बेलायतबाट हवाई मार्ग हुँदै अमेरिका आउने सबै यात्रीहरुको कोभिड–१९ परीक्षण नेगेटिभ हुनुपर्ने शर्त अमेरिकाले अघि सारेको छ ।
उक्त परीक्षण पीसीआर वा एन्टिजेन टेस्ट कुनै पनि एक माध्यमबाट गरिनुपर्ने र त्यो अनिवार्यतः नेगेटभि हुनुपर्ने जनाइएको छ ।
अमेरिकाका सेन्टरर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले बेलायतबाट आउने यात्रुहरुले ७२ घण्टाभित्र कोरोना परीक्षण नेगेटिभ आउनुपर्ने प्रावधान तय गरेको छ । यो प्रावधान आगामी सोमबारदेखि लागू गरिँदैछ ।
बेलायतमा अत्यन्तै संक्रामक प्रकृतिको कोरानाभाइरसको संक्रमण फैलिएपछि अमेरिकाले यो कदम चालेको हो ।
त्यसो त अमेरिकाले यो कदम चाल्नुअघि नै केही अमेरिकी एयरलाइन्सले बेलायतबाट आउने यात्रुहरुको कोभिड–१९ टेस्ट नेगेटिभ हुनुपर्ने शर्त लागू गरिसकेका छन् ।
बेलायतमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ प्रकार (भेरियन्ट) देखिएको छ । जसको कारण अहिले विश्वका धेरै मुलुकले बेलायतमाथि हवाई उडानमा प्रतिबन्धको निर्णय गरिरहेका छन् ।
सन् २०१९ को अन्तिममा चीनको वुहान सहरबाट फैलिएको कोरोको प्रकृतिमा निकै परिवर्तन आइसकेको छ । यसरी भाइरसको प्रकृतिमा परिवर्तन हुनुलाई म्युटेट हुनु भनिन्छ ।
कोरोना भाइरस आरएनए भाइरस हो । यस्ता भाइरस समयसँग म्युटेट हुँदै जान्छन् । मौसमी इन्फ्लुएन्जा पनि वर्षेनी म्युटेट हुन्छ । त्यसैले प्रत्येक वर्ष फ्लुको खोप पनि अपडेट गरिन्छ । त्यसैले कुनै पनि भाइरस म्युटेट हुनुलाई नौलो मानिँदैन ।
यद्यपि अहिले बेलायतमा देखिएको नयाँ भेरियन्टले भने मानिसहरुमा चिन्ता बढाएको छ । नयाँ देखिएको प्रकृतिमा संक्रमितको लक्षण र यसको असर परिवर्तनको कुनै प्रमाण पाइएको छैन तर यो ७० प्रतिशत धेरै संक्रामक देखिएको छ ।
प्रतिक्रिया