काठमाडौं । प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय मिडियालाई अन्तर्वार्ता दिएका छन् । प्रधानमन्त्रीको अन्तर्वार्ता लिन जी न्यूजका प्रधान सम्पादक सुधीर चौधरीसहितको टोली अहिले काठमाडौंमा छ । प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर चौधरीले अन्तर्वार्ता लिएका छन् । प्रधानमन्त्रीसँगको तस्वीर उनले सामाजिक सञ्जालमा राखेका छन् ।
‘छिमेकी नीतिलाई लिएर अहिले नेपाली प्रधानमन्त्रीको दिमागमा के चलिरहेको छ । भनेर जान्नु महत्वपूर्ण हुनेछ’ सुधीरले सामाजिक संजालमा लेखेका छन्, ‘नेपाल किन भारतसँग ठूल्दाइको जस्तो व्यवहार गर्न चाहँदैन भन्ने विषयमा निकै महत्वपूर्ण कुराकानी भयो ।’
कालापानी र लिम्पियाधुरालाई समेटेर नेपालले चुच्चे नक्सा सार्वजनिक गरेपछि भारतीय संस्थापन निकटको जी न्यूज नेपाली प्रधानमन्त्रीविरुद्ध खनिएको थियो ।
सोही क्रममा चुच्चे नक्साको पक्षमा अभिव्यक्ति दिएकी अभिनेत्री मनिषा कोइरालाका विषयमा चौधरीले विवादास्पद ट्वीट गरेका थिए । उनले नेपाल चीनसँग नजिकिएको आरोप लगाउँदै चौधरीले लेखेका थिए । तर, व्यापक विरोधपछि चौधरीले माफी माग्दै ट्वीट हटाएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनबीच विवादित क्षेत्र गलवानका बारेमा नेपाललाई कुनै लेनादेना नभएको बताएका छन् । भारतीय न्यूज च्यानल ‘जी न्यूज’सँगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले दुई छिमेकी मुलुकबीचको विवादमा नेपाललाई कसैको पक्ष वा विपक्षमा लाग्न जरुरी नरहेको बताए ।
प्रतिक्रिया