आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

२४ घण्टामा थप १०४४ जनामा कोरोना पुष्टि, कति संक्रमितको भयाे मृत्यु ?

प्रकाशित
640
SHARES

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १२७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३२ हजार ८७२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

थप ११ कोरोना संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६७४ पुगेको छ । नेपालमा कोभिड–१९ निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो ।

बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ । विश्वमा ६ करोड ९२ लाख ५४ हजार ३०० सङ्क्रमित भएका अवस्थामा चार करोड ८० लाख नौ हजार ४३७ जना निको भएका छन् ।

बिहीबारसम्मको तथ्याङ्कानुसार नेपालमा दुई लाख ४५ हजार ६५० सङ्क्रमितमध्ये दुई लाख ३१ हजार ६०१ जना निको भई घर फर्किसकेका छन् । नेपालमा कुनै समय ६०–६२ प्रतिशत मात्र कोभिड–१९ का सङ्क्रमित निको भएकामा अहिले ९४ भन्दा बढी प्रतिशत पुगेको छ । विगत दुई महिनाको तथ्याङ्क हेर्दा निको हुने दर ६८ प्रतिशतबाट बढेको देखिन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा सङ्क्रमितको उपचार सेवा राम्रो भएकाले निको दर बढेको बताए । “अहिले उपचार सेवा पनि राम्रो भएको छ”, उनले भने, “त्यसैले सङ्क्रमितको निको हुने दर पनि बढेको हो ।”

गत असोज २८ गते ६८.८ प्रतिशत सङ्क्रमित निको भएका छन् । यस्तै कात्तिक ९ गते ७०.६, कात्तिक १६ गते ७७.६ र कात्तिक २६ गते ८० प्रतिशत सङ्क्रमित निको भई घर फर्केका थिए ।

यही मङ्सिर १९ गतेदेखिको तथ्याङ्क हेर्दा पनि सङ्क्रमित दर बढेको पाइन्छ । मङ्सिर १९ गते ९२.९, २० गते ९३.४, २१ गते ९३.७, २२ गते ९४, २३ गते ९४.१ र २४ गते ९४.३ प्रतिशत सङ्क्रमित निको भएका छन् । बिहीबार मात्र मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार ९४.२ प्रतिशत सङ्क्रमित निको भएका छन् । सो दिन एक हजार ६४ जना निको भई घर फर्किएका थिए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले उपचार पद्धति अन्य मुलुकको जस्तो भए पनि अहिले लक्षण नभएका सङ्क्रमित घरमै बसेर निको हुने गरेको बताए । उनले परीक्षण नै कम भएकाले सङ्क्रमित पनि कम हुने भएकाले निको हुने दर बढेको जिकिर गरे ।

सशस्त्र प्रहरी बल अस्पतालका डा प्रवीण नेपाल परीक्षण नै कम भएर सङ्क्रमणको दर पनि कम देखिनाले निको हुनेको सङ्ख्या बढेको बताउँछन् । “अहिले लक्षण नभएका सङ्क्रमित घरमै बसेर आफैँ निको हुने गरेका छन्”, उनले भने, “अस्पताल आएर उपचार गराउनेको सङ्ख्या पनि कम हुँदै गएकाले निको दर बढेको हो ।”

मृत्युदर कम

यस्तै नेपालमा विश्वका तुलनामा मृत्युदर पनि कम छ । पछिल्लो तथ्याङ्कमा नेपालमा सङ्क्रमितमध्ये ०.६७ प्रतिशत मात्र मृत्यु हुने गरेको पाइएको छ । प्रतिदश लाखमा ५६.५ जनाको मात्र मृत्यु हुने गरेको छ । नेपालमा अहिलेसम्म एक हजार ६६३ जनाको सङ्क्रमणका कारणले निधन भइसकेको छ ।

विश्वमा २.३ प्रतिशत सङ्क्रमितको कोभिड–१९ का कारणले मृत्यु हुने गरेको पाइएको छ । विश्वमा १५ लाख ७६ हजार ८५ जनाको सङ्क्रमणको कारणले निधन भएको छ ।

प्रतिक्रिया