आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बिहानैदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ठप्प

प्रकाशित
723
SHARES

काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ठप्प भएको छ । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडानमा असर गरेको हो । मुलुकका अन्य पहाडी र दुर्गम तथा तराई भेगको उडान पनि प्रभावित भएको छ ।

बिहान सबेरैदेखि बाक्लो हुस्सुले भिजिबिलिटी (दृश्य क्षमता) कम भएका कारण अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान प्रभावित भएको विमानस्थलका निमित्त महाप्रबन्धक देवचन्द्रलाल कर्णले जानकारी दिए । उनका अनुसार आज बिहान चीनको कुनमिङबाट आएको हिमालय एयरलाइन्सको जहाज मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।

बिहान करिब साढे ६ बजे उक्त जहाज अवतरण गरे पनि लगत्तै बाक्लो हुस्सु लागेपछि विमानस्थलमा कुनै पनि जहाजको उडान अवतरण भएको छैन । हुस्सु खुलेपछि मात्र उडान सामान्य हुने निमित्त महाप्रबन्धक कर्णले बताए ।

‘बिहान एक मात्र अन्तर्राष्ट्रिय उडानको जहाज अवतरण भयो । अहिले बाक्लो हुस्सुले भिजिबिलिटी १०० मिटर मात्रै छ, बिहान १० बजेपछि मात्र उडान सामान्य हुनेजस्तो देखिन्छ’, उनले भने । अन्तर्राष्ट्रिय उडानका जहाजलाई अवतरण गर्न एक हजार ५०० मिटर भिजिबिलिटी चाहिन्छ । त्यस्तै आन्तरिक उडानका जहाजको प्रकृति अनुरुप फरक–फरक भिजिबिलिटी हुनुपर्छ ।

अन्तर्राष्ट्रिय उडानका जहाजलाई अवतरण गर्न एक हजार ५०० मिटर भिजिबिलिटी चाहिन्छ । त्यस्तै आन्तरिक उडानका जहाजको प्रकृति अनुरुप फरक–फरक भिजिबिलिटी हुनुपर्छ । आइएफआर जहाजलाई उडानका लागि डेढ किलोमिटर भिजिबिलिटी चाहिन्छ । ती जहाजलाई अवतरणका लागि तीन किलोमिटर भिजिबिलिटी चाहिन्छ ।

यसैबीच दक्षिण पूर्वी अरेबियन सागरबाट प्रवेश गरेको जलवाष्पयुक्त वायुको असरले आज हिमपात र वर्षाको पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको समेत प्रभाव रहेकाले आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै प्रदेश १ का केही पहाडी भू-भागमा हल्का वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले शनिबार र आइतबार पनि पहाडी भेगमा हल्का वर्षाको पूर्वानुमान गरेको छ ।

यसैबीच चीनसँगको सीमा जोडिएको हिल्सामा स्थापना भएको सीमा सुरक्षाचौकी (बिओपी) का सुरक्षाकर्मीले माइनस सात डिग्रीसम्मको तापक्रममा हिउँ छिचोल्दै सीमा क्षेत्रको गस्ती गर्नुपरेको छ । हिमपातपछि बन्द रहेको हिल्साको बाटोमा नियमितरूपमा हिल्सा बिओपीमा खटिएका सुरक्षाकर्मीले गस्ती गर्दै आएका हुन् ।

केही दिन अगाडि परेको हिमपातले हिल्सा क्षेत्र सेताम्मे भएको सीमा सुरक्षाचौकीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसी बताए । उनको नेतृत्वमा गस्ती टोलीले विकट क्षेत्र र लिमीतर्फ सीमास्तम्भको निरीक्षण गर्ने गरेको छ भने नारातर्फको नेपाल क्षेत्रको पनि अनुगमन गर्ने गरेको छ ।

