आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडौँमा ह्वात्तै बढ्यो चिसो, आज वर्षकै न्यूनतम तापक्रम

प्रकाशित
206
SHARES

काठमाडौँ । पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौँमा आज वर्षकै न्यूनतम तापक्रम एक दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ ।

बिहीबार काठमाडौँको न्यूनतम तापक्रम दुई दशमलव दुई डिग्री थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गत वर्ष पुस ३ गते काठमाडौँको न्यूनतम तापक्रम तीन दशमलव तीन डिग्री रहेकामा यस वर्ष एक दशमलव छ पुगेको छ । ‘सिजनल इफेक्ट’ ले न्यूनतम तापक्रम घटबढ भइरहेको मौसमविद् वरुण पौडेलले बताए ।

“कुनै पनि मौसमी प्रणाली विकसित नभए काठमाडौँको न्यूनतम तापक्रम अबको दुई–तीन दिन एकदेखि दुई डिग्रीको हाराहारीमै रहन्छ” मौसमविद् पौडेलले भने । तापक्रम घटेपछि काठमाडौँ उपत्यकामा बढी चिसो महसुस गरिएको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुका बढी चिसो हुने गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम एक दशमलव छ डिग्री र अधिकतम तापक्रम १८ दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस सात दशमलव शून्य डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको न्यूनतम तापक्रम नौ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।

यसैगरी, महाशाखाले आज बिहानको मौसमको अवस्थाबारे जानकारी दिँदै नेपालको पश्चिमी तराइ भूभागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु कुहिरो र बाँकी तराई भूभागका एक दुर्इ स्थानहरुमा हल्का हुस्सु र कुहिरो लागिरहेको बताएको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमानः

पौष ३ गते शुक्रबार दिउँसो प्रदेश न १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आज देशका अधिकांश स्थानहरुको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने देखिन्छ । राति प्रदेश नं १, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ४ गते शनिबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।राति देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ५ गते आइतबार दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश नं १ र लुम्विनी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया