आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपाल बन्दको पूर्वसन्ध्यामा देशभर मशाल जुलुस, कहाँ-कहाँ भयो विवरणसहित

प्रकाशित
418
SHARES

काठमाडौँ । आफ्नो पार्टीका केन्द्रिय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाको गिरफ्तारी बिरुद्ध नेपाल बन्दको घोषणा गरेको विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले बन्दको पूर्वसन्ध्यामा काठमाडौँसहित देशभर मशाल जुलुस निकालेको छ ।

बाँस्तोलाको गिरफ्तारीविरुद्ध पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गरेर चरणबद्ध संघर्षका कार्यक्रमसहित माघ १० गते नेपाल बन्दको घोषणा गरेका थिए । घोषित कार्यक्रमअनुसार नेकपाका नेता कार्यकर्ताहरुले आज साँझ देशभर मशाल जुलुस निकालेका हुन् ।

काठमाडौँको कोटेश्वर, पेप्शीकोला, किर्तीपुर, शंकरापुर, टोखालगायतका ठाउँहरुमा नेकपाका कार्यकर्ता तथा समर्थकहरुले मशाल जुलुस निकालेको नेकपाले जनाएको छ ।

त्यसैगरी नेकपाका कार्यकर्ताहरुले कैलाली, अछाम, डोटी, कास्की, नपलपरासी, पाल्पा, गुल्मी, रोल्पा, रुकुम, दाङसहित देशभका विभिन्न स्थानमा साँझ मशाल जुलुस निकालेका छन् । उनीहरुले सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका छन् ।

यस्तै उता नेकपा लमजुङले जिल्ला पार्टी सदस्य रवीन्द्र नखोलालाई केपी वली सरकारले शुक्रबार बिहान घरबाटै गिरफ्तार गरेकोमा घोर निन्दा र भत्र्सना गर्दै अविलम्ब रिहाइको माग गरेको छ । वली सरकारले जनताको घरआँगनमा बसेर जनताको सेवा गरिरहेका पार्टी नेता–कार्यकर्तालाई गिरफ्तार गरेकोमा नेकपा लमजुङले आक्रोश ब्यक्त गरेको हो।

वली सरकारले कायरतापूर्वक गिरफ्तार गरेका नेकपा केन्द्रीय समितिका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत सम्पूर्ण नेता–कार्यकर्ताको अविलम्ब, बिनासर्त रिहाइको माग गर्दै भोलि माघ १० गतेका लागि घोषित नेपाल बन्द सफल पार्न पनि नेकपा लमजुङले आह्वान गरेको छ ।

जिल्ला इन्चार्ज आक्रोश र सेक्रेटरी गौरवले विज्ञप्ति जारी गरी विदेशी दलाल बनेका संसद्वादी दलहरू दलाल पुँजीवादी सत्ताको रक्षाका लागि लुछाचुँडी गर्दै र विद्रोही शक्तिप्रति क्रूर बन्दै गएकाले शक्तिशाली प्रतिरोध आवश्यक भएको उल्लेख गरिएको छ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी कैलालीले राज्यको गिरफ्तारी र दमनका विरुद्ध पार्टीको केन्द्रीय कार्यक्रमअनुसार भोलि शनिबारका लागि घोषित नेपाल बन्द कार्यक्रम सफल पार्न जिल्लाबासीलाई अपिल गरेको छ ।

जिल्ला सेक्रेटरी करनले एक विज्ञप्तिमा जारी गर्दै माघ १० गतेको आमहडतालसहित नेपाल बन्दका कार्यक्रममा सम्पूर्ण न्यायप्रेमी जनसमुदाय, उद्योगी, व्यवसायी, बुद्धिजीवी, प्राध्यापक, मानवअधिकारकर्मी, नागरिक समाज, पत्रकार, राष्ट्रसेवक कर्मचारी, शिक्षक, युवा विद्यार्थीलगायत कैलालीबासी आमदाजुभाइ तथा दिदीबहिनीहरूमा विशेष आब्हान गरेका छन् ।

यस्तै नेकपा चितवनले पनि बास्तोलाको गिरफ्तारीविरुद्ध घोषित नेपाल बन्द कार्यक्रम सफल पार्न जिल्लाबासीलाई आह्वान गरेको छ । पार्टीका जिल्ला इन्चार्ज आरम्भले बिहीबार जारी गरेको विज्ञप्तिमा फासिवादी वली सरकारको दमनअभियानविरुद्ध घोषित नेपाल बन्द सफल पार्न चितवनका सम्पूर्ण देशभक्त नागरिकलाई आह्वान गरेका छन् ।

यस्तै नेकपा कपिलवस्तुले बास्तोला, सुदर्शन, वीरजङ, रणवीर, ओमप्रकाश पुन, माइला लामा, आदर्शलगायतका नेता–कार्यकर्तालाई सरकारले कायरतापूर्ण गिरफ्तार गरेको विरोधमा प्रदर्शन गरेको छ । पार्टीले घोषणा गरेको संघर्षको केन्द्रीय कार्यक्रमअनुसार आयोजित विरोध सभाका वक्ताहरूले केपी वली नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकारले नेकपाका नेता–कार्यकर्तामाथि दमन गरेको भन्दै त्यसका विरुद्ध सशक्त प्रतिरोध गर्ने बताएका छन् ।

प्रहरीले बाँस्तोलालाई पुस २९ गते दिउँसो ललितपुर र मकवानपुर सीमा क्षेत्रबाट गि रफ्तार गरेको थियो । त्यसलगत्तै महासचिव विप्लवले विज्ञप्ति निकालेर त्यसको विरोध जनाएका थिए ।

विज्ञप्तिमा नेता कार्यकर्ता गिरफ्तारीले क्रान्तिकारीआन्दोलन रोक्ने सरकारको चेष्टा पूरा नहुने बताएका थिए । माघ ३ गतेदेखि विरोधमा संघर्षका कार्यक्रम घोषणा गरिएको थियो । ललितपुर प्रहरी परिसरमा राखिएका बाँस्तोलामाथि विभिन्न झुट्टा मुद्दा लगाइएको छ ।

प्रतिक्रिया