आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री शेरधन राईको पद डेन्जर जोनमा, कति जनाले गरे हस्ताक्षर

प्रकाशित
1K
SHARES

बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा ३६ सांसदको हस्ताक्षर छ ।

अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो छन् । समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् । प्रस्तावमा ३६ जनाको हस्ताक्षर रहे पनि प्रचण्ड–माधव नेपाल समूहका थप सांसदले हस्ताक्षर गर्न छुटेको एक नेताले बताए ।

प्रदेश १ मा ९३ सांसद छन् । तीमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिएका छन् । प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद छन् भने मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद रहेका छन् ।

प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले बर्खास्त गरेको भोलिपल्ट सामाजिक विकास मन्त्री जीवन घिमिरे र दुईजना राज्यमन्त्रीले राजीनामा दिएका छन् । तीनैजनाले राजीनामा पत्रमा हस्ताक्षर गरिसकेको एक नेताले जानकारी दिए ।

सामाजिक विकास मन्त्री घिमिरेसँगै राजीनामा दिनेहरुमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय कुमार विश्वास छन् ।

केन्द्रमा नेकपा विभाजित भएपछि त्यसको असर प्रदेश १ मा पनि परेको छ । अर्थमन्त्री आङबो यसअघि बादल समूहमा थिए । तर, प्रधानमन्त्री ओलीले संसद विघटन गरेर पार्टी विभाजन गरेपछि उनले बादलको साथ छाडेर प्रचण्ड–माधव समूहलाई साथ दिएका छन् ।

प्रदेश एकका नेता शावित्रीकुमार काफ्ले पनि बादल समूहमै थिए । तर, बादल केपी ओलीको पक्षमा लागेपछि काफ्लेले पनि बादलको साथ छाडेका छन् ।

कुल ९३ सीट रहेको प्रदेश सभामा नेकपाका मात्रै ६७ सांसद थिए । पार्टी विभाजनसँगै मुख्यमन्त्री शेरधन राईले संसदीय दलभित्रको बहुमत गुमाएका छन् । यसअघि माधव नेपाल पक्षले साथ दिएका कारण भीम आचार्यलाई हराएर शेरधन राई संसदीय दलको नेता अनि मुख्यमन्त्री बनेका थिए । माधव नेपाल पक्षको साथ नपाएको भए ओली पक्षले प्रदेश १ मा मुख्यमन्त्री पाउने सम्भावना यसअघि पनि थिएन ।

प्रधानमन्त्री ओलीको गृहजिल्ला समेत समेटिएको प्रदेश १ मा पूर्वएमालेभित्रै पनि माधव नेपाल पक्षभन्दा ओली पक्ष कमजोर देखिँदै आएको थियो । यसमा माओवादीले माधव नेपाल पक्षलाई साथ दिएपछि ओली पक्ष थप कमजोर बनेको हो ।

विशेष गरी मोरङ र सुनसरीमा ओली पक्षको भन्दा माधव नेपाल पक्षको पकड बलियो मानिँदै आएको छ । यद्यपि, भीम आचार्यको कार्यशैलीका कारण नेपाल पक्षका राजकुमार ओझा लगायतका केही नेताहरु भने असन्तुष्ट रहँदै आएका छन् ।

प्रतिक्रिया