काठमाडौँ । अनिल मण्डलको ८९ रन मद्दतमा त्रिभुवन आर्मीले प्रधानमनत्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई १९६ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले टस जितेर पहिले ब्याटिङ गर्दै ४३.१ ओभर सबै विकेट गुमाएर १९५ रन बनाएको हो ।अनिलले ११४ बल खेल्दा १४ चौका प्रहार गर्दै ५६ रन बाउण्ड्रीबाट मात्रै जोडेका थिए । यस्तै कप्तान विनोद भण्डारीले ४१ रन जोडे । बलिङमा कर्णालीका दिनेश अधिकारी, राज शाह र दिवान पुनले २-२ विकेट लिए । आर्मीले पहिलो खेलमा गण्डकीलाई ९८ रनले पराजित गरेको थियो ।
यस्तै प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत अहिले समूह ‘बी’ मा रहेका नेपाल पुलिस क्लब र बागमती प्रदेश खेलिरहेका छन् । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे पुलिस १११ रनमै अलआउट भयाे । साविक विजेता समेत रहेकाे पुलिसकाे याे लज्जास्पद ब्याटिङ हाे । पीएम कपमा पुलिसकाे याे अहिलेसम्मकै कम स्काेर हाे ।
बागमतीका बलरहरु नन्दन यादव र तिलकराज भण्डारीले उत्कृष्ट बलिङ गरेपछि पुलिस २९.३ ओभर मात्र क्रिजमा टिक्याे । पुलिसका लागि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले समान २१ रन बनाए । यस्तै ओपनर सुनिल धमला र कुशल भुर्तेलले समान १७ रन जाेडे । बाँकी खेलाडीले दाहाेराे अंकमा रन छुन सकेनन् ।
पुलिसलाई अलआउट गर्न बागमतीका नन्दन यादव र तिलकराज भण्डारीले ४-४ विकेट लिए । तिलकले ७.३ ओभरमा १ मेडन राख्दै १७ रन मात्र खर्चेर ४ विकेट लिए । नन्दनले ९ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चेर ४ विकेट लिए । यस्तै रामनरेश गिरीले २ विकेट लिए ।
प्रतिक्रिया