आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

साझा र विवेकशील पार्टीबीच आज दोस्रो पटक एकता हुँदै

प्रकाशित
779
SHARES

काठमाडौँ । विवेकशील नेपाली दल र साझा पार्टीबीच फेरि पार्टी एकता हुने भएको छ । आज दिउँसो ३ बजे एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा हुनेछ । सचिवालयमा २६ र केन्द्रीय समितिमा १३० सदस्य रहनेगरी दुईदलबीच एकीकरण हुने भएको हो ।

एकता भएको २३ महिनापछि फेरि जोडिन लागेका यी दुई दलले विगतमा भएको विभाजनको कमजोरीलाई सच्याउने र नेपाली नागरिकसँग क्षमायाचना गर्ने प्रयत्न गर्नेगरी एकतामा जुटेको बताएका छन् । एकीकृत पार्टीमा दुवै दलबाट बराबर सहभागिता रहनेगरी व्यवस्था मिलाइएको छ ।

पार्टी एकताका लागि दिउँसो ३ बजे भर्चुअलमाध्यमबाट एकीकरण घोषणा हुने साझा पार्टीका संयोजक रविन्द्र मिश्रले जानकारी दिएका छन् । यसअघि पार्टी एकीकरणको १६ महिनापछि गत २७ पुस २०७५ मा विवेकशील र साझा पार्टी फुटेको थियो । यी दुई पार्टीबीच एकता भएपछि पार्टीको लोगो र चुनाव चिह्न यसअघिको एकीकृत पार्टीमा झैँ तराजु नै हुनेछ ।

साझा पार्टीका मिश्र पहिलो वरियताका अध्यक्ष र विवेकशीलका पाण्डे दोस्रो वरियताका संयोजक रहनेछन् । तर, दुवैसमक्ष कार्यकारी अधिकार हुने सम्झौतामा हस्ताक्षर हुँदैछ । सम्झौतापत्रमा पार्टी एकीकरण भएको ६ महिनाभित्र एकता महाधिवेशन गरिसक्ने लगायतका बुँदा उल्लेख गरिएको छ ।

उपाध्यक्षसहित १३ जनाको एकीकरणमा असहमति

विवेकशीलकी उपाध्यक्ष अजिता राईसहित १३ जनाले चाहिँ एकीकरण प्रक्रियामा सहभागी नहुने बताएका छन् । विगतमा भएका मतभिन्नताका विषयलाई किनारा नलगाइ एकीकरण हुन लागेकाले यो उपयुक्त नहुने राईले बताइन् ।

यसमा विषयमा आन्तरिकरुपमा कुरा राखे पनि सुनुवाई नभएपछि प्रेस विज्ञप्ति नै जारी गरेर एकीकरणमा प्रक्रियामा सहभागी नहुने बताएको उनले सुनाइन् ।

राईसँगै पार्टी एकीकरणमा सहभागी नहुने अन्यमा कार्यालय व्यवस्थापनतर्फ सचिव संगीता बाटाजु, संघीय समिति सदस्य कर्मा लामा तामाङ, छिरिङ तामाङ, विजयबाबु शिवाकोटी, जेसन वैद्य, शिशिर राई, जमाल अली, आशिष राई, ज्ञानेन्द्र निरौला, साधना थुलुङ्ग राई, शशिविक्रम कार्की र आलोक सुवेदी छन् ।

संवाद समितिमा समेत रहेकी नेतृ रञ्जु दर्शनाले भने यसपटक एकीकरणको जग बलियो बताएको बताउँदै उपाध्यक्ष राईलगायतलाई एकीकरणमा सहभागी हुन आग्रह गरेकी छन् ।

प्रतिक्रिया