आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पौष कृष्ण औँसी अवसरमा गया श्राद्ध गरिँदै

प्रकाशित
656
SHARES

काठमाडौँ । पौष कृष्ण औँसीका दिन गरिने  दर्श एवं दतीर्थ वा गया श्राद्ध विधिपूर्वक गरिँदै छ । दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ ।

यसै आधारमा आज राजधानीको गोकर्ण उत्तरगया, त्रिवेणीधाम, देवघाट, रिडी, नुवाकोट र रसुवाको सङ्गमस्थित वेत्रावती लगायत तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ । गयालगायत तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध पनि भनिन्छ ।

पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका सहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए । सौरमासअनुसार माघे संक्रान्तिदेखि र चान्द्रमासअनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण शुरु हुन्छ ।

उत्तरायण शुरु हुनुअघिको औँसी अर्थात् पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ । वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा गई श्राद्ध गर्नुपर्ने नियम छ । श्राद्ध भनेको श्रद्धा हो ।

शास्त्र अनुसारको व्यवहार कार्यान्वयनमा आएको छैन । महालयमा कसै कसैले सबै पितृलाई पिण्ड दिएपनि छुट्टै ब्राह्मण स्थापना गर्नुपर्ने विधि भने पूरा हुने गरेको छैन । यसरी श्राद्ध गर्दा घरमा नित्य कागलाई भात खुवाएजस्तोमात्र भई विधि नपुगेको धर्मशास्त्रविद्को तर्क छ ।

दक्षिणायनको अन्तिम बिदाइका रुपमा आजको श्राद्ध गर्ने गरिएको हो । दर्शश्राद्ध अर्थात् घरतिरका तीन पुस्ता र मामाघर तिरका तीन पुस्तालाई पिण्ड दिई गरिने श्राद्ध शास्त्रीय रुपमा गर्नुपर्ने दिन पौष कृष्ण औँसी हो । तर व्यवहारमा सोह्रश्राद्धमै यो श्राद्ध गर्न थालिएको सहप्राध्यापक सापकोटा बताउँछन् ।

प्रतिक्रिया