आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

संसद विघटनपछि ‘हाई अलर्ट’मा नेपाली सेना, मुख्यालयबाट आयो यस्तो कडा निर्देशन

प्रकाशित
368
SHARES

काठमाडौँ । सैनिक मुख्यालयमा उच्च सैनिक अधिकृतहरूको बैठकमा संसद विघटनपछि उत्पन्न परिस्थितिबारे छलफल भएको छ। उक्त बैठकमा सैनिक उच्च अधिकारीहरूले पृतनापतिहरूलाई ‘हाई अलर्ट’मा बस्न निर्देशन दिएको सैनिक स्रोतले बतायो।

संसद विघटनअघि नै बैठक सुरू भएको थियो। सेनाको यो नियमित बैठक थियो। नियमित बैठक चलिरहँदै त्यहाँ संसद विघटन सिफारिसको खबर पुगेको थियो। ‘संसद विघटनपछि देशमा हुलदंगा हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै सुरक्षा अवस्थाबारे हाई अलर्टमा बस्न निर्देशन दिइएको छ,’ सैनिक स्रोतले भन्यो।

सुरक्षाको सबैभन्दा अगाडिको पङ्ति प्रहरीको नेतृत्वमा हुन्छ। आवश्यकता अनुसार प्रमुख जिल्ला अधिकारीहरूले स्थानीय प्रशासन ऐन प्रयोग गरी सुरक्षा स्थिति बिग्रिएमा सैनिकलाई खटाउन सक्छन्।

सेनाका अधिकारीहरूले जिल्ला प्रशासनको मेरुदण्डको रुपमा काम गर्नुपर्ने भएकाले अलर्ट रहन निर्देशन दिइएको बुझिएको छ। सैनिक प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौडेलले संसद विघटनसम्बन्धी विषयले बैठकमा प्रवेश पाएको बताए।

‘देशको परिस्थितिअनुसार सुरक्षा रणनीति र विश्लेषण सेनाले गरिरहेको हुन्छ, आजको बैठक नियमित थियो, संसद विघटनबारे जानकारी भएपछि सो विषयले प्रवेश पाएको थियो,’ उनले भने।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले आवेगमा आएर संसद् भंग गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको छ । आगामी रणनीति बनाउन दुवै समूहले सोमबारबाट ओली र प्रचण्ड समूहले छुट्टाछुट्टै भेला बाेलाएका छन्।

ओली मूहले बालुवाटारमा आफू निकटका नेताहरुलाई बोलाएको छ । बालुवाटारको भेलामा ओली निकट मानिने सांसद मन्त्री, र केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ । त्यस्तै, प्रचण्ड समूहले सोमबार दिउसो १ बजे संसदीय दलको बैठक बोलाएको छ ।

त्यस्तै यो समूहले दिउँसो ३ बजे पार्टी स्थायी समिति बैठक समेत बोलाएको छ । ओलीको कदमविरुद्ध आजै काँग्रेस पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बस्दैछ ।

आइतबार बेलुका काग्रेस संसदीय दलको कार्यलयमा बसेको नेकपा, जसपा र कँग्रेस नेताको बैठकले आज अपरान्ह ४ बजे सर्वदलीय बैठक बसेर ओली कदमको शसक्त प्रतिवाद गर्ने योजना बनाउने तयारी गरेको छ ।

२०७४ असोज १७ मा चुनावी गठबन्धन गर्दै २०७५ को जेठ ३ मा पार्टी एकता घोषणा गरेका तत्कालीन एमाले र तत्कालीन माओवादी अन्ततः एकता प्रकिया नटुंगिदै विभाजनको संघारमा पुगेका हुन् ।

योबीचमा पूर्वएमाले र पूर्वमाओवादीका केही नेताले पनि कित्ता फेरका छन् । तत्कालीन माओवादीका नेता रामबहादुर थापा ‘बादल’ र लेखराज भट्ट ओली कित्तामा पुगेका छन् भने पूर्वएमालेको माधव कुमार नेपाल खेमा प्रचण्ड कित्तामा पुगेको छ । आइतबारको घटनाक्रमपछि प्रचण्ड-नेपाल समूहको प्रतिनिधित्व गर्ने थापा र भट्टबाहेक सात मन्त्रीले राजीनामा दिएका छन् ।

आइतबार नै बसेको प्रचण्ड-नेपाल समूहको स्थायी कमिटीमा आबद्ध बहुमत सदस्यहरूको बैठकले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।

इतर समूहले उक्त निर्णय गरेको सार्वजनिक भएपछि ओलीले आफू पक्षीय विघटित प्रतिनिधिसभाका सदस्य तथा राष्ट्रियसभा सदस्यहरूलाई आज बालुवाटार डाकेका छन् । त्यहाँ उनले अबको परिस्थिति र पार्टीभित्रै बहुमतको प्रयत्न गर्ने नसके अर्को पार्टी बनाएर वैशाख १७ र २७ मा तोकिएको मध्यावधि चुनावमा जाने तयारीको निर्देशन दिने तयारी गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया