आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

पशुपतिनाथ दर्शनकालागि नौ महिनापछि बल्ल आज देखि भक्तजनलाई खुला

प्रकाशित
546
SHARES

काठमाडौं । गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी गरेदेखि बन्द रहेको पशुपति आज बिहान छ बजेदेखि भक्तजनका लागि खुला गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर खुला गरिएको मन्दिरमा बिहान छ बजेदेखि नै भक्तजन आउन थालेका छन् । पुसको चिसोमा पनि सयौँ भक्तजन मन्दिर प्रवेश गरेर दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिए । घाम लागेसँगै भक्तजनको चाप पनि बढ्न थालेको छ ।

भक्तजनलाई दुई मिटरको दूरीमा लाममा राखी दर्शन गर्ने व्यवस्था मिलाइएको छ । भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने व्यवस्था गरिएको कोषले जनाएको छ । हाललाई मन्दिरको पश्चिम ढोकाबाट प्रवेश गरी दर्शनपछि पनि सोही ढोकाबाट फर्कने व्यवस्था मिलाइएको छ ।दर्शनका लागि पशुपतिनाथ मन्दिर खुला गरिए पनि अझै केही समय भक्तजनले रसिद काटेर गरिने विशेष पूजा गर्न पाउने छैनन् ।

यसैगरी मूल मन्दिर परिसरमा दैनिक हुने गरेको भजनलगायत गतिविधि पनि क्रमशः खुला गरिने कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । नौ महिनापछि भक्तजनका लागि आजदेखि दर्शन गर्न खुला गरिने भएपछि मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमासहित विशेष पूजा गरेकी थिइन्। कोरोना महामारीबाट मुक्ति, देश एवं विश्व शान्तिको सङ्कल्पसहित मूल मन्दिर, परिसरका देवीदेवताको पनि पूजा आराधना गरिएको थियो ।

यस्ती उता ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा विगत चार वर्षदेखि बस्दै आएका सन्न्यासी बाबा करोणीनाथ योगीको निधन भएको छ । अन्दाजी ६० वर्षीय योगीको मङ्गलबार बिहान निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

आफू राजस्थानमा जन्मिएको बताउँदै आएका योगीले बिहानै सन्चो नभएको जनाएपछि मन्दिरका कर्मचारीले उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याएका थिए तर अस्पताल आइनपुग्दै निधन भइसकेको बताइएको छ ।

“बिहान ढोका खोल्नुभएन, बाहिरबाट बिरामी पर्नुभयो कि भनेर ढोका ढकढकाएर सोध्यौँ, सन्चो छैन, छाती दुख्दै छ, सास फेर्न गाह्रो भयो भन्नुभयो, त्यसपछि हतारहतार बोकेर उपचारका लागि सदरमुकामतर्फ हिड्यौँ, अस्पताल आइपुग्दा निधन भइसकेको थियो”, मन्दिरका कर्मचारी राजेन्द्र महतले भने ।

उनको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । घर तथा आफन्तको पहिचान नभएकाले सबै जिल्लामा पहिचानका लागि खबर गर्ने साथै कानूनी प्रक्रिया अघि बढाइने ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले बताए ।

प्रतिक्रिया