आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मुख्यमन्त्रीद्धय शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङलाई जिम्मेवारीबाट एकसाथ हटाइयो, कारणसहित

प्रकाशित
1.1K
SHARES

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ‘दाहाल-नेपाल’ समूहले गण्डकी प्रदेशका इन्चार्ज पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेललाई जिम्मेवारीबाट एकसाथ हटाएको छ ।

नेकपा ‘दाहाल–नेपाल’ समूहको पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले उनीहरुलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । स्थायी कमिटी बैठकले गण्डकीमा देवेन्द्र पौडेल र लुम्बिनीमा युवराज ज्ञवाली इन्चार्ज तोकेको छ।

यसैगरी बैठकले संसद् विघटनविरुद्धको केन्द्रीय संघर्ष समितिको सह–संयोजकमा पम्फा भुसाल र गणेश शाहलाई चयन गरेको छ । यसअघि संघर्ष समितिको सह–संयोजकमा योगेश भट्टराई मात्रै थिए ।

बैठकले प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध अन्य पार्टीहरूलाई जोडेर संयुक्त संघर्षको पहल जारी राख्ने निर्णय गरेको संघर्ष समितिका संयोजक एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । यो समूहले शनिबार दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।

प्रवक्ता श्रेष्ठका अनुसार सांगठनिक कामलाई सम्पन्न गर्न सुझाव दिनका लागि नेपालको नेतृत्वमा गृहकार्य टिम बनाएको छ । गृहकार्य टिममा अष्टलक्ष्मी शाक्य, गिरिराजमणी पोखरेल, गोकर्ण विष्ट, घनश्याम भुसाल, जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन, भिम रावल, बेदुराम भुसाल, मातृका यादव, लिलामणी पोखरेल, सुरेन्द्र पाण्डे र शक्ति बस्नेत छन् ।

यो टिमले प्रदेश कमिटी, जिल्ला कमिटी, जनवर्गिय संगठनको बारेमा र पार्टी संगठनको एकीकरणको काम सम्पन्न गर्न सुझाव दिनेछ । त्यसका लागि एक हप्ताको समयसीमा तोकिएको छ ।

यस्तै नेकपाका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीको स्थायी कमिटीदेखि केन्द्रीय समितिसम्मकालाई आफैले ठुँगेर ओली अल्पमतमा परेको आरोप लगाएका छन् ।

पूर्वी नवलपरासीको देवचुली १० दलदललेमा सोमवार प्रचण्ड– नेपाल समूहका अगुवा कार्यकर्ताको भेलामा बोल्दै नेता भुसालले ओलीको नजिकमा भएजति सबैलाई ठुँगेर नै उनी एक्लो भएको बताए ।

‘ओलीबिरुद्ध कसैले प्रश्न गरेपछि उसैलाई ठुँग्ने’, भुसालले भने, –‘सबैलाई ठुँगी ठुँगी उहाँ एक्लो हुनुभयो र सचिवालयमा एक्लो हुनुभयो । उहाँले ठुँगेर नै सचिवलायदखि केन्द्रीय समितिमा कमिटीमा उहाँ अल्पमतमा पर्नुभयो ।’

प्रधानमन्त्री ओली पार्टी विधि विधानविपरित भएर चल्न थालेकै कारण अहिलेको विवाद आएको भुसालले दाबी गरे । ओलीलाई बैठकमा आइदिनुस् हजुर भनेर निवेदन हाल्नुपर्ने अवस्था आएको भुसालले बताए ।

‘गएको भदौसम्म ८० दिन बैठक चल्यो होला, त्यसमा ४० दिन उहाँ (ओली)ले आउन्न भन्नुभयो, अरु कमरेडहरुले हस् भन्नुभयो’, भुसालले भने,‘हजुर बैठकमा आइदिनुस् न भनेर निवेदन हाल्नुपर्ने, उहाँलाई बैठकमा ल्याउन पनि महाभारत ।’

उनले कार्यकर्तालाई गुनासो सुनाउँदै कार्यकर्ता ताली बजाएका थिए । प्रचण्डको १९ पेजका प्रतिबेदनको विरुद्धमा ३८ पेजको डकुमेन्ट ल्याउने ओली आफैले फेरि १९ पेजको डकुमेन्ट फिर्ता नगरेसम्म बैठक बस्दिन अड्डी लिने कस्तो राजनीति हो, उनले कार्यकतासँग गुनासो गरे ।

