आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सर्वोच्च अदालतभन्दा सर्वोच्च जनताको निर्णय हो- पूर्वसभामुख महरा

प्रकाशित
293
SHARES

काठमाडाैं । पूर्वसभामुख एवं प्रचण्ड–नेपाल समूहको नेकपा स्थायी कमिटी सदस्य कृष्णबहादुर महराले प्रधानमन्त्री केपी ओलीले संविधानमाथि कू गरेको बताएका छन्।

नेकपा जिल्ला कमिटिले शनिबार दाङको तुलसीपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महराले संघर्ष र बलिदानीबाट प्राप्त संविधानमाथि कुठाराघात र ‘कू’ भएको बताएका हुन्।

‘हामीले लामो समयदेखि संघर्ष गर्‍यौं। त्यहीँ संघर्षको उपलब्धि नै संविधान हो,’ महराले भने, ‘त्यो संविधानको रक्षा र बचाउ गर्नु हाम्रो कर्तब्य हो। हामी त्यहीँ अभियानका लागि आज यहाँ आइपुगेका छौं।’

नेकपाको प्रतिवेदन र विधान नै हरेक सदस्यको टेक्ने आधार भएको भन्दै महराले अरू कसले के गर्दै छ त्यसका पछाडि नलाग्न उनले कार्यकर्तालाई निर्देशन दिए। ‘जसले नेपालको संविधान नै ‘कू’ गर्दै छ, उसले हाम्रो विधान र प्रतिवेदन ‘कू’ नगर्ने कुरै हुँदैन,’ महराले भने, ‘त्यस्ताका पछाडि तपाईँहरू नलाग्नुहोस र हाम्रो केन्द्रीय कमिटीले पारित गरेको विधानलाई आधार मानेर अगाडि बढ्नुहोस्।’

नेकपाको विधान अनुसार भूमण्डलीकृत सामन्तवाद विरूद्धमा उत्पीडित राष्ट्रको स्वाधिनताका पक्षमा एक जुट भएर खडा हुनुपर्ने उनले बताए।

राष्ट्रिय स्वाधिनता, समाजवादउन्मुख अर्थतन्त्र निर्माण र परम्परागत ढर्राभन्दा त्यसको परिधिभित्र रहेर तदअनुरूप अर्कौ संसदीय व्यवस्थाको अभ्यास गर्ने कुरा पार्टीको विधानमा उल्लेख रहेको हुँदा त्यहीँ आधारमा अगाडि बढ्नुपर्ने महराको धारणा छ।

‘समाजवाद भनेको मिलिजुली काम गर्ने र बाँडीचुँडी खाने भनेको हो,’ महराले भने, ‘ र अहिलेको व्यवस्था के छ भने मिलिजुली काम गर्ने एक्लै खाने भन्या छ। यसका अन्त्यका लागि हामी लाग्न जरूरी छ।’ समाजवादको चुरो कुरो जनतामा भेटिने भए पनि माथि शासकहरूमा त्यो नभेटिने गरेको उनले तर्क गरे।

‘अहिले हाम्रो पार्टी केपी ओलीको नेतृत्वमा जुन गुट बन्या छ त्यो गूट समाजवाद उन्मुख गुट होइन,’ महराले भने, ‘नवउदारवाद पनि होइन, बरू सबैलाई कजाएर काममा लगाउने र एक्लै खाने खालको प्रवृत्ति हाबी छ।’

अहिले केपी ओलीको गुट सानो चोइटिएको र केन्द्रीय कमिटीको आश्वासन दिएर मानिसहरू खेर्न थालेको महराले बताए। ‘ओलीले बनाएका केन्द्रीय कमिटी सबैलाई आशनग्रहन गरायो भने साध्य नै छैन,’ महराले अगाडि भने । अदालते आफूहरूकै पक्षमा र नेकपा बहुमतकै पक्षमा निर्वाचन आयोगले निर्णय गर्ने उनले दाबी गरे।

‘नेकपा जहाँ बहुमत छ त्यहीँ निर्णय गर्नुपर्छ त्यो भन्दा बाहिर गर्न पाइँदैन,’ महराले भने, ‘मेरो भनाई त अझ अगाडि नै छ , म सर्वोच्च अदालतलाई सम्मान गर्छु, उसले सही निर्णय गर्छ। तर, त्यो भन्दा सर्वोच्च जनता हो, जनताले के निर्णय गर्छन् हामीले त्यसलाई पनि हेर्न जरूरी छ।’

उनले सर्वौपरि अधिकार भएको राज्य सत्ताको आधार भनेको जनता भएकाले जनताको निर्णय सबैभन्दा उच्च हुने तर्क गरे। ‘जनताको मन मस्तिष्कले जे तथ्य र सत्य हुन्छ त्यहीँ नै सत्य हो’, उनले भने।

‘जनताको हरेक मन मस्तिष्कमा तपाईँहरूले प्रतिगमन भयो भनेर भन्नुहोस्,’ मरहाले कार्यकर्तालाई भने, ‘प्रतिगमन भएको छ, निरंकुशतातर्फ गएको छ, तानाशाही पनि बढेर गएको छ र संविधानमाथि ‘कू’ भएको छ।’ प्रतिनिधिसभा विघटन भएको जस्ता कुरा जनताको मन मस्तिष्कमा दह्रो गरी लैजान उनले कार्यकर्तालाई सुझाए।

तीनै कुरा जनतालाई बुझाउन सकेमा त्यहीँ नै जितको आधार हुने उनको तर्क थियो। ‘सर्वोच्च अदालतको आधार पनि यहीँ र निर्वाचन आयोगको आधार पनि यहीँ हो,’ महराले भने, ‘अब के निर्णय गर्छ भनेर दुई मत बनाएर होइन, नेकपा जहाँ छ त्यहीँ दरोसँग उभिनुहोस्।’

जनताको सर्वोच्च शक्तिलाई कम आँक्नेविरूद्ध जाइलाग्न उनको निर्देशन थियो। ‘हामी पनि केही बिग्रिएका छौं,’ उनले भने, ‘हामीले पनि माथिकालाई मात्रै हेर्न तलका जनतालाई नहेर्ने, जनताको सार्वभौंम शक्तिलाई नहेर्न र नदेख्ने कुरा सच्याउनुपर्छ।’

उनले यदि अझैं पनि केपी ओली गुटको बदमासी बढेमा प्रतिगमनविरूद्ध जनताको ठूलो शक्ति सडकमा उत्रन जरूरी रहेको उनले बताए। संवैधानिक ‘कू’ विरूद्ध जति शसक्त ढंगले जनताको शक्ति सडकमा अगाडि बढ्छ त्यति नै जित सुनिश्चित हुने उनले विश्वास व्यक्त गरे।

प्रतिक्रिया