आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फरार अभियुक्तलाई उपप्रधानमन्त्रीले माला र अबीर लगाएपछि

प्रकाशित
473
SHARES

राजविराज । उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले मंगलबार फरार सूचीमा रहेका एक जनालाई फूलमाला र अबीर लगाइदिएर पार्टीमा भित्र्याएका छन् ।

वि’स्फोटक पदार्थसम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतले १८ महिना कैद सजाय तोकिएका छिन्नमस्ता गाउँपालिका सखडाका रामनारायण यादवलाई पोखरेलले पार्टी प्रवेश गराएका हुन् ।

सो क्रममा सहरी विकासमन्त्री प्रभु साह, कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुली महतोलगायत सहभागी थिए । यादव विगतमा जनतान्त्रिक तराई मुक्ति मोर्चा रणवीर सिंह समूहका अध्यक्ष थिए । उनले आफ्नो भूमिगत नाम ‘रणवीर सिंह’ राखेका थिए ।

जनतान्त्रिकको ज्वाला सिंह समूहबाट अलग्गिएर यादवले छुट्टै समूह गठन गरेका थिए । सप्तरी प्रहरीले उक्त समूहका ‘किसन’ भनिने कमलेश यादवलाई २०६९ मंसिर २६ मा कर्तव्य ज्यान, आगजनी र डाँका मुद्दामा पक्राउ गरेको थियो । रामनारायणसँग मिलेर सुरक्षाकर्मीलाई लक्षित गरी सप्तरीको हनुमाननगर–कुनौली सडक खण्डमा पुलमुनि बम राखेको कमलेशले प्रहरीलाई बयान दिएका थिए । खोजी गर्दा प्रहरीले उनले भनेकै स्थानमा ब’म फेला पारेको थियो ।

सप्तरी प्रहरीले रामनारायणलाई पक्राउ गर्न २०६९ पुस ३ मा इलाका प्रहरी कार्यालय सखडालाई पत्राचार गरेको थियो । ब’म फेला परेपछि प्रहरीले रामनारायण र कमलेशमाथि बि’स्फोटक पदार्थ समबन्धी मुद्दा चलाएको थियो । प्रहरी सहायक निरीक्षक कुशकुमार थापाको जाहेरीले नेपाल सरकार वादी भई जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत सप्तरीमा बि’स्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाहीको मागदाबीसहित २०६९ पुस २२ गते आरोप पत्र दायर भएको थियो ।

उक्त मुद्दामा सप्तरी जिल्ला अदालतका तात्कालीन न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले कमलेश र रामनारायण दुबैलाई जनही एक वर्ष ६ महिना कैद सजायको फैसला गरेको थियो । अदालतले रामनारायणको नाममा म्यादसमेत जारी गरेको थियो । उनीमाथिको म्याद ०७० जेठमा तामेली भए पनि रामनारायण अदालतमा उपस्थित भएनन् ।

कमलेश भने कारागारमै रहेका बेला जिल्ला अदालतको आदेशलाई चुनौती दिँदै उच्च अदालत राजविराजमा पुनरावेदन गरेका थिए । तर पुनरावेदनको पेसी नहुँदै कारागारमै उनको मृत्यु भएको थियो ।

०७५ माघ ९ गते उच्च अदालत राजविराजका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शेखरचन्द्र अर्यालको संयुक्त इजलासले मृत्यु भइसकेका कमलेशको हकमा मिनाहा गर्ने आदेश गरेको थियो । तर रामनारायण भने माथिल्लो अदालतमा अपील पनि नगरेको अवस्थामा जिल्ला अदालतले गरेको १ वर्ष ६ महिना कैद सजाय भुक्तान गर्नुपर्ने अभियुक्तकै रुपमा कायम रहेका छन् ।

तिनै फरारी सूचीमा रहेका रणबीर सिंह भनिने रामनारायण यादवलाई मंगलबर उपप्रधानमन्त्री ओलीले मन्त्रीहरुका बीच पार्टीमा भित्र्याएका हुन् । यादवसँगै तात्कालीन भुमीगत सशस्त्र सम”ह जनतान्त्रिकका अन्य केही कार्यकर्तालाई समेत पोखरेलले मंगलबार पार्टी प्रवेश गराएका छन् । अवधेशकुमार झाले कान्तिपुर दैनिकमा सामचार लेखेका छन् ।

फरारी सूचीमा रहेर मंगलबार नेकपामा प्रवेश गरेका रामनारायण यसअघि सशस्त्र संघर्ष छोडेर अनिल झा नेतृत्वको तात्कालीन नेपाल सद्‌भावना पार्टीमा प्रवेश गरेका थिए । सो पार्टीमा केन्द्रीय उपाध्यक्ष भएका रामनारायण ६ पार्टी एकीकरण भई बनेको राजपा नेपालमा पनि केन्द्रीय उपाध्यक्ष नै थिए ।

राजपा र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीमा समेत उनी केन्द्रीय सदस्य थिए । गत स्थानीय निर्वाचनमा उनकी श्रीमती राजपा नेपालको टिकटबाट छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार भई पराजित भएकी थिइन् ।

अदालतद्वारा कैद सजाय तोकिएका रामनारायणले भने आफूहरु सरकारसित वार्ता गरी शान्तिपूर्ण राजनीतिमा आइसकेकाले सरकारले सहमतिबमोजिम मुद्दा फिर्ता गर्नुपर्ने बताए । ‘दुई पटक सरकारसित वार्ता भयो, मुद्दा फिर्ता लिने सहमति भएको थियो’ रामनारायणले भने,‘सरकारले नै सहमतिको पालना गरेन, हामीमाथिको मुद्दा फिर्ता हुनपर्नेमा उस्तै रह्यो ।’ स्रोतका अनुसार आफूमाथि लागेको मुद्दा फिर्ता गर्ने लोभमा उनी ओली क्याम्पमा प्रवेश गरेका हुन् ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले रामनारायण यादव फरार सूचीमा भए तत्काल पक्राउ गरिने बताए । ‘उनको विषयमा जानकारी लिँदै छु, फरारी सूचीमा भए तत्काल पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छु’ प्रजिअ आचार्यले भने ।

प्रतिक्रिया