आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राष्ट्रपतिलाई पनि कोरोना संक्रमण पुष्टि, के छ स्वास्थ्य अवस्था ?

प्रकाशित
428
SHARES

मेक्सिको सिटी । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुए लोपेज ओब्राडोरलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । तर उनलाई कोभिड–१९ को सामान्य लक्षण मात्र देखिएको छ ।

सामाजिक सञ्जालमा एक सन्देश दिँदै ६७ वर्षीय राष्ट्रपति ओब्राडोरले भनेका छन्, “म कोभिड–१९ बाट संक्रमित भएको छु । मलाई देखिएका लक्षणहरु सामान्य छन् र मैले औषधि उपचार शुरु गरिसकेको छु ।”

बामपन्थी झुकाव राख्ने राष्ट्रपति ओब्राडोरलाई सार्वजनिक कार्यक्रमहरुमा बिरलै मास्कमा देखिन्छ । उनी महामारीको चरम अवस्थाका दिनहरुमा पनि दिनहुँजसो सार्वजनिक कार्यक्रमहरुमा उपस्थित हुने गरेका छन् । उनी देशका विभिन्न भागमा निरन्तर भ्रमण गरिरहेका छन् भने शुक्रबार पनि उत्तर राज्य सान लुइस पोटोसीको भ्रमण गरेका थिए ।

राष्ट्रपति ओब्राडोरलाई सन् २०१३ मा हृदयाघात भएको थियो भने उनलाई हाइपरटेन्सनको समस्या पनि छ । यस्ता रोगहरु भएका व्यक्तिलाई कोभिड–१९ को संक्रमण खतरनाक मानिन्छ । मेक्सिकोमा गत डिसेम्बर २४ देखि खोप अभियान शुरु भइसकेको छ ।

मेक्सिकोले फाइजरले उत्पादन गरेको खोपका अतिरिक्त अस्ट्राजेनिका र अक्सफोर्डले विकास गरेको खोप पनि प्रयोगमा ल्याउने जनाइसकेको छ । मेक्सिकोमा हालसम्म कोरोना संक्रमित झण्डै एक लाख ५० हजारको मृत्यु भइसकेको छ भने १७ लाख ६३ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

यस्तै उता अस्ट्रेलियाली औषधि नियामक निकायले फाइजरले विकास गरेको कोरोनाभाइरस विरुद्धको खोपलाई औपचारिक स्वीकृति प्रदान गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले सोमबार फाइजरको खोप स्वीकृत भएको घोषणा गर्दै आगामी फेब्रुअरीको अन्त्यदेखि खोप लगाउन थालिने सम्भावना रहेको बताए ।

अस्ट्रेलियामा कोभिड–१९ विरुद्धको खोपका लागि थेराप्युटिक गुड्स एड्मिनिस्ट्रेसन (टिजिए) बाट अनुमति प्राप्त गर्ने फाइजर पहिलो कम्पनी हो । प्रधानमन्त्री मरिसनले पत्रकारहरुले सोधको प्रश्नको जवाफ दिँदै अस्ट्रेलियाको नियामक निकायले विस्तृत अध्ययन पश्चात फाइजरको खोपलाई स्वीकृति प्रदान गरेको जानकारी दिए ।

उनले यो खोप अस्थायी र आकस्मिक नभई पूर्ण खोपका रुपमा अस्ट्रेलियाले स्वीकार गरेको पनि बताए । अस्ट्रेलियाले यसअघि नै फाइजरसँग एक करोड डोज खोपका लागि फाइजरसँग अनुबन्ध गरिसकेको छ ।

यसबाट करिब ५० लाख मानिसलाई खोप दिन पर्याप्त हुनेछ । कार्यक्रम अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई खोप दिइने छ । प्रधानमन्त्री मरिसनले आगामी अक्टोबरसम्ममा खोप अभियान पूरा हुने पनि जानकारी दिए ।

भाइरसको प्रकोप देखिनासाथ कडा लकडाउन र सीमाहरु बन्द गरेको अस्ट्रेलियामा तुलनात्मक रुपमा कम संख्यामा मानिस संक्रमित भएका थिए । तैपनि करिब २ करोड ५० लाख जनसंख्या रहेको अस्ट्रेलियामा २९ हजार व्यक्ति संक्रमित भएका छन् । त्यहाँ अहिलेसम्म ९०९ जनाको ज्यान गएको छ ।

अस्ट्रेलियाले अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको ५ करोड भन्दा बढी डोज खोपका लागि आदेश दिइसकेको छ । यो खोपको अधिकांश हिस्सा अस्ट्रेलियामै उत्पादन गरिने भए पनि अस्ट्रेलियाको नियामक निकाय टिजिएले त्यसलाई मान्यता दिइसकेको छैन ।

यस्तै बायोएनटेकले आफूहरूले उत्पादन गरेका खोपको आपूर्ति घटाइरहेका बेला एस्ट्राजेनेकाको यो भनाइले युरोपेली ब्लकमा निराशा छाएको छ । नाम गोप्य राख्ने सर्तमा युरोपेली संघ (ईयू) का एक अधिकारीले खोप आपूर्ति ६० प्रतिशत (करिब ३ करोड १० लाख) डोजसम्म घट्न सक्ने जनाएको बीबीसीले उल्लेख गरेको छ ।

