आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कोभिड-१९ खोप- नियमित काममा जानेलाई पहिलो प्राथमिकता, त्यसपछि कसले पाँउछन् ?

प्रकाशित
1K
SHARES

काठमाडौं । इन्डोननेसियाले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप कार्यक्रम सुरु गर्ने तयारी गरेको छ । इन्डोनेसियाको खोप कार्यक्रमको योजनाअनुसार सबैभन्दा पहिला नियमित काममा जाने उमेर समूहका मानिसहरुलाई कोरोना खोप दिइनेछ ।

जसको सहयोगमा छिटोभन्दा छिटो समुदायमा हर्ड इम्युनिटीको विकास गर्न सकिने र मुलुकको अर्थतन्त्रलाई पुनः लयमा फर्काउन सकिने सरकारको भनाइ छ ।

समग्र जनसंख्याको अधिकांश मानिसमा कोरोनाविरुद्धको प्रतिरोधी क्षमता विकास भएको अवस्थालाई हर्ड इम्युनिटी भनिन्छ । हर्ड इम्युनिटी विकास भएको अवस्थामा समुदायमा संक्रमण नियन्त्रणमा आउँछ भन्ने मान्यता छ ।

इन्डोनेसियाको कोरोना खोप कार्यक्रमको योजना अन्य मुलुकको भन्दा फरक छ । अहिले कोरोना खोप कार्यक्रम सुरु भइसकेका अधिकांश मुलुकमा सबैभन्दा धेरै पाका नागरिकहरु प्राथमिकतामा परेका छन् । किनकी यो उमेर समूहकालाई कोरोनाको जोखिम बढी हुन्छ ।

इन्डोनेसियाका विज्ञहरुले भने सबैभन्दा पहिला फ्रन्टलाइन कर्मचारी र त्यसपछि काममा जाने उमेर समूहका मानिसहरुलाई कोरोना खोप दिइने बताएका हुन् ।

१८-५९ वर्ष उमेर समूहका नागरिकलाई प्राथमिकता किन ?

इन्डोनेसियाले अहिलेसम्म खोप वृद्ध मानिसहरुमा कतिको प्रभावकारी हुन्छ भन्ने जानकारीको लागि पर्याप्त तथ्यांक उपलब्ध नभएको बताएको छ । चीनको सिनोभ्याक बायोटेकको खोपबाट खोप कार्यक्रम सुरु गर्न लागेको इन्डोनेसियामा यो खोपको परीक्षण १८-५९ वर्ष उमेर समूहका मानिसहरुमा गरिएको थियो ।

यद्यपि वृद्ध नागरिकहरुलाई खोपबाट बञ्चित गराउने उद्देश्य भने नरहेको इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य अधिकारीले बताए । इन्डोनेसियाको खोप नियामकको सिफारिसअनुसार वृद्ध उमेरका नागरिकहरुलाई कहिलेबाट खोप दिन सुरु गरिने भन्ने कुराको निर्क्योल गरिनेछ ।

बेलायत र अमेरिकाले अनुमति दिएको फाइजरले बायोएनटेकसँग मिलेर विकास गरेको कोरोना खोप सबै उमेरका मानिसहरुमा प्रभावकारी देखिएको छ । तर, इन्डोनेसियाले अहिले सुरुआतमा केवल चिनियाँ खोपलाई मात्र अनुमति दिएको छ । यो मुलुकले सिनोभ्याकसँग १२ करोड ५५ लाख डोज कोरोना खोपको लागि सम्झौता गरेको छ । जसमध्ये पहिलो खेपमा ३० लाख डोज कोरोना खोप आइसकेको छ ।

इन्डोनेसियामा फाइजरको खोप तेस्रो त्रैमासदेखि आउने अपेक्षा छ भने अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँगको सहकार्यमा विकास गरेको खोप भने दोस्रो त्रैमासमा मात्र आइपुग्ने अपेक्षा छ ।

‘अहिले नै ठोकुवा गरेर यो खोप वितरणको सही तरिका हो भनेर भन्न सकिन्छ जस्तो मलाई लाग्दैन’, अष्ट्रेलियन नेशनल युनिभर्सिटीका पिटर कोलिङननले भने । उनका अनुसार इन्डोनेसियाको यो योजनाले कोरोना संक्रमण नियन्त्रण गर्न सक्ने तर मृत्युदर भने घटाउन नसक्ने बताए ।

