आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

विभिन्न जिल्लामा यसरी सुरु हुनेभाे ज्यापु दिवस ,

प्रकाशित
813
SHARES

काठमाडैँ  । विसं २०६८ सालको जनगणनाअनुसार देशका विभिन्न जिल्लामा रहेका नेवारहरूको सङ्ख्या १३ लाख २१ हजार ९३३ छ । यो कुल जनसङ्ख्याको पाँच प्रतिशत हो । नेवारमध्ये पनि ५० प्रतिशतको हाराहारीमा ज्यापु जातिको सङ्ख्या रहेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरलाई मुख्य बस्ती बनाएका यहाँका आदिवासी, मूल रैथाने, आफ्नै संस्कृति, संस्कार र रीतिरिवाजमा जीवनयापन गरिरहेको समुदाय ज्यापु जाति हो । विशेष रूपमा कृषि तथा किसानी कार्य गर्दै आएका ज्यापु जातिभित्र पनि महर्जन, डङ्गोल, प्रजापति, सुवाल, दुवाल, अवाले आदि विभिन्न थर समाविष्ट छन् ।

ज्यापु शब्दको व्युत्पत्ति खोज्दै जाँदा जयस्थिति मल्लकालीन नेपाल संवत् ५०० (अहिले नेपाल संवत् ११४१ चलिरहेको छ) को न्यायविकासिनी ग्रन्थसम्म पुग्न सकिन्छ । यसको पत्र ३९ ख मा ज्यापु शब्दको व्युत्पत्ति जनाउने प्रसङ्ग यसप्रकार पाइन्छ–

ज्यापोमियांतन ज्यापयकोस्यं ज्याजं बिस्यंततोत

आदिन अततोबुं निष्ठयाङ अवंकन ज्याप यंज

माल्व ।। मिसके ज्याजंकास्यंताव मनिस्तरंप मव्यंग्व”

‘ज्या’ (काम) र ‘पो’ (वा ‘पु’) अर्थात् रोप्ने काम गर्ने मानिसलाई ज्याला दिइसकेपछि खेतको राम्रो रोप्ने काम गर्नुप¥यो । मानिसले ज्याला लिएपछि खेतको देखभाल नगर्नु राम्रो होइन । न्यायविकासिनी मा अर्को प्रसङ्गमा ‘ज्यापे’ शब्द क्रियार्थक शब्दको रूपमा प्रयोग भएको पाइन्छ । ‘ज्यापो’ शब्द संज्ञा हो भने आजभोलिको ज्यापु शब्दको आदिशब्द ‘ज्यापोमि’ हो । यसको ‘मि’ प्रत्यय बिलाएर ‘ज्यापो’ वा ‘ज्यापु’ हुनगएको हो । ‘ज्या’ (काम) दिने मालिक, साहु आदिकोमा तोकिएको ज्याला लिई काम गर्नेलाई ज्यापोमि वा ज्यापु भन्ने गरिएको हो । न्यायविकासिनी ग्रन्थमा यिनीहरूको ज्यालासमेत निर्धारण गरिएको छ । ज्याला लिएर काम गर्ने भए पनि यिनीहरू दासदासी वा कमाराकमारीको रूपमा लिइएको छैन ।मल्लराजा जगज्योति मल्ल (नेसं ७३३–७५६) को समय ‘ज्यापोमि’ ‘ज्यापुमि’ हुन गयो । जगज्योति मल्लको एउटा गीतमा ‘ज्यापुमि’ शब्द रहेको छ । काम लिनुपर्दा ज्यापुमि खोजिहिँड्ने र काम सकेपछि ज्याला नदिने भावसहित ज्यापुमि शब्दको प्रयोग सो गीतमा पाइन्छ ।

यसैगरी काठमाडौँका अन्तिम मल्लराजा जयप्रकाश मल्लको एउटा गीतमा पनि ‘ज्यापुमि’ शब्द रहेको छ । सो गीतमा ज्यापुमिहरूले खेत हात नपरेसम्म देउता र धर्म साक्षी राखी अरूको खेतमा काम गर्छन् भनिएको छ ।यसप्रकार मल्लकालमा ज्यापोमि, ज्यापुमिको रूपमा ज्याला लिई काम गर्ने समुदायले राणाकालमा आएर एउटा जातिको आकार लियो । यस जातिभित्र महर्जन, डङ्गोल, सुवाल आदि जातले एकापसमा सामाजिक सम्बन्ध बलियो बनाई शुद्ध ज्यापु जातिभित्र आफूलाई समावेश गरे ।

