आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

नेकपा स्थायी कमिटी बैठक आज बस्दै

प्रकाशित
1K
SHARES

काठमाडौँ— सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ । मंसिर २१ मा सुरू भएको स्थायी कमिटी बैठक एक साताको स्थगनपछि पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्न लागेको हो ।

पार्टीभित्र अल्पमतमा परेका नेकपाका प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आजको बैठकमा सहभागी हुने उनी निकट नेताहरूले बताएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रस्तावका कारण अप्ठ्यारोमा परेका ओलीलाई आज झट्का लाग्नसक्ने सम्भावना छ ।

पार्टीभित्र एकलौटी तरिकाले मनपरी गर्दै आएका ओलीले प्रचण्डलाई  विधान विपरीतको प्रस्ताव ल्याएको आरोप लगाउदै आएका छन । यसअघि मंसिर २१ गतेको स्थायी कमिटी बैठकमा एक पत्र पठाउँदै प्रस्तावका नाममा प्रचण्डले ‘अभियोग पत्र’ ल्याएको भन्दै फिर्ता हुनुपर्ने अडान राखेका थिए । ओली कुनै पनि हालतमा बैठकको सामना गर्न तयार छैनन ।

उसाे त उनले अझै पनि प्रचण्डलाई फकाउने प्रयास जारी राखेका छन् । बिहीबार दाहालसँग करिव डेढ घण्टा भएको छलफलमा कुनै ठोस सहमति नभएपछि उनले निकटस्थहरूलाई उपयोग गर्दै प्रचण्डलाई फकाउन खोजे, तर पनि सफल हुन सकिरहेका छैनन् ।

शनिबार मात्रै ओली निकट नेता एवं स्थायी कमिटी सदस्य शंकर पोखरेलले अर्का प्रचण्डलाई भेटेका छन् । सो भेटमा के कुराकानी भयो केही खुलाइएको छैन । यद्यपि छलफलका एजेण्डामा केहि सहमति भएपछि उनी आजको स्थायी कमिटी बैठकमा सहभागी हुन लागेको बुझिएको छ ।

नेकपा महासचिव विष्णु पौडेलले पनि आजको बैठकमा ओली सहभागी हुने बताएका छन् । आफू निकट नेताहरूले पनि बैठकमा सहभागी भएर प्रतिवाद गर्न सुझाएपछि ओलीलाई बैठकमा सहभागी हुन, आफ्नो कुरा त्यहीँ भन्न र कमिटीको निर्णयअनुसार चल्न दबाब बढेको छ । उता नेता नेपालले दुई अध्यक्षको मात्रै सहमति आफूलाई मान्य नहुने र कमिटीको निर्णय अनुसार चल्नुपर्ने चेतावनी दिँदै आएका छन् ।

प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता नहुने प्रष्ट पार्दै कुनै एक पद छाड्न ओलीलाई दबाब दिएका छन् । यसमा बहुमत सचिवालय र स्थायी समित प्रचण्डको साथमा छ । भदौ २६ को सहमति ओलीले नै उल्लंघन गरेको प्रचण्डको आरोप छ ।

निकटस्थहरूले पार्टी बहुमत—अल्पमतको खेलमा पुगेको भए एकीकरण हुनुअघिका पूर्वसमूहको अनुपात मिलाउन पनि ओलीलाई सुझाएका छन् । यस्तो अवस्थामा पूर्वएमालेभित्रको पनि नेपाल समूह अहिले प्रचण्डतिरै भएकाले त्यो विषय उठान गर्ने मुडमा ओली नरहेको बताइन्छ ।

प्रचण्ड—नेपाल पक्षले भने बहुमत—अल्पमतको खेल भन्ने आरोप अस्वीकार गर्दै पार्टी अनिर्णयको बन्दी भए बहुमतका आधारमा निर्णय गर्न सकिने नेकपाको अन्तरिम विधानको धारा ६० को व्यवस्था बमोजिम अघि बढेको बताएका छन् ।

एकता महाधिवेशन हुने घोषित मितिको करिब चार महिनाअघि बहुमत र अल्पमतको खेलमा प्रवेश गरेपछि नेकपाको संकट अझ गहिरिएको छ । सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा समेत ओली अल्पमतमा परेको समयमा प्रचण्ड—नेपाल पक्षले बहुमतबाट निर्णय गर्न चाहेको छ । यसमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहमत देखिएका छन् ।

नौ सदस्यीय सचिवालयमा अल्पमतकै कारण आफू प्रतिकूलको निर्णय खेपिसकेका ओलीले स्थायी कमिटीबाट पनि सकारात्मक परिणाम पाउने देखिँदैन । चवालीस सदस्यीय स्थायी कमिटीमा ओलीका पक्षमा प्रष्ट खुलेका सदय ११ जनामात्र छन् । त्यहाँ पनि विधि र पद्धति मिचेको भन्दै ओलीलाई प्रतिकूल हुने निर्णयले निरन्तरता पाउने सम्भावना छ ।

प्रचण्ड—नेपाल पक्षले स्थायी कमिटी बैठकमा पनि सहमति नजुटे केन्द्रीय कमिटी बैठकमा पार्टी विवाद वारपार गर्ने तयारी गरेका छन् । केन्द्रीय कमिटी बैठक पुस ५ मा बोलाइएको छ ।

यता प्रधानमन्त्री ओलीले आफ्नाविरुद्ध बलजफ्ती अघि बढेमा ‘आफूले झन् ठूलो एक्सन लिने’ चेतावनी दिएका छन् । अन्य नेताहरूले उनले भनेको ठूलो एक्सन पार्टी विभाजन गर्न सजिलो हुने गरी अध्यादेश जारी गर्ने, संकटकाल घोषणा गर्ने, प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने लगायतका हुनसक्ने अनुमान गरेका छन् ।

पार्टी र सरकार सञ्चालनमा भइरहेका असन्तुष्टिबाट सुरू भएको नेकपाको विवाद विभिन्न नियुक्ति र राजनीतिक चलखेलपछि फुट नजिक पुगेको छ । प्रचण्डले अनौपचारिक रूपमा पार्टी विभाजन गरेको ओलीको आरोप छ । प्रचण्डले पनि ओलीलाई पार्टी विभाजनको ‘नाइके’को संज्ञा दिएका छन् ।

प्रतिक्रिया