कोलिङननका अनुसार इन्डोनेसियाले युरोप र अमेरिकाभन्दा केही फरक गरेर समग्र विश्वलाई देखाउन चाहेको छ । किनकी वास्तवमा कुन सही तरिका हो भन्ने कसैलाई पनि थाहा छैन ।

‘काममा जाने युवाहरु सामान्यतया धेरै सक्रिय, सामाजिक र भ्रमण गर्ने हुन्छन् । त्यसैले यो नीतिले सामुदायिक संक्रमण वृद्ध उमेरका मानिसहरुलाई खोप दिएको स्थानमा भन्दा छिटो नियन्त्रणमा आउँछ’, उनले थपे, ‘कोरोना संक्रमणपछि गम्भीर लक्षण देखिने र मृत्युको जोखिम वृद्ध मानिसहरुमा हुन्छ । त्यसैले वृद्ध मानिसहरुलाई खोप लगाउनुपर्ने पनि अर्को तर्क हो । मचाहिँ दुवै तर्कमा फाइदाजनक देख्छु ।’

यो नीतिले छिटै हर्ड इम्युनिटी विकास गर्न सहयोग गर्ला ?

इन्डोनेसियाको सरकारले सामाजिक र आर्थिक हिसाबले सक्रिय रहने समूहलाई सबैभन्दा पहिला खोप दिने निर्णय गरेको छ । यसले छिट्टै हर्ड इम्युनिटीको विकास हुने अपेक्षा छ ।

इन्डोनेसियाका स्वास्थ्यमन्त्री गुनाडी सडिकिनले इन्डोनेसियामा कोरोनाविरुद्ध हर्ड इम्युनिटी विकास गर्न करिब ६७ प्रतिशत अर्थात् १८ करोड १५ लाख मानिसलाई खोप दिनु जरुरी छ । प्रत्येक मानिसलाई दुई डोज दिँदा र १५ प्रतिशत खेर जान सक्ने खोपलाई गणना गर्दा समग्रमा इन्डोनेसियालाई ४२ करोड ७० लाख डोज कोरोना खोप आवश्यक देखिएको उनको भनाइ छ ।

केही विशेषज्ञहरु भने हर्ड इम्युनिटीको विकास हुनेमा आशंका व्यक्त गर्छन् । उनीहरुका अनुसार खोप लिएका मानिसले भाइरस सार्न सक्दैनन् भन्ने प्रमाणको लागि पर्याप्त तथ्यांक उपलब्ध नरहेको उनीहरुको भनाइ छ । विशेषज्ञहरुले खोप लिएपछि पनि कोरोना संक्रमण सार्न सक्ने सम्भावना हुने भन्दै आशंका व्यक्त गर्दै आएका छन् ।

आर्थिक सुधारमा कत्तिको सहयोग पुग्ला ?

अर्थविदहरुले इन्डोनेसियाले अहिले ल्याएको योजनाअनुसार कोरोना खोपले आर्थिक क्षेत्रमा भने सुधार आउन सक्ने बताएका हुन् । उनीहरुका अनुसार १८ देखि ५९ वर्ष उमेर समूहका मानिसहरुले अन्य उमेर समूहका मानिसहरुको तुलनामा सबैभन्दा धेरै खपत गर्छन् ।

इन्डोनेसियाको अर्थतन्त्रमा पनि आन्तरिक खपतको हिस्सा ५० प्रतिशत छ । त्यसैले युवाहरुलाई प्राथमिकतामा राखेर खोप दिने योजना इन्डोनेसियाको लागि प्रभावकारी हुन सक्छ ।

दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्रको रुपमा रहेको इन्डोनेसियाले कोरोना महामारीको कारण दुई दशकभन्दा लामो समयमा गत वर्ष आर्थिक संकुचनको सामना गरेको थियो । सरकारले गत वर्ष इन्डोनेसियाको अर्थतन्त्र दुई दशमलव २ प्रतिशत संकुचनमा परेको आकलन गरेको छ ।

प्रतिक्रिया