विवेकशील लगायतका पार्टी, नागरिक समाज सबै मिलेर एउटा आन्दोलनको आँधी बेहरी सिर्जना गर्‍यौं भने एक हप्ताभित्र केपी ओलीले घुँडा टेक्छन्’ उनले भने, ‘ओलीको प्रतिक्रान्ति सच्याउने २०६२/०६३ मा जस्तो १९ दिन आन्दोलन गर्नुपर्दैन ।’

ओलीको प्रतिगामी कदमविरुद्ध सडक संघर्ष नै उपर्युक्त विकल्प भएको उनको भनाइ छ । ‘हाम्रा मतभिन्नता छाडेर सात दिन सडक ठप्प पारौं, यो प्रतिक्रान्ति सुल्टिन्छ, हामी सही ट्रयाकमा जान्छौं’ उनले भने ।

कांग्रेसका तल्लो तहका नेता तथा कार्यकर्ताले ओलीको प्रतिगमनविरुद्ध आवाज उठाएपनि केन्द्रीय नेताहरू अलमलिएको उनको दाबी छ । ‘कांग्रेस नेताहरू आन्दोलनमा नआएर के जोखाना हेरेर बसिराख्नु भएको छ ?’ उनले भने, ‘लोकतन्त्र गयो त सबैथोक गयो, २००७ सालदेखि लोकतन्त्रका लागि लडेको कांग्रेस यस्तो बेलामा चुप लागेर बस्न मिल्छ ?’

पूर्वप्रधानमन्त्री भट्टराईले सडकमा आन्दोलन गरिरहेको नेकपा प्रचण्ड-माधव समुहले ओलीसँग निर्णायक सम्बन्ध विच्छेद नगर्दा जनता सडकमा नआएको बताए । संसद विघटन विरुद्धको आन्दोलन व्यक्तिभन्दा पनि प्रवृत्ति विरुद्धको आन्दोलन भएको उनको भनाइ छ ।

डा. भट्टराईले ओली नेतृत्वको सरकारले कुनै हालतमा निर्वाचन गराउन नसक्ने ठोकुवा गरेका छन् । उनले बलजफ्ती निर्वाचन गरे संविधानको अन्त्य भई मुलुकमा गम्भीर अवस्था आइपर्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध उक्त पार्टीले शनिबार धनकुटामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता भट्टराईले पूर्व राजा महेन्द्रपछि प्रतिक्रान्ति गर्ने पंक्तीमा ओली रहेकोले उनको प्रवृत्तिको विरुद्ध जुट्ने बेला आएको बताए । ओली प्रवृत्तिविरुद्ध जनआन्दोलन भएमा हप्ता दिनभित्र सरकारले घुडा टेक्ने दाबी गरे ।

उनले प्रधानमन्त्री ओलीलाई छोटे राजा भएको व्यंग्य गर्दै चक्रवर्ती बादशाह ओलीले नक्कली राष्ट्रवादको हौवा फिजाउँदै गरेको बताए । भट्टराईले सडकमा रहेको दाहाल-नेपाल नेतृत्वको नेकपा प्रति पनि आशंका व्यक्त गरे । उनले पार्टी एउटै भएको भन्दै सडक आन्दोलन गर्ने दोधारे प्रवृत्तिका कारण सडकमा रहेको नेकपा पनि आफ्नो शंकाको घेरामा रहेको उल्लेख गरे ।

यसैगरी, पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले पनि प्रधानमन्त्री ओली तानाशाही बन्दै गएको भन्दै कटाक्ष गरे । सभालाई पार्टीका केन्द्रीय नेता रकम चेम्जोङलगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया