आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेपालकाे संसद विघटनले भारतीय मिडियामा खैलाबैला, गरे यस्ताे घटिया विश्‍लेषण

प्रकाशित
383
SHARES

नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार गरेको संसद् विघटन गर्ने आकस्मिक निर्णयलाई सोमबार प्रकाशित अधिकांश भारतीय दैनिकहरुले विशेष स्थान दिएका छन् । अंग्रेजी र हिन्दी सबै भाषामा प्रकाशित हुने प्राय: सबैजसो दैनिकहरुले संसद् विघटनसम्बन्धी समाचारहरुलाई प्रमुख पृष्ठमै छापेका छन् ।

ती समाचार सामग्रीमा तीन वर्षमै संसद् विघटन गर्ने ओलीको निर्णयलाई पार्टीको आन्तरिक खिचातानीको परिणामका साथै चीनको ओली सरकार टिकाउने विगतदेखिको प्रयास अन्तत: असफल भएको भनेर अर्थ्याइएको छ । साथै नेपालका संविधानविद् र राजनीतिज्ञहरुले ओलीको कदमलाई असंवैधानिक भनेको र नेपालको राजनीतिको आगामी दिशा सर्वोच्च अदालतको निर्णयमा भर पर्ने समेत ती सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतीय संस्थापनसँग निकट भनेर चिनिँदै आएको द हिन्दुस्तान टाइम्सले संसद् विघटनको घटनालाई ‘आश्चर्यजनक रुपमा नेपालमा अर्को वर्ष चुनाव’ शीर्षक दिएर आवरण पृष्ठमै विशेष स्थान दिएको छ । पत्रिकाले चीनले ओली सरकार जोगाउन र नेकपा पार्टीलाई फु्टन नदिने गएको केही महिनादेखि प्रयास गर्दै आएको तर, अन्तत: असफल भएको दाबी गरेको छ ।

‘ओलीले आफूलाई भित्तामा पुऱ्याएको खण्डमा पार्टी फुटाउने सक्नेसम्मको तयारी गरिरहेको संकेत दिइसकेका थिए जसलाई रोक्न चीनले विगत केही महिनादेखि प्रयास गर्दै आएको थियो,’ पत्रिकाले लेखेको छ । त्यसैगरी चीनले पछिल्लो समय पार्टी फुटन् दिनुभन्दा ओलीले नै सत्ता छाडुन् भन्ने चाहेको र बरु विकल्पका रुपमा वामदेव गौतमको सम्भावनातर्फ हेरिरहेको पत्रिकाले लेखेको छ ।

त्यसैगरी अर्को भारतीय अंग्रेजी दैनिक ‘द हिन्दु’ले सरकार सञ्चालनको कार्यशैली फेर्न माग गर्दै आएका नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँगको हप्तौंदेखिको तनावको पृष्ठभूमिमा ओलीले नाटकीय कदम चालेको उल्लेख गरेको छ । त्यसैगरी पत्रिकाले प्रधानमन्त्री ओलीका प्रमुख परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईलाई उदृत गर्दै सरकार सञ्चालनमा पार्टीकै प्रमुख नेताहरुबाट असहयोग भएका कारण ओलीले ताजा जनादेश लिने निर्णयमा पुगेको लेखेको छ ।

अर्को अंग्रेजी दैनिक ‘द इण्डियन एक्सप्रेस’ले पनि पार्टीभित्रको विवादले ओलीले संसद् विघटनको निर्णयमा पुगेको र ओलीको उक्त कदमलाई कानुनविद् र नेताहरुले असंवैधानिक भन्दै प्रमुख पृष्ठमा लेखेको छ । साथै पत्रिकाले ओलीको निर्णयविरुद्ध विरोध सुरु भएको र सत्तारुढ दल विभाजनउन्मुख रहेकोसमेत जनाएको छ ।

त्यसैगरी भारतको प्रमुख अंग्रेजी दैनिक ‘द टाइम्स अफ इण्डिया’ले पनि पुष्पकमल दाहालसँगको लामो सत्तासंघर्षका बीच ओलीले संसद् विघटनको सिफारिस गरेको भन्दै समाचार प्रकाशित गरेको छ ।

 

हिन्दी भाषाका भारतीय अखबारहरुले पनि संसद् विघटनको घटनालाई विशेष स्थान दिएका छन् । हिन्दी दैनिक ‘अमर उजाला’ले नेपालमा सत्ता संर्घषका बीच ओलीले संसद् विघटन गरेको शीर्षकसहित आवरण पृष्ठमा विशेष सामग्री छापेको छ ।

त्यसैगरी अन्य हिन्दी दैनिकहरु ‘दैनिक भाष्कर’, ‘हिन्दुस्तान’लगायतले पनि त्यससम्बन्धी समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । ती समाचार सामग्रीमा सत्तारुढ दल विभाजनको संघारमा पुगेको र ओलीको निर्णयको नेपालमा चर्को विरोधसमेत भइरहेको समेत उल्लेख गरिएको छ ।

प्रतिक्रिया