आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारतको गुजरातमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो, १३ जनाको मृत्यु

प्रकाशित
366
SHARES

काठमाडौँ । भारतको गुजरातमा फुटपाथमा सुतेका मजुरलाई ट्रकले किच्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । गुजरातको कोसाम्बामा ट्रकले किचेर १३ जनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

गम्भीर घाइते भएका ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको आजतकले जनाएको छ । उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको जनाइएको छ ।

यस्तै भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५८० जनामा साइडइफेक्ट देखिएको छ । सात जनाको अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार शनिबार खोप अभियान सुरू भएयता दुई जनाको मृत्यु भएको छ ।

शनिबार कर्नाटक राज्यमा कोरोना खोप लगाएका ४३ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । उत्तर प्रदेशको मुरादाबादमा पनि कोरोना खोप लगाएका ५२ वर्षीय व्यक्तिको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५२ हजार ५९३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५२ हजार ५९३ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ९ हजार ९७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ५ लाख ८२ हजार ६४७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड २ लाख २७ हजार ८५२ जना संक्रमणमुक्त भएका छन् ।

कोरोनाले थप विपत्ति निम्त्याउँने डब्ल्युएचओको चेतावनी

विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले कोरोनाविरुद्धको खोप असमान तवरले वितरण भइरहे थप विपत्ति निम्तिने चेतावनी दिएको छ । डब्ल्युएचओका प्रमुख, डाक्टर टेड्रोस अधानम गेब्रियससले धनी र पहुँच भएका देशका नागरिकले मात्रै खोपमा पहुँच पाउने अवस्थाले थप विपत्ति निम्त्याउने निश्चित रहेको चेतावनी दिएका हुन् ।

गरीब देशका पाको उमेर तथा जोखिम वर्गका मानिसभन्दा धनी देशका युवाहरुले पहिले खोप पाउनु खोपको अनुचित र असमान वितरणको उच्चतम नमूना भएको उनले बताए ।

अहिलेसम्म विश्वका ४९ देशमा तीन करोड ९० लाख डोज खोप दिइएको र ती अधिकांश खोप असमान तवरले वितरण भएकोमा गेब्रियससले चिन्ता जनाएको बीबीसीले जनाएको छ ।

अहिलेसम्म चीन, भारत, रूस, बेलायत र अमेरिकाले कोरोनाविरुद्धको खोप विकास गरिरहेका छन् । यी सबै देशले आफ्नो देशका नागरिकलाई प्राथमिकतामा राखेका छन् । कोरोनाविरुद्धको खोप वितरणमा विश्व विनाशकारी नैतिक असफलताको नजिक रहेको र यसको मूल्य तत्काल गरीब देशले चुकाउनुपर्ने उनले चेतावनी दिए ।

डब्ल्युएचओले यस्तो अवस्थामा खोपको मूल्य बढ्ने, महामारी झन् बढ्ने र प्रतिबन्धहरुमा कारण आर्थिक समस्या डरलाग्दोरूपमा देखिने खतरा उच्च भएको आकलन गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वमा खोपको बाँडफाँड गर्न यसअघि नै कोभ्याक्स कार्यक्रमका लागि प्रतिबद्धता आह्वान गरेको छ । यो कार्यक्रम अर्को महिना सुरु हुनेछ । डब्ल्युएचओले आउँदो अप्रिल ७ तारिखमा विश्व स्वास्थ्य दिवस मनाउँदा सबै देशहरुमा खोप अभियान सुरु हुने अपेक्षा गरेको छ ।

चीनको वुहानबाट सुरू भएको कोरोना भाइरसको संक्रमण हाल विश्वभर नै फैलिसकेको छ । हालसम्म ९ करोड ६० लाख संक्रमित भएका छन् भने २० लाख ४८ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया