आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सडकमा पलेटी कसेर बसे प्रचण्ड-नेपाल, भन्छन- हामी यता छौं

प्रकाशित
371
SHARES

काठमाडौं । संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव नेपाल समूहले माइतीघरबाट आन्दोलन सुरु गरेको छ ।

‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल, नेता झलनाथ खनाललगायतका नेता–कार्यकर्ताहरु प्रदर्शनमा सहभागी छन् । उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै चर्का नाराबाजी गरेका छन् ।

नेकपाको प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर माइतीघर सडकखण्ड खाली गराइएको छ । माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने नेकपाको योजना छ ।

निवर्तमान मन्त्री घनश्याम भुसालले आधिकारिक नेकपा आफूहरु रहेको भन्दै निर्वाचन आयोगमा जाने र संसद विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत पनि जाने बताए । आफूहरु आधिकारिक भएको दाबीसहित प्रचण्ड-माधव समूहले बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर यसअघि नै निर्वाचन आयोगमा बुझाइसकेको छ । साथै संसद विघटनविरुद्ध परेका रिटहरुको आज संवैधानिक इजलासमा सुनुवाइसमेत हुँदैछ ।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आजबाट दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । विरोध प्रदर्शनका लागि नेकपाले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ । विहीबार केन्द्रीय समिति बैठकको समापनको बेला प्रचण्ड–माधव समूहका अध्यक्ष तथा संसदीय दलका नेता प्रचण्डले प्रतिगामी षड्यन्त्र सुरु भएको भन्दै जीवन–मरणको संघर्ष गर्नुपर्ने बेला आएको बताएका थिए ।

निवर्तमान मन्त्री घनश्याम भुसालले संसद पुनस्र्थापना भएन भने संविधानले काम गर्न छाड्ने र मुलुक अस्थिरतातर्फ फस्ने बताएका छन् । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि कृषि मन्त्रीबाट राजीनामा दिएका भुसाल शुक्रबार माइतीघर मण्डलामा नेकपाको प्रचण्ड–माधव पक्षले आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी बने । भुसालसँगै अर्का निवर्तमान मन्त्री योगेश भट्टराई पनि माइतीघरमा उपस्थित भएका छन्।

प्रतिक्रिया