नेता भुसालले अन्तिम समयसम्म पनि सुवास नेम्वाङ र प्रदीप ज्ञवालीले समेत संसद विघटन गर्ने पक्षमा नभएको भुसालले दाबी गरे । मन्त्रिपरिषदमा आफूले विरोध गरेको उनले स्मरण गरे ।

गएको बैशाखमा पार्टी वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत भएपछि पार्टी फुटाउन मिल्ने गरी ओलीले अध्यादेश ल्याएपछि विबाद बाहिर आएको भुसालले स्पष्ट गरे । ‘त्यतिखेरसम्म संसदीय दलमा आफ्नो ४० प्रतिशत छ भन्ने ओलीलाई लागेका थियो,’ भुसालले भने ।

प्रचण्ड– नेपाल समूहका नेता भुसालले ओलीको बाटोमा जाने हो भने देश सत्यानाश हुने बताए । उनले विगतमा भएको बन्द हड्तालको पनि कार्यकर्तालाई स्मरण गराएका थिए । आन्द्रा भुँडी निकालेको बाख्राजस्तो बनाएर राम्रो सिँगारेको जनताको बहुदलीय जनवादलाई पछाडि लगेर कहिँ पनि पुग्न नसकिने भुसालको भनाइ थियो ।

लुम्बिनीको मन्त्रीमण्डल तत्काल हेरफेर हुँदैन,प्रदेश सरकार सुरक्षित छ : प्रवक्ता चौधरी

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेश सरकार सुरक्षित रहेको दाबि गरेका छन् । केन्द्रमा सत्तारुढ दल नेकपाका नेताहरु एकले अर्काेलाइ खुइल्याइ फरकफरक गतिविधि गरिरहेको र प्रदेशका सरकारहरु हल्लीरहेका बेला लुम्बिनी प्रदेश सरकारका पवक्तासमेत रहेका चौधरीले आफुहरु सहभागी सरकार आजका मितिसम्म सुरक्षित रहेको दाबी गरेका हुन् ।

प्रचण्ड माधव समूहका कारण प्रधानमन्त्री केपी ओलीले संसद बिघटन गरेको भन्दै उनले संसद पुनस्र्थापना हुने संभावना नरहेको दाबी गरे । उनले अदालतको निर्णयलाइ मान्ने समेत बताए ।

उनले प्रदेशका सांसदहरुले मुख्यमन्त्रीबिरुद्ध अविश्वासको मत जाहेर नगरेकोले त्यसको कतै पनि तयारी वा असन्तुष्टि नसुनिएकाले प्रदेश सरकार फेरबदल वा मन्त्रीमण्डल फेरबदल तत्काल नहुने दाबी गरेका हुन् ।

रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश बुटवलको साक्षात्कार कार्यक्रममा बोल्दै उनले संस्थापनपक्ष ओलीतिर खुलैर सांसदहरु लाग्नेक्रम शुरु भएको समेत बताए । उनले भने —‘हिजो एमएसजी हाम्रो कित्तामा खुलेरै आउनुभो,अब पूर्व माओबादीका ५देखि७ जना सांसदहरुपनि आउदैछन्’ त्यसैले सरकार अल्पमतमा छैन,सुरक्षित रहेको छ ।’

मन्त्रीको लोभ देखाएर सांसदहरु किनबेच भैरहेको हो ?भन्ने पत्रकारको जिज्ञासामा उनले भने,‘अहिले प्रदेशमा तत्काल मन्त्रीमण्डलमा रहेका साथीहरुलाइ कारबाहि पनि हुदैन,नया नपिने संभावना पनि छैन,यो केन्द्रको निर्देशनमा भर पर्छ ।’

तर प्रदेश सरकारको काम कारबाहि थप प्रभाबकारी बनाउन मन्त्रालय फुटाउन सकिने र मन्त्री थप्न पनि सकिने उनले बताए । प्रदेशसभालाइ सरकारले बिजनेश दिएपछि छ महिना अघिनै बैठक बस्छ,अहिले ४ महिना भएको उनको भनाइ छ । तत्काल प्रदेशसभा बैठक,सरकार स्थायी राजधानी तोकिएको उनले बताए ।

