आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बाहिरियो मन्त्री प्रभु शाहको सीसीटीभी फुटेज, पैदलयात्रुलाई ठक्कर दिएर यसरी भागेका रहेछन, भिडियोसहित

प्रकाशित
736
SHARES

काठमाडाैं । सर्लाहीको हरिवनमा शनिबार शहरी विकासमन्त्री प्रभु साह सवार गाडी पैदलयात्रुलाई ठक्कर दिएर फरार भयो । साह सवार ना १ झ ३८४२ नम्बरको झण्डावाल गाडीको ठक्करबाट लालबन्दी घर भएका फुच्चे तामाङ घाइते भएका छन् ।

लालबन्दी–८ चन्द्रपुर बस्ने ३५ वर्षीय तामाङको खुट्टा र कम्मरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता (डिएसपी) मदन कुँवरले बताए । उनका अनुसार मन्त्री साह रौतहटबाट महोत्तरीतर्फ जाँदै गर्दा सो दुर्घटना भएको हो । घाइतेको स्वाभिमान अस्पतालमा उपचार हुँदैछ ।

तर मन्त्री साहको दाबी भने अर्कै छ । उनका अनुसार ती पैदलयात्री ‘झुक्किएर’ लडेका हुन् । ती ‘झुक्किएर’ लडेका ती व्यक्तिलाई केही नभएको सुनिश्चित भएपछि आफूहरु त्यहाँबाट हिँडेको र मिडियाले सो विषयलाई अतिरञ्जित बनाएको उनको दाबी छ । उनले आफ्नो सवारीलाई सुरक्षा दिनु साटो गलत सूचना प्रवाह गरेकोमा प्रहरीको समेत आलोचना गरेका छन् ।

उनले भनेका छन्- ‘आज रौतहटबाट महोत्तरी जाने क्रममा सर्लाहीको हरिवन चौकमा म चढेको गाड़ीबाट झुकिएर लड़ेको व्यक्तिलाई केही पनि नभएकोले ढुक्क भएर हिडेको सामान्य बिषयलाई “ठक्कर दिएर भागे” भनेर मेरो बदनाम गर्ने उद्देश्यले केही अनलाइन मिडियाले अतिरंजित ढंगले प्रचार गर्नु र सर्लाही प्रहरीलाई मेरो यात्राबारे सम्पूर्ण जानकारी हुँदाहुँदै पनि नेपाल प्रहरीले मन्त्री प्रभु साहको गाडी “खुलेको” भन्ने भ्रमपूर्ण वक्तव्य दिन गैरजिम्मेवार रूपमा प्रस्तुत भएको दु:खद विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

सुरक्षा दिनु र सवारी सहजीकरण गर्नुको सट्टा सर्लाही प्रहरीले अफवाह फैलाउने काम गरेको भन्दै उनले आपत्तिजनक समेत जनाएका छन् । ‘सुरक्षा दिनु र सवारी सहजीकरण गर्नुको सट्टा सर्लाही प्रहरीले अफवाह फैलाउने काम गर्नु आपत्तिजनक छ ।’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

यद्यपि, साहले दाबी गरेजस्तै सो घटनामा न उनको गाडीबाट पैदलयात्री ‘झुक्किएर लडेका’ हुन् न त उनलाई केही नभएको हो । दुर्घटनाको सीसीटीभी भिडियोमा हेर्दा पैदलयात्रीलाई मन्त्रीको गाडीले सामान्य ठक्कर मात्र दिएको देखिँदैन । ठक्करपछि ती पैदलयात्री केही टाढासम्म हुत्तिएको प्रष्ट देख्छि । प्रहरीका अनुसार पनि मन्त्रीको गाडीबाट ठक्कर दिएका व्यक्ति घाइते छन् र उनको अस्पतालमा उपचार भएको छ ।

त्यस्तै, मन्त्री साहले आफूहरुले घाइतेको अवस्था बुझेर सामान्य पाएपछि अघि बढेको दाबी गरेका छन् । तर, भिडियोमा दुर्घटनापछि कोही पनि गाडीमा उत्रेर घाइते पैदलयात्रीसँग सोधपुछ गरेको देखिँदैन । बरु भिड जम्मा हुन थालेपछि मन्त्रीको गाडी त्यहाँबाट तीव्र गतिमा भागेको देखिन्छ ।

के भन्छन प्रत्यक्षदर्शी ?