भाबो र ज्यापु जातिभाबोले किसानी र किसानीसँग सम्बन्धित कार्य गर्ने आम समुदायलाई बुझाउँछ । इतिहासमा ज्यापु शब्दभन्दा धेरै अघि भाबो शब्द देखिएको हो । भाबोलाई नेपालमण्डलका किसानी कार्यमा विकसित जाति ज्यापु भन्ने गरिन्छ । लिच्छविकालपछि सर्वप्रथम नेपाल संवत् २२४, २७२, ३३० का अभिलेखहरूमा भाबो शब्द देखिएको हो । यसप्रकार भाबो जातिका ज्यापुहरू धेरै पहिलेका तथा ज्यापुका अन्य जातभन्दा भाबोका अभिलेख धेरै पाइएको देखिन्छ । अभिलेखहरूको अध्ययनबाट अहिले ललितपुर त्यसवरपरका गाउँहरूमा रहेका ज्यापु जाति विशेषलाई सम्बोधन गर्न ‘भाबो’ शब्दको प्रयोग भएको देखिन्छ ।

ज्यापु दिवसको पृष्ठभूमबर्सेनि मङ्सिर शुक्ल पूर्णिमा (धान्यपूर्णिमा÷योमरि पूर्णिमा)को दिन ज्यापु दिवस मनाउँदै आइरहेको छ । काठमाडौँको प्राचीन ३२ गू टोल (वर्तमान ६३ गू टोल)का ज्यापु जातिले सुरु गरेको ज्यापु दिवस अहिले राष्ट्रिय ज्यापु दिवसको रूपमा देशैभरिका ज्यापुहरूको संयुक्त दिवसको रूपमा मनाउँदै आइरहेको छ । विसं २०६० सालदेखि मनाउँदै आइरहेको यो दिवस यस वर्ष आजको दिन (पुस १५ गते) १७औँ राष्ट्रिय ज्यापु दिवसको रूपमा मनाउँदैछ ।

२०५६ सालको मध्यावधि चुनावमा काठमाडौँ ७ नम्बर क्षेत्रबाट विजयी भएर तीर्थराम डङ्गोल गिरिजाप्रसाद कोइरालाको मन्त्रिमण्डलमा स्वास्थ्य राज्यमन्त्री भए । आफ्नो नासःपूजाको गुठीभित्र वाद्यबाजाहरूको मर्मतको लागिसमेत पैसा उठाउनुपरेको ज्यापुहरूको नाजुक अवस्था मन्त्री डङ्गोलले देखेका थिए । तत्कालीन अर्थमन्त्री महेश आचार्यसँग ज्यापुहरूको नाजुक परिस्थितिलाई मध्यनजर गरी आवश्यक बजेट व्यवस्था हुनुपर्ने सुझाव मन्त्री डङ्गोलले दिए । डङ्गोलको सुझावबमोजिम २०५७ सालको बजेटमा काठमाडौंका ६३ गू टोललाई प्रतिटोल २० हजारको दरले ज्यापुहरूको सम्पदा संरक्षणका लागि १२ लाख ६० हजार दिने घोषणा भयो ।

बजेटमा घोषणा त भयो तर त्यस रकमलाई दाबी कसले गर्ने भन्ने विषयमा फेरि विवाद पनि जन्मियो । त्योबेला काठमाडौँमा ज्यापु समुदायको एउटै मात्र संस्था ‘ज्यापु महागुथि’ सक्रिय थियो भने नेपाली काँग्रेसकै नेपाल किसान सङ्घ पनि ज्यापु जातिका चक्रमान डङ्गोलको अध्यक्षतामा रहेको थियो । नेपाली काँग्रेसकै सरकार रहेको र मन्त्री डङ्गोलको सुझावबमोजिम बजेट निकासा भएकाले चक्रमान डङ्गोल अध्यक्ष रहेको नेपाल किसान सङ्घ, काठमाडौँलाई बजेट दिन आफूले सिफारिस गरेको स्वयं पूर्वमन्त्री तीर्थराम डङ्गोल सम्झन्छन् । चक्रमान डङ्गोलको अथक प्रयासपछि बजेटको रकम हात परेपछि त्यसलाई अक्षयकोषको रूपमा बैङ्कमा राखी त्यसकै ब्याजबाट ज्यापु दिवस मनाउने विचारको जन्म लियो । तर त्यति थोरै रकमको ब्याज अपुग भएपछि दुई–तीन वर्षसम्म सो रकम बैङ्कमा रह्यो । त्यतिबेला चक्रमान र तीर्थराम डङ्गोलले ज्यापु समुदायको नाममा आएको बजेट खाइदियो भन्ने हल्लासमेत चलेको थियो । ज्यापु जातिको नाममा आएको रकम व्यक्तिको नाममा जाने असन्तुष्टि पनि उठेको थियो । यी असन्तुष्टिबीच २०६० सालमा चक्रमान डङ्गोलले ज्यापु दिवसको विचार साकार गर्न ‘ज्यापु संस्कृति विकास कोष’को स्थापना गरी त्यसकै अग्रसरतामा योमरि पूर्णिमाको दिन पहिलो ज्यापु दिवस मनाइयो । पहिलो ज्यापु दिवस काठमाडौँको परोपकार स्कुलमा भएको थियो भने त्यतिबेला बैङ्कमा रहेको १२ लाख ६० हजारको ब्याज ६३ टोलका ज्यापु समुदायमा वितरण गरिएको थियो । ज्यापु जातिको विकास र संवद्र्धनका लागि आएको बजेट ज्यापु समुदायभित्रै खर्चिन थालेपछि बाहिर देखिएका असन्तुष्टिहरू पनि मत्थर हुँदै गए ।

