आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कतार आइपुग्यो कोरोना भ्याक्सिन, बुधबारबाट खोप लगाउन थालिने

प्रकाशित
394
SHARES

दोहा । फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड-१९ विरुद्धको पहिलो खोप सोमबार साँझ कतार आइपुगेको छ । भ्याक्सिन यहाँ आपुगेसंगै भोली अर्थात् बुधबारबाट खोप लगाउन थालिने हमाद मेडिकल कर्पोरेशनका संक्रामक रोग प्रमुख डा. अब्दुल्लातीफ अल खलले पत्रकार सम्मेलन गर्दै जानकारी दिएका छन् ।

कतारले महामारीविरूछ आफ्नो इतिहासको सबैभन्दा ठूलो खोप कार्यक्रम सुरु गर्न लागेको डा. अल खलले बताए । सोमबार दोहामा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डा.खलले खोप वितरण गर्ने पहिलो चरण डिसेम्बर २३ देखि जनवरी ३१ सम्म चल्ने समेत बताए ।

 पहिलाे चरणमा क-कसले पाँउछ खोप ?

७० वर्ष वा माथि उमेरका सबै व्यक्तिहलाई खोप दिइनेछ । कोभिड-१९ मा खटिएका स्वास्थ्यकर्मीहरू र अन्य कर्मचारीहरू पनि खोपको प्राथमिकतामा पर्नेछन् । मुख्य मन्त्रालयहरूमा पहिलो भूमिका खेल्ने आधारभूत कार्यकर्ताहरूलाई खोपमा प्राथमिकता दिइने जनाइएको छ।

१६ वर्ष वा सो भन्दा बढी उमेर समूहका गम्भीर र दीर्घ रोगीहरूका लागि खोप उपलब्ध हुने डा. अल खलले बताए । सुरुमा कतारले यहाँका सात प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरू मार्फत खोप दिने जनाएको छ । अल वजबा, लीबाइब, अल रुबैईस, उम सलाल, रावदत अल खाइल, अल थुमामा र मुइथर स्वास्थ्य सेवा केन्द्रहरूबाट खोप लिन सकिनेछ ।

यसका लागि छानिएका बिरामीहरूलाई फोन वा एसएमएस मार्फत सम्पर्क गरिनेछ र उनीहरूलाई तोकिएको स्वास्थ्य केन्द्रहरू मध्ये कुनैबाट खोप दिइने मिति सूचित गरिनेछ। कतारले २०२१ भित्रमा आप्रवासी नागरिकसहित अन्य सबैलाई कोभिड–१९ विरुद्धको खोप निशुल्क रुपमा उपलब्ध गराईसक्ने जनाएको छ ।

यसैबीच अमेरिकाका भावी राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाएका छन् । मोडर्नाले उत्पादन गरेको खोप बाइडेनले अमेरिका ल्याएकै दिन सोमबार लगाएका हुन् । बाइडेनले खोप लगाएको टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।

खोप लगाउनु सुरक्षित छ भन्ने सन्देश दिन आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले बताएका छन् । यसअघि उपराष्ट्रपति माइक पेन्स र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले खोप लगाएका थिए ।

अमेरिकामा यसअघि फाइजरको खोप लगाउन थालिएको थियो । कोरोनाभाइरसबाट मानवीय क्षति र प्रभावितको दृष्टिकोणले अमेरिका सबैभन्दा अगाडि रहेको छ । मेरिकामा एकैदिन १ हजार ७४७ कोरोना संक्रमितको मृत्यु भएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै मंगलबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख २६ हजार ६७८ पुगेको छ । यस्तै त्यहाँ १ करोड ८४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ८२ हजार ४५५ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि गत शनिबार (२७ मंसिरमा) एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ८४ लाख ५६ हजार ७२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ७ लाख ८८ हजार ५५६ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ७३ लाख ४० हजार ८२४ जनामध्ये २८ हजार ४५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया