आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री ओलीलाई सभामुख सापकोटाले दिए यस्तो मुखभरिकाे जवाफ

प्रकाशित
877
SHARES

काठमाडौँ । सभामुख अग्नि सापकोटाको सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको खण्डन गरेको छ । सापकोटाले संघीय संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावका सन्दर्भमा यसअघि नै सचिवालयले स्पष्ट पारिसकेकाले अनावश्यक भ्रम उत्पन्न गर्नुको अर्थ नभएको बताएका छन् ।

यही पुस ५ गते ९० जना सांसदले संघीय संसद् सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्तावका सन्दर्भमा आफूलाई समेत जोडेर टिप्पणी गरिएको भन्दै उनले थप स्पष्ट पार्न प्रेस नोट जारी गरिएको उल्लेख गरेका छन ।

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेद्वारा जारी प्रेस नोटमा भनिएको छ, “सभामुखलाई सम्बोधन गरी सचिवालयमा दर्ताका लागि ल्याइएको अविश्वासको प्रस्तावमा सभामुखले दर्ताका लागि लिखित निर्देशन दिनुभएको हो । तत्पश्चातका प्रशासनिक प्रक्रियालाई समेत जोड्दै उहाँलाई विवादमा ल्याउनु वाञ्छनीय छैन ।”

तथ्यहरुलाई एकातिर पन्छाएर सभामुखलाई समेत विवादमा तान्ने प्रयासस्वरूप सिर्जना गरिएको भ्रममा नपर्न प्रेस नोटमा आग्रह गरिएको छ ।अविश्वासको प्रस्ताव दर्ता समयका सम्बन्धमा संसद् सचिवालयका प्रवक्ताद्वारा यही पुस ८ गते प्रेस विज्ञप्तिमार्फत स्पष्ट गरिसकिएको समेत प्रेस नोटमा स्मरण गरिएको छ ।

आफू निकट प्रवासी नेपाली एकता मञ्चका नेता र कार्यकताहरूको कार्यक्रमलाई भर्चुअल माध्यमबाट शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुख सापकोटाले पदीय मर्यादाअनुसार काम नगरेको आरोप लगाएका थिए ।

यस्तै प्रतिनिधिसभा विघटनपछि विभाजन देखिएको सत्तारूढ नेकपाको दाहाल-नेपाल समूहले आज सरकारविरूद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ ।

आन्दोलन परिचालन गर्न गठित प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको समितिले अपराह्न ३ बजे पत्रकार सम्मेलनमार्फत दोस्रो चरणको कार्यक्रम घोषणा गर्ने नेता हिमाल शर्माले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक द्वन्द्वको सजाय जनप्रतिनिधिको थलो प्रतिनिधिसभालाई बनाएर असंवैधानिक काम गरेको भन्दै दाहाल-नेपाल समूह रूष्ट छ ।

सो कदमको अरू दलले पनि विरोध गरेपछि संयुक्त आन्दोलन गर्ने तयारीमा जुटेको दाहाल-नेपाल समूहलाई नेपाली कांग्रेसले तत्कालै संयुक्त आन्दोलनमा साथ नदिने भएपछि दोस्रो चरणको आन्दोलनमा जान लागेको हो ।

प्रतिनिधिसभा विघटन भए शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बनाएर संयुक्त सरकार चलाउने तथा विघटन भए तालमेल गरेर चुनावमा जान ओली-देउवा सहमत भएको सार्वजनिक भएपछि दाहाल-नेपाल समूह संयुक्त आन्दोलनको विकल्पमा पुगेको स्रोतको दाबी छ ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दिने आदेश अनुसारको कदम चाल्ने कांग्रेसको तयारी छ । कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरूङका अनुसार चुनाव भए पनि आन्दोलन भए पनि कांग्रेसले कसैसँग सहकार्य गर्ने छैन ।

‘कांग्रेस अहिले सडकमा छ, अदालतको निर्णय हामीलाई मान्य छ, जस्तो आदेश आए पनि हामी कसैसँग तालमेल नगरी अघि बढ्छौँ चाहे त्यो आन्दोलन होस वा चुनाव,’ गुरूङले भने ।

संयुक्त आन्दोलन नगर्ने कांग्रेसको प्रष्ट संकेतपछि दाहाल-नेपाल समूहले अब जनपरिचालनलाई प्रभावकारी बनाउने गरीका आन्दोलनका कार्यक्रम ल्याउन लागेको जनाइएको छ ।

अबको कार्यक्रममा वडादेखि पालिकासम्म र प्रदेशदेखि केन्द्रसम्म जनपरिचालन हुने गरी घोषणा हुने आन्दोलन परिचालन समितिका एक सदस्यले बताए ।

जनपरिचालन गर्दा चुनाव भइहाले त्यसको लाभ लिन पनि सकिने दाहाल-नेपाल समूहको ठम्याई छ । संसद विघटनसँगै नेकपा विभाजित भएको थियो । वैधानिकतालाई लिएर दुवै पक्ष निर्वाचन आयोगमा पुगेका छन् । आयोगमा आफ्नो आधिकारिकता पुग्ने गरी दुबै समूहले समानन्तर बैठकमार्फत आफू अनुकलका निर्णयहरू गरेका छन् ।

प्रतिक्रिया