आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

के देउवा प्रधानमन्त्री बन्नै लागेका हुन ? के ओलीसँग गोप्य सहमति भएकै हो ?

प्रकाशित
819
SHARES

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको घोषणा गरेपछि प्रमुख विपक्षी दल नेपाली काँग्रेसले जुनस्तरमा विरोध गर्ने ठानिएको थियो,त्यसो भएन । संसद विघटनबिरुद्ध ओलीइतरका लगभग सबै शक्ति आन्दोलित भइरहँदा मुलुककै पुरानो राजनीतिक दलको प्रभावकारी भूमिका खोज्नु स्वभाविक हो ।

आफूलाई लोकतन्त्र,कानूनी राज्य र विधिको शासनको चर्को वकालत गर्ने काँग्रेस मुलुकमा यति ठूलो राजनैतिक र संवैधानिक संकट गहिरिँदा पनि आन्दोलनको औपचारिक कार्यक्रममा मात्रै सीमित भएको छ ।

अहिले देउवाले ओलीको धेरै विरोध नगर्ने र ओलीले पनि आन्दोलन बढ्दै गएर आफ्नो नेतृत्व सबैका लागि अस्वीकार्य हुने अवस्था आउँदा देउवालाई सत्ता सुम्पने गोप्य सहमति गरिएको हुनसक्छ ।

आखिर काँग्रेस किन सडक संघर्षमा आउन खुट्टा कमाइरहेको छ ? नाम उल्लेख नगर्ने शर्तमा काँग्रेसका एकजना केन्द्रीय नेता भन्छन् ‘हाम्रा सभापति ओलीको आश्वासनमा फस्नुभएको छ ।

त्यसैले उहाँलाई आन्दोलनभन्दा पनि ओलीसँग मिलेर जानेमा रुचि बढेको हो ।’ ती नेताका अनुसार अहिले देउवाले ओलीको धेरै विरोध नगर्ने र ओलीले पनि आन्दोलन बढ्दै गएर आफ्नो नेतृत्व सबैका लागि अस्वीकार्य हुने अवस्था आउँदा देउवालाई सत्ता सुम्पने गोप्य सहमति गरिएको हुनसक्छ ।

‘मसँग यसको प्रमाण त छैन तर घटनाक्रमले शंका गर्नपर्ने अवस्थामा पुर्याइदिएको छ’ उनले भने । त्यसो त नेपाली राजनीतिमा प्रत्यक्ष सरोकार राख्ने दक्षिणी छिमेकका एक कूटनीतिज्ञको भनाइले पनि ओली–देउवाको गठबन्धन बनेको हुनसक्नेतर्फ संकेत गरेको छ ।

नेपालमा सबैलाई मान्य हुने साझा चुनावी सरकार बनाउनुपर्ने उनको धारणाले आशंकालाई ठाउँ दिएको हो । यसलाई कतिपयले दोस्रो खिलराज रेग्मीको पुनरागमनको संकेतका रुपमा अर्थ्याएका छन् ।

उनले भनेका थिए ‘बैशाखमा नगरेपनि मंसिरमा त गर्लान् नि ! ओली र देउवाबीच गोप्य सहमति नै नभएपनि देउवाका सार्वजनिक अभिव्यक्तिले भने उनी तत्काल आन्दोलन चर्काउने मनस्थितिमा नरहेको प्रष्ट छ ।

शनिबार काँग्रेसले प्रदेश निर्वाचन क्षेत्रस्तरीय विरोधसभा गरेको थियो । जसलाई सम्बोधन गर्न हिजो काठमाण्डौको पाँच नम्बर निर्वाचन क्षेत्र पुगेका देउवाले उल्टै चुनावमा जानुपर्ने भन्दै सर्वोच्चको फैसलालाई प्रभावित पार्ने गरी आन्दोलन गर्न नहुने अभिव्यक्ति दिए ।

पार्टीमा रामचन्द्र पौडेल पक्षको जोडबलका कारण काँग्रेस अहिलेको आन्दोलनमा जान बाध्य भएको कुरा काँग्रेसकै नेताहरुले सार्वजनिक रुपमा बताइसकेका छन् । ओली–देउवाबीच गठबन्धन बनेको हुनसक्ने आशंकालाई बल मिल्ने अर्को सन्दर्भ पनि उल्लेखनीय छ ।

काँग्रेसका सबै नेताले संवैधानिक परिषद्को बैठकमा नजान देउवालाई सुझाएका थिए । तर देउवा राती राती लुसुक्क बालुवाटार पुगे । देशको राजनीतिक परिस्थितिमा आएको बदलावका कारण भलै भोलिपल्टै बोलाइएको अर्को बैठकमा भने गएनन् ।

तथापि नियुक्तिको भागबन्डामा ओलीले देउवालाई निरास बनाएनन् । त्यसो भए के चुनावी सरकारको नेतृत्व अब देउवाको पोल्टामा जान्छ त ? चुनाव हुनेमा त काँग्रेसकै नेताहरु पनि विश्वस्त छैनन् । देउवा आफै पनि बैशाखमा निर्वाचन नहुनेमा ढुक्क जस्तै देखिएका छन् ।

एउटा कार्यक्रममा उनले भनेका थिए ‘बैशाखमा नगरेपनि मंसिरमा त गर्लान् नि १’ बैशाखमा चुनाव हुँदैन भन्ने बुझ्दाबुझ्दै पनि आन्दोलनमा जान खुट्टा कमाउनुको देउवाको बाध्यता के त ?

काँग्रेसका एक नेता भन्छन् ‘अदालतले संसद विघटनलाई सदर गर्यो भने पनि बैशाखमा चुनाव हुँदैन,त्यसपछि आन्दोलन चर्किंदै जान्छ । मुलुकमा राजनीतिक अस्थिरताले सीमा नाघ्छ । शक्ति केन्द्रहरुको चलखेल झन बढ्छ । त्यस्तो बेला ओलीको विकल्पका रुपमा सभापतिजीले आफूलाई देख्नुभएको हुनसक्छ । ओलीसँग केही सल्लाह भएको छ कि भन्ने आशंका पनि छ ।’

तर ओलीले त्यति छिट्टै देउवालाई सत्ता सुम्पेलान् भन्नेमा उनलाई रत्तिभर विश्वास छैन । ओलीले आफ्नै पार्टीका नेताहरुलाई धोका दिएको नजिकबाट देखेका उनी राजाबाट पटकपटक धोका खाएका देउवालाई पनि ओलीले बाँकी नराख्नेमा कुनै शंका नभएको भन्छन् ।

‘सहमति गर्ने तर त्यसलाई कार्यान्वयन नगर्ने ओलीको शैली नै हो । हाम्रा सभापति त्यस्तोमा फस्न हुँदैन । फस्नुभयो भने उहाँका लागि मात्र हैन काँग्रेसकै लागि दुर्भाग्य हुन्छ ।’

तर,देउवालाई भने प्रधानमन्त्री बन्न हतार छ । अझ चुनावी सरकारको नेतृत्व पाए त झन् फाइदा । तीन वर्षअघि चुनावताका ज्योतिषीले सात पटकसम्म प्रधानमन्त्री बन्ने योग छ भनेको सायद उहाँलाई झल्झली याद आइरहेको होला । -जनआस्था

प्रतिक्रिया