ईयू हेल्थ कमिसनरले उक्त समाचारप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । औषधि उत्पादक कम्पनी एस्ट्राजेनेकाले अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर कोरोनाविरुद्धको खोप विकास गरेको हो । कम्पनीले आगामी मार्चसम्म ईयूका २७ राष्ट्रलाई ८ करोड डोज उपलब्ध गराउनुपर्ने थियो ।

अक्सफोर्ड–एस्ट्राजेनेका खोपलाई ईयू औषधि नियामक निकायले प्रयोगका लागि अझै स्वीकृति दिइसकेको छैन । सम्भवतः यही महिनाको अन्त्यतिर स्वीकृति पाउने कम्पनीको अपेक्षा छ । अस्ट्रियाले एस्ट्राजेनेका खोप मार्च अन्तिमसम्म २० लाख डोज उपलब्ध गराउने वाचाविपरीत जम्मा ६ लाखमात्र आइपुग्ने र बाँकी १४ लाख अप्रिलमा आपूर्ति गर्न लागिएको जनाएको छ ।

अस्ट्रियाका स्वास्थ्यमन्त्री रुडोल्फ एन्ससोबरले यो पूर्णतया अस्वीकार्य भएको बताएका छन् । यसअघि अमेरिकी कम्पनी फाइजरले आफ्नो उत्पादन क्षमता थप वृद्धि गर्न बेल्जियमस्थित प्रोसेसिङ प्लान्टमा काम भइरहेकाले केही साता आपूर्ति कटौती गरिने जनाएको थियो । ईयूले फाइजरसँग ६० करोड डोज अर्डर गरिसकेको छ ।

त्यसैगरी, जर्मनीको बढी जनघनत्व भएको राज्य नर्थ राइन वेस्टफेलिया र इटालीका केही भागमा खोप अभाव भएपछि अभियान प्रभावित भएको छ । इटाली र पोल्यान्डले खोप आपूर्तिमा कटौती भए कानुनी विकल्प खोजिने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ ।

अक्सफोर्ड–एस्ट्राजेनेका खोप प्रयोगमा स्वीकृति दिइने बेला गुनासो गरेको हंगेरीले भने रुसमा निर्मित ‘स्पुतनिक–५’ खोप खरिदको सम्झौता गरेको छ । यद्यपि ‘स्पुतनिक–५’ ले अहिलेसम्म स्वीकृति पाइसकेको छैन ।

युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेलले ईयू नेताहरूसँगको टेलिफोन कुराकानीमा खोप वितरणमा ढिलाइ रोक्न सम्भव भएसम्मका उपाय सोचिइरहेको बताएका छन् । युरोपेली आयोग अध्यक्ष उर्सुला भोन डेर लियन र मिसेलले आउँदो ग्रीष्म ऋतुसम्म ईयूको ७० प्रतिशत जनसंख्यालाई खोप दिइसक्ने लक्ष्य राखिएको बताएका छन् ।

यतिखेर बेलायतसहित युरोपेली मुलुक कोरोना भाइरसको नयाँ प्रजातिले प्रभावित छन् । शुक्रबारमात्र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले नयाँ भाइरस पहिलेको भन्दा निकै खतरनाक भएको बताएका थिए । डाउनिङ स्ट्रिटमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले नयाँ प्रजातिको भाइरस पुरानोभन्दा कम्तीमा पनि ७० प्रतिशत बढी संक्रामक भएको पनि जनाए ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसको नयाँ स्वरूप विश्वका ६० भन्दा बढी देशमा पुष्टि भइसकेको छ । नयाँ प्रजाति सुरु भएको ठानिएको बेलायतले हाल खोप वितरण तीव्र पारेको छ । हालसम्म यहाँ फाइजर–बायोएनटेक र अक्सफोर्ड अस्ट्राजेनेका खोपको पहिलो डोज ६० लाख जनाले लिइसकेका छन् ।

तर, फाइजर–बायोएनटेक खोपको दोस्रो डोज धेरै अन्तरमा दिएको यसको कुनै अर्थ नरहने ब्रिटिस मेडिकल एसोसिएसनले चेतावनी दिएको छ । एसोसिएसनका अध्यक्ष डा. चन्द नागपलले पहिलो र दोस्रो खोपको अन्तर धेरै हुँदा प्रभावकारिता घट्ने बताएका हुन् ।

अहिले पहिलो डोज लिएका मानिसले दोस्रो डोजका लागि झन्डै तीन महिनासम्म कुर्नुपर्ने बताइएको छ । इंग्ल्यान्डका चिफ मेडिकल अफिसर प्राध्यापक क्रिस ह्विटीले सकेसम्म उल्लेख्य जनसंख्यालाई समेट्न दोस्रो डोजमा धेरै अन्तर राखिएको बताएका छन्

प्रतिक्रिया