प्रदेशसभालाइ सरकारले बिजनेश दिएपछि छ महिना अघिनै बैठक बस्छ,अहिले ४ महिना भएको उनको भनाइ छ ।तत्काल प्रदेशसभा बैठक,सरकार स्थायी राजधानी तोकिएको दाङमा जाने संभावना नभएको भन्दै मन्त्री चौधरीले उता स्थायी संरचना बनेपछि मात्रै जाने जानकारी दिए । लुम्बिनी प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलका सचेतक निर्मला क्षेत्रीले सरकारले नेपाली जनतालाइ समृद्धिको झुटो नारा देखाएर बेवकुफ बनाइरहेको आरोप लगाइन् ।

उनले नेकपाको लडाइले जनतामाथि धोका भएको भन्दै लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस निर्णयक कदम चाल्न तयार रहेको बताइन् । उनले आवश्यक परे प्रदेशको नेतृत्व लिन आफ्नो पार्टी सक्षम रहेको समेत धारणा राख्दै प्रदेशसभा बैठक तत्काल बोलाउन आग्रह गरिन् ।

जनता समाजबादी पार्टीका संसदीय दलका नेता सहश्राम यादवले सरकार गलत बाटोमा हिडेको भन्दै संसद बिघटन गर्ने ओलीको कदम असंबैधानिक र अलोकतान्त्रीक भएको बताए । उनले प्रदेश सरकार तत्काल फेरबदल नहुने र अविश्वासको मत पनि नआएकाले प्रदेशमा यहि नै हुन्छ भन्ने अवस्था नभएको बताए ।

प्रचण्ड समूह दुईवटा विषयमा सहमत भए अझै पार्टी एकता जोगिन्छः उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले अरु कुनै विकल्प बाँकी नरहेपछि सरकारले बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा बिघटन गरी निर्वाचनमा गएको बताएका छन् । नेकपा सिरहाले सोमबार सिरहाको चोहर्वामा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाका सचिवालय सदस्य समेत रहेका पोखरेलले निर्वाचित प्रधानमन्त्रीलाई षडयन्त्रमुलक ढंगले घेराबन्दीमा पारेर काम गर्न नदिने र मुलुकलाई गम्भीर संकटमा धकेल्ने देखेपछि सरकारले बाध्यात्मक अवस्थामा संसद विघटन गरी जनतामा जाने निर्णय गरेको बताएका हुन् ।

‘जनताको ६४ प्रतिशत मत पाएर निर्वाचित भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हातखुट्टा बाँधेर कामै गर्न नदिने, हरेक कुरामा लेनदेनको कुरा गर्ने, भागवण्डा खोज्ने मात्र काम हुँदै आयो’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘जनताको हितमा, राष्ट्रको हितमा काम गर्न खोज्दा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीविरुद्ध आरोपपत्र तयार पार्ने, संसदमा अविश्वासको प्रस्ताव दत्र्ता गराउने,राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनेजस्ता षडयन्त्र भएको स्पष्ट छ ।’

त्यसैले ती सबै षडयन्त्रहरुलाई चिर्न र मुलुकमा राजनीतिक ‘कू’ लाई रोक्न सरकारले यस्तो निर्णय लिएको उनको कथन थियो । निर्वाचित प्रधानमन्त्रीलाई जनादेशअनुसार ५ वर्ष काम गर्न नदिएपछि ताजा जनादेशमा जाने अधिकार रहेको दाबी गर्दै उनले निर्वाचनले लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने भएकाले निर्वाचनबाट कोही भाग्न नहुने उनको तर्क रहेको छ ।

अवसरवादी हर्कत गर्दै अन्तरविरोधमा खेल्ने र सत्तामा नपुगेको कुण्ठा बोकेका नेताको गठबन्धनका कारण पार्टी एकता भएको ३ वर्ष नपुग्दै विभाजनको अवस्थामा पुगेको उनले बताए । उनले प्रचण्ड माधव समूह दुईवटा विषयमा सहमत भए अझै पार्टी एकता जोगिने उपप्रधानमन्त्री पोखरेलले जिकिर गरे । उलने भने, ‘प्रधानमन्त्रीविरुद्ध तयार पारिएको आरोपपत्र फिर्ता लिने र निर्वाचनमा जान तयार भए अझै पार्टी एकता कायम रहन सक्छ ।’

प्रतिक्रिया