प्रत्यक्षदर्शी हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसका स्ववियु सभापति प्रज्वल ढुंगानाका अनुसार पश्चिमबाट पूर्वतर्फ झण्डा हल्लाउँदै आएको गाडीले ठक्कर दिएको थियो । दुर्घटना लगत्तै घाइतेको उद्धार गर्न लाग्दा जिप भागेको उनले बताए ।

ढुंगानाले राज्यको मन्त्री जस्तो गरिमा पदमा बसेका व्यक्तीले मानवियता समेत नदेखाएको बताए । ‘दुर्घटना नहुने कुरो हैन, तर ठक्कर लागेपछि सामान्य मनिसले पनि मानवियता देखाउनुपर्छ, वहाँ त अहिलेको बहालवाला मन्त्री पर्नु भयो र पनि ठक्कर दिएपछि झन् भाग्नु भयो,’ उनले भने, ‘हामीले तत्काल उद्धार गर्दा घाइतेको अवस्था सामान्य बनेको छ, यसमा मन्त्रीज्युले गल्ती महसुस गर्नुपर्छ ।’

मन्त्री साह गृह जिल्ला रौतहटबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । ठक्कर दिने गाडीको अल्फाबेट देख्न नपाएका प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि मन्त्री साह चढेको गाडी रहेको फेला परेको थियो । प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले मन्त्री साह चढेको जिपले पैदल यात्रुलाई ठक्कर दिएको पुष्टि गरे । ‘मन्त्री ज्यू चढेको जिपले नै ठक्कर दिएको रहेछ, यसबारेमामाथि जाहेर गरिसकेका छौं,’ उनले भने, ‘घाइतेको उपचार भइरहेको छ, उनको अवस्था सामान्य छ ।’

पैदा यात्रुलाई ठक्कर दिएर गएपछि गरे यस्तो भाषण

मन्त्री साहले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनतामाथि विश्वास नरहेको बताएका छन । महोत्तरीको जलेश्वरमा आज आयोजित नेकपा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा मन्त्री साहले प्रचण्डले व्यक्तिगत स्वार्थको कारण संसद् विघटन गराउने अवस्था पैदा गरेको आरोप लगाए ।

उनले प्रधामन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई महाधिवेशनमार्फत पार्टीको अध्यक्ष तथा जनतामार्फत नै देशको प्रधानमन्त्री चुन्न पटक–पटक आग्रह गर्दा नमानेकाले संसद् विघटन गर्नुपरेको जिकिर गरे ।

सोही भेलालाई सम्बोधन गर्दै कानून न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले प्रधानमन्त्री ओलीले देशको संविधानमा व्यवस्था भएअनुसार नै संसद् विघटन गरेका दाबी गरे ।

उनले देशको संविधान, राष्ट्रियता, जनताको हकअधिकार तथा जनादेशको रक्षाका लागि प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको र उनको यस कदमलाई सबैले सकारात्मकरूपमा लिएर सबैलाई चुनावमा जान आग्रह गरे । राष्ट्रियसभा सदस्य सुमन प्याकुरेलले राष्ट्र र राष्ट्रियताका लागि प्रधानमन्त्री ओली नै देशको सर्वोच्च नेता रहेको बताए ।

उनले हिमाल, पहाड र तराईको चौतर्फी विकासका लागि केवल ओलीले नै प्रमुख भूमिका खेलेको र राष्ट्र तथा राष्ट्रियता बचाउनका लागि देशी तथा विदेशी शक्तिसँग लड्ने हिम्मत उनले मात्र देखाएको बताए ।

प्रतिक्रिया