ज्यापु दिवस योमरि पूर्णिमाकै दिन किन मनाउनुप¥यो । यस विषय पनि थुप्रै चर्चा परिचर्चाहरू भएका थिए । ज्यापु संस्कृति विकास कोषका संरक्षकसमेत रहनुभएका पूर्वमन्त्री तीर्थराम डङ्गोलका अनुसार नेपाल कृषिप्रधान देश हो, यहाँको मुख्य बाली धान नै हो । चामलकै पिठोको योमरि बनाइन्छ । कात्तिकमा काटेको धान सुकाएपछि ढुकुटीमा भित्र्याएर अन्न पुज्ने दिन पनि योमरि पूर्णिमाकै दिनमा हो । त्यसैले यस पूर्णिमालाई धान्यपूर्णिमा पनि भनिन्छ । योमरि पूर्णिमा ज्यापु जाति विशेषको पर्व हो । पत्रकार रास जोशीका अनुसार योमरि पूर्णिमा कृषि क्रान्तिको प्रतीक पनि हो । बलभद्र (बलबल) राजाले चलाएको कृषि क्रान्तिलाई जनताले साथ दिएको सम्झनास्वरूप कृषक र अन्नको सम्मान गर्ने दिनको रूपमा यसलाई लिइन्छ । योमरि पूर्णिमाकै दिन अन्नलाई सम्मान गरी नयाँ धान पितृलाई अर्पण गरी किराँती समुदायले यसै दिन उधौली पर्व मनाउँदै आइरहेको छ । त्यसैले योमरि पूर्णिमा ज्यापु, किसानी र अन्नसँग सम्बन्धित विशेष पर्व भएकोले यसै दिन ज्यापु दिवस मनाइएको हो ।

सुरुमा ज्यापु दिवस कहिले परोपकार स्कुलमा तथा कहिले एकेडेमा त कहिले पर्यटन बोर्डमा ज्यापु टोलका थकाली, गुरु र संयोजकहरूको सम्मान गरी, तीन वर्षको एकपटक ब्याज वितरण गरी मनाउँदै आएको थियो । २०६२–६३ को जनआन्दोलनको सफलतापछि गठित गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारसामु चक्रमान डङ्गोलले ज्यापु दिवसलाई ‘राष्ट्रिय ज्यापु दिवस’को रूपमा बिदा दिइनुपर्ने माग राख्नुभयो । धान्य पूर्णिमा, योमरि पूर्णिमा र उधौली पर्वको रूपमा बिदा दिइँदै आएकोमा राष्ट्रिय ज्यापु दिवस भनेर बिदा तोक्न सरकारसमक्ष डङ्गोलले माग राखे । यस मागको सम्बन्धमा पूर्वमन्त्री तीर्थराम डङ्गोलले गृहमन्त्रालय पुगी कृष्णप्रसाद सिटौलासमक्ष प्रस्ताव दर्ता गरे । प्रस्ताव दर्ता भएको १५ दिन नपुग्दै मन्त्रिमण्डलको बैठकबाट ज्यापु दिवसलाई सरकारी मान्यता दिएर त्यसको बिदा दिने निर्णय भयो । सो निर्णय गजेटमा पनि प्रकाशित भयो । यसप्रकार विसं २०६५ सालबाट राष्ट्रिय ज्यापु दिवसले सरकारी मान्यता पनि पायो । राष्ट्रिय ज्यापु दिवस घोषणा भइसकेपछि यसलाई अब जनतामाझ लगी भव्य रूपमा मनाउने योजनाअनुरूप त्यो वर्ष काठमाडौँको मखन टोलले जिम्मेवारी लियो । मखन टोलका अध्यक्ष मङ्गल सिंहको नेतृत्वमा जनमानसमा गएर, सांस्कृतिक झाँकीसहित राष्ट्रिय ज्यापु दिवस भव्य रूपमा मनाइयो । यस दिन भएको विशेष कार्यक्रममा संविधानसभा अध्यक्ष सुभाषचन्द्र नेम्वाङ प्रमुख अतिथिको रूपमा आएका थिए ।