इन्चार्ज केसीले भने, ‘माइनस सातसम्म तापक्रम अहिले पुगेको छ र हिल्साका होटल व्यवसायीका अनुसार अझै बढ्ने जानकारी आएको छ । बिहान उठ्दा धारा, शौचालय, बाल्टीका पानी जमेको छ । पानी जमेर भएको बरफलाई तताएर मात्र पानी निकाल्न सकिने अवस्था छ ।’

यस वर्ष हिमपात भइसकेका कारण सेताम्मे क्षेत्रमा पनि कुनै अवाञ्छित क्रियाकलाप नहोस् भन्नका लागि सुरक्षाकर्मी गस्ती गर्न निस्कने गरेको केसीले बताए । चार हजार ६०० मिटर अग्लो नारालेकमा गस्तीमा आउँदा बाक्लो हिमपातमा जानुपर्ने र हावा पनि लाग्ने भएका कारण समस्या हुने गरेको छ ।

पारिपट्टि चिनियाँहरु पक्की घरमा बस्दै आएका भए पनि नेपाली सुरक्षाकर्मीलाई आफ्नै भवनमा बस्ने व्यवस्था नभएका कारण भाडाको घरमा बस्नुपरेको उनले बताए । सीमा सुरक्षा गर्नु पहिलो कर्तव्य भएका कारण आफ्नो ज्यानको प्रवाह नगरी सुरक्षाकर्मी लागिपरेको उनले बताए । हिल्सा कर्णाली नदीको तीरमा गहिरो खोँचमा भएका कारण हिउँदको समय घाम पनि थोरै लाग्ने गर्दछ ।

दिनमा एकपटक ११ बजेतिर मात्रै घाम लाग्ने गरेको उनले बताए । हावा पनि त्यत्तिकै चल्ने भएको हुँदा त्यहाँ बस्ने टोलीको दैनिकी भने कष्टकर हुने गरेको उनले बताए । मङ्सिरदेखि चैत महिनासम्म हिमपातका कारण नारालेकमा आवतजावत गर्न हिउँ जमेका कारण बन्द हुने गरेको छ ।

सीमा सुरक्षाचौकीमा खटिने सुरक्षाकर्मीका लागि छ महिना पुग्ने रासनपानी, दाउरा र अन्य बन्दोबस्तीका सामान हिल्सामा पुगिसकेको सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्यालले बताए ।

अन्य सञ्चारमाध्यम नभएको हिल्सामा चौकीका लागि प्रधान कार्यालयमा सम्पर्क हुने गरी एक लाइन भिस्याट फोन जडान गरिएको छ । त्यो लाइन पनि घाम लागेको दिन मात्र सञ्चालनमा आउने र अन्य दिन सम्पर्कविहीन अवस्थामा बस्नुपर्ने इन्चार्ज केसीले बताए ।

हालसम्म बन्दोबस्तीको कुनै समस्या नभएको र दुई जना सुरक्षाकर्मीबाटै प्राथमिक उपचारको व्यवस्था गरिएको प्रवक्ता अर्यालले बताए । केही जटिल किसिमका बिरामी आए हेलिकोप्टबाट उद्धार गर्नुको अन्य विकल्प नभएको उनले बताए ।

ती स्वास्थ्यकर्मीले हिल्सामा बस्ने अन्य १२ सर्वसाधारणलाई पनि बिरामी परेको बेला उपचार गर्दै आउने गरेको बताइएको छ । हालसम्म हिल्सामा नेपाल प्रहरीको सुरक्षाकर्मी हिउँदमा नबसेको समयमा सीमा सुरक्षाचौकी स्थापना भएको वर्ष सीमा नाका सशस्त्र प्रहरीको टोली बस्न शुरु गरेको छ ।

नेपाल प्रहरीको हिल्सामा रहेको चौकी केही समय अगाडि जिल्लामा फिर्ता भइसकेको छ । हिल्सा बिओपीमा २२ सुरक्षाकर्मीले सीमा सुरक्षा दिँदै आएका छन् भने १२ स्थानीय नागरिक बस्दै आएको बताइएको छ ।

प्रतिक्रिया