आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेकपा नेता झलनाथ खनालले भने- ओलीले धनगढीमा पञ्चभेला गरे

प्रकाशित
1.4K
SHARES

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका बरिष्ठ नेता झलनाथ खनालले लोकतन्त्रको रक्षाका लागि संसद पुर्नस्थापना हुनुपर्ने बताएका छन् । उनले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर तानाशाही प्रवृति देखाएको भन्दै त्यसका विरुद्ध सवै जनता संघर्षमा उत्रनुको विकल्प नभएको पनि बताए ।

शनिबार नेकपा सम्पर्क समन्वय कमिटीद्वारा काठमाडौँमा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रममा बरिष्ठ नेता खनालले संसद विघटनपछि उठेको संवैधानिक प्रश्नको जवाफ सर्वोच्च अदालतले दिने भन्दै संसद पुर्नस्थापना भएरै छाड्ने बताएका हुन् । ‘संवैधानिक प्रश्नको जवाफ सर्वोच्चले दिनुपर्छ । व्याख्या गर्नुपर्छ, संसद पुर्नस्थापना हुन्छ, लोकतन्त्रको रक्षाका लागि त्यो गर्नुपर्छ’, खनालको भनाइ छ ।
वरिष्ठ नेता खनालले दल ऐन अनुसार प्रचण्ड–माधव नेतृत्वको नेकपाले बैधानिकता पाउने र सूर्य चिन्ह पनि आफ्नै हुने दावी गरे ।

त्यस्तै केपी ओली र ओली गुट कम्युनिस्ट पार्टीको पिलो भएको भन्दै उक्त पिलो फुटेर गएको पनि खनालको भनाइ छ ।
नेता खनालले ओली पक्षले शुक्रबार कैलालीम गरेको भेलालाई पञ्च भेलाको संज्ञा दिए । ‘धनगढीको पञ्चभेला हो । बस रिजर्भ गरेर, पैसा तिरेर धनगढीमा पञ्चभेला गरियो । जहाँ ५ हजार त प्रहरीमात्रै थिए’, खनालको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेपछि नेकपा विभाजित बन्दै ओली पक्ष र प्रचण्ड माधव पक्षले फरक फरक कार्यक्रम गर्दै आएका छन् । ओली पक्षले आफ्नो कदमको बचाउ गर्दै शक्ति प्रदर्शन गरिहेको छ भने ओलीबाहेकका राजनीतिक दल तथा नागरिक समाजले ओली कदमको विरोधमा कार्यक्रम भइरहेका छन् ।

यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले कुनै पनि पक्षमा नलागी नेकपा एकता राष्ट्रिय अभियानमा संगठित हुन नेकपाका सबै नेता कार्यकर्तामा अपिल गरेका छन् ।

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकका रुपमा शनिबार अपिल जारी गर्दै उनले नेकपाका सम्पूर्ण नेता कार्यकर्तालाई आफू आबद्ध रहेकै ठाउँबाट नेकपाको एकता अभियानका नाममा संगठन खडा गर्न आग्रह गरेका हुन् ।

पार्टी विभाजनमा ढल्केका नेता कार्यकर्तालाई सम्झाउन आग्रह गर्दै उनले कुनै पनि समूहका नेता कार्यकर्तालाई गालीगलौजको शैलीमा विरोध नगर्न पनि अनुरोध गरेका छन् । उनले सबैलाई सम्मान गर्ने कसैलाई पनि अपमान नगर्ने समाजवादी शैली अपनाउन र एकताको सन्देश दिने पर्चा पोष्टर छापेर बाँड्न पनि आह्वान गरेका छन् । “यसो गर्नुभयो भने पार्टी र पार्टीका सबै नेतालाई एकै ठाउँमा ल्याउन सकिनेछ र पार्टीलाई पुनःएकीकरण गर्न सकिनेछ”, उनले भनेका छन् ।

एकअर्कालाई दोष दिँदै, सामान्य मान मर्यादा उल्लंघन गर्दै आफ्ना ऐतिहासिक योगदानलाई च्याँखे थापेर देश र विदेशका कम्युनिष्ट विरोधीलाई हसाउने कार्य तुरुन्त बन्द गर्न आग्रह गर्दै उपाध्यक्ष गौतमले पार्टीभित्रको अन्तरविरोधलाई अन्त्य गरेर पुनर्मिलन गर्न आह्वान गरेका हुन् ।

“हजारौँ शहीदको बलिदानबाट विकसित भएको पार्टीलाई मिलेर पुनर्गठन गरौँ, ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थितरुपमा सञ्चालन गरौँ र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधलाई पार्टी पद्धतिअनुरुप सम्मानजनक ढङ्गबाट हल गरौँ”, गौतमले अपिलमा भनेका छन् ।

पार्टी एकता जोगाउन वा पुनःएकीकरण गर्ने उद्देश्य लिएर आफू केपी शर्मा ओली र पुष्पकमल दाहालको समूहलाई समर्थन नगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको संयोजक बनेर सबैका सामु खडा भएको उनले उल्लेख गरेका छन् ।

उनले पार्टी विभाजनमा सामेल हुने र विभाजनलाई नेतृत्व गर्ने कुनै पनि नेता पुनःएकीकरणको अवस्थामा सामेल नभए लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्ने नेपाली जनताले कहिल्यै माफी नदिने पनि बताएका छन् ।

सरकार सञ्चालनको एउटा कार्यकाल र पार्टी एकीकरणको तीन वर्ष पनि व्यतित नहुँदै नेकपा विभाजनबाट क्षतविक्षत हुने दिशातर्फ अग्रसर हुनु अत्यन्त दुःखद् र पीडादायी भएको उल्लेख गर्दै उपाध्यक्ष गौतमले पदीय जिम्मेवारी र व्यक्तिवादी कार्यशैली, सरकार सञ्चालन, पार्टी र सरकारको सम्बन्ध कस्तो हुने भनेर उत्पन्न अन्तरविरोधको समाधान गर्न नसक्नाका कारण विभाजनउन्मुख हुनु पार्टीका शीर्षस्थ नेताहरुको अयोग्यताको द्योतक हो भनेका छन् ।

प्रतिक्रिया