ज्यापु दिवसको अवसरमा ज्यापु समुदायका प्रतिभाहरूलाई पुरस्कृत पनि गर्दै आइरहेको छ । सङ्गीत, नृत्य, शिक्षा, कलाकारिता, खेलकुद, पत्रकारिता आदि विविध १० क्षेत्रका उत्कृष्ट ज्यापुहरूलाई ज्यापु दिवसको अवसरमा १० हजार नगद पुरस्कारसहित सम्मान गरिँदै आएको छ । पुरस्कारका लागि दिँदै आएको यो रकम पनि ज्यापु समुदायकै प्रतिष्ठित साहु महाजनबाट प्रायोजन हुँदै आएको छ ।

वर्तमान समय मखन टोलका नायः मङ्गल सिंह राष्ट्रिय ज्यापु दिवस समारोह समितिका अध्यक्ष हुनुहुन्छ । १२ लाख ६० हजारबाट सुरु भएको अक्षयकोष अहिले १ करोड पुग्नलागेको छ । अहिले ज्यापु समुदायलाई योगदान दिने ज्यापु समुदाय बाहिरकालाई समेत ‘ज्यापु प्रज्ञा पुरस्कार’बाट सम्मान गर्दै आइरहेको छ ।

ज्यापु समुदायको भविष्य उत्थानमा अग्रसर रही राष्ट्रिय ज्यापु दिवस अहिले काठमाडौँमा मात्र सीमित नरही देशैभरका ज्यापु समुदायलाई समेटेर अघि बढ्न कार्यपत्र तयार हुँदै गरेको जानकारी पनि पूर्वमन्त्री तीर्थराम डङ्गोलले दिनुभएको छ ।

निष्कर्ष ज्यापु जाति नेपालमण्डलका आदिवासी जाति हो । ज्याला लिई किसानी कार्य गर्ने ज्यापु जातिलाई भाबो, ज्योपोमि, ज्यापुमि सम्बोधन गरेको पाइन्छ । काठमाडौँको ६३ टोलका ज्यापु जातिलाई आएको बजेटको अक्षयकोष राखी त्यसकै ब्याजबाट योमरि पूर्णिमाको दिन ज्यापु दिवस मनाउँदै आएकोमा अहिले सरकारले मान्यता दिई राष्ट्रिय ज्यापु दिवसको अवसरमा बिदा समेत दिइसकेको छ । १२ लाख ६० हजारको अक्षयकोष एक करोड पुग्न लागेको छ । ज्यापु जाति, उनीहरूको संस्कृति, सम्पदा देशकै गौरव हो भने ज्यापु दिवस त्यसलाई जनमानससम्म पु¥याई ज्यापु समुदायको गौरव, प्रतिष्ठा उजागर दिने विशेष दिन बन्दै आएको छ ।

कुराकानीः

तीर्थराम डङ्गोल, संरक्षक, ज्यापु संस्कृति विकास कोष (२०७७ पुस ५) ।

सन्दर्भसूची

जोशी, रास (२०७७), ‘योमरिको समाजशास्त्र’, नागरिक वर्ष १२ अङ्क २०६, २०७७ पुस ११, पृ. ४ ।

पञ्च, ज्यापु (२०५७), भाबो । भक्तपुर : कुतः पिकाकः ।

शर्मा, प्रयागराज (२०५४), कूल, भूमि, राज्य : नेपाल उपत्यकाको पूर्व–मध्यकालिक सामाजिक अध्ययन । कीर्तिपुर : नेपाल र एसियाली अनुसन्धान केन्द्र, त्रिभुवन विश्वविद्यालय ।

सिं, तुलसीलाल (२०६६), ‘ज्यापु’, मतिना वर्ष ३, अङ्क ११, पृ. ३४–३७ ।

प्रतिक्रिया