आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चित्लाङको शिवालय मन्दिरबाट पाँच मूर्ति चोरी

प्रकाशित
461
SHARES

वीरगञ्ज । मकवानपुरको थाहा नगरपालिका-९ चित्लाङबाट पाँचवटा मूर्ति चोरी भएको छ । तीन गजुर भएको शिवालय मन्दिरबाट चार वटा र सिरानपौवामा रहेको ढुङ्गेधाराबाट एउटा गरी पाँचवटा मूर्ति चोरी भएको हो । पुस २८ गते राति पाँचवटै मुर्ति चोरी भएका हुन् ।

शिवालय मन्दिर चित्लाङस्थित प्रहरी चौकी छेउमै अवस्थित छ । शिवालय थानबाट ढुँगाबाट कुँदिएका भैरव, नारायण, दुर्गा र गणेशको मूर्ति चोरी भएको स्थानीयले बताएका छन् । स्थानीय भक्तजनले २९ गते बिहान नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि मूर्ति चोरी भएको थाहा पाएका थिए ।

बिहान दर्शन गर्न जाँदा मूर्ति नदेखिएपछि चोरी भएको थाहा पाएको स्थानीय राजु लामाले जानकारी दिए । कुन बेला चोरी भएको हो थाहा छैन । बिहान पूजा गर्न जाँदा मूर्तिहरु नदेखिएपछि खोजी गरेका हौं,’ उनले भने, ‘कसले चोरी गरेको हो ? केही थाहा हुन सकेको छैन ।’

त्यस्तै शिरानपौवाको ढुङ्गेधाराबाट हराएको मूर्ति भने गणेशको भएको उनको भनाइ छ । तीन गजुर भएको शिवालय मन्दिर दुर्लभ मानिन्छ । स्थानीयका अनुसार मन्दिर पुरातत्व विभागको सम्पदा सूचीमा सूचिकृत छ ।

मन्दिर जीर्ण अवस्थामा पुगेपछि पुरातत्व विभागले पुनः निर्माण गरेको थियो । पहिले सुनकै गजुर रहेकोमा चोरी भएपछि सुनको जलप भएको गजुर हालिएको थियो । किराँतकालमै तीन गजुर भएको शिवालय निर्माण भएको स्थानीयको दावी छ ।

शिरानपौवाको ढुङ्गेधारामा तीन वटा मुर्ती रहेकोमा मध्य भागमा रहेको गणेशको मूर्ति चोरी भएको हो । ३ फिट अग्लो र २ फिट चौडा मूर्ति १ सय किलोको भएको स्थानीय बुद्धिजीवि बुद्धरत्न मानन्धरले बताए । ‘रिसोर्ट होमस्टेहरुमा आएकाहरुको नाम संकलन गरेर अनुसन्धान गर्न प्रहरीलाई भनेका छौं, हामी पनि वरपर झाडीतिर फालिएको छ कि भनेर खोजी गरिरहेका छौं,’ मानन्धनरले भने, तर फेला परेको छैन ।

यस्तै पशुपति दर्शन गर्न चित्लाङको बाटो हुँदै जाने जोगी सन्त महन्तहरुलाई चामल, चिउरा, दाउरा, सर्वत वितरण गर्ने भएकोले सरावत पौवा पनि भन्ने गरिन्छ ।

तीर्थयात्री पौवामा आराम गर्दा ढुङ्गेधारामा नुहाउने, पानी खाने गर्दथे । केही वर्ष पहिले चित्लाङको सातधाराबाट गणेश, सरस्वती लगायतको पुराना मूर्ति चोरी भएको थियो ।

पुरातात्विक महत्वका ढुंगामा कुँदिएका मूर्तिहरु चोरी हुने गरेपनि चोर पत्ता नलाग्दा घटना त्यसै सेलाउने गरेको छ । एकैपटक पाँचवटा मूर्ति चोरी भएकोले मूर्ति चोरी गर्ने गिरोहकै संलग्नता